‘ए’ ग्रेडका खेलाडीले मासिक तबल एक लाख पाउने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक एक लाख रुपैयाँ तलब दिने निर्णय गरेको हो । बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई ७० हजार, ‘सी’ ग्रेडलाई ५५ हजार, ‘डी’ ग्रेडलाई ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । त्यसैगरी ग्रेड ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी र अभिनाश बोहोरा छन् । ग्रेड ‘सि’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी छन् । ग्रेड ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् भने इमर्जिङ समूहमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी छन् । महिलातर्फको ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री र सिता रानामगर छन् भने ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पुजा महतो र अश्मिना कर्मचार्य छन् । त्यसैगरी ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन् । इमर्जीङमा सोनी पाख्रिन, खुसी डङ्गोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का र सना प्रविन छन् । महिलातर्फको ‘ए’ ग्रेडका पर्ने खेलाडीलाई ५० हजार प्रदान गरिनेछ भने ‘बी’ ग्रेडलाई ३५ हजार, ‘सी’ लाई ३० हजार, ‘डी’ लाई २५ हजार तथा इमर्जिङ समूहलाई २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

कामना सेवा विकास बैंकले पायो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

काठमाडौं । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो । उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागीता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६-२ ले हराउँदै उपाधि जितेको छ । विजेता टिम कामना सेवा विकास बैकलाई ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटीएम वुथमार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

अमेरिकामा नेपाली धावक आयुषले तोडे २३ वर्ष पुरानो रेकर्ड

काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धीत नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् । आयुष कुँवरलाई शिवम् सिमेन्टले गत असारमा १ वर्षका लागि अनुबन्धित गरेको थियो । नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । आयुषले वासिङ्गटनको स्पोकानमा भएको विथवर्थ इन्डोर ट्रयाक एण्ड फिल्ड इन्भाइट प्रतियोगितामा इन्डोर अन्तर्गत ६० मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन । फ्रेब्रोअरी ९ र १० मा भएको यस प्रतियोगितामा विश्व एथ्लेटिक्स्को सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्सले स्याङसन गरेको छ । आयुषले क्वालिफाइङ राउण्डमा रामकृष्णको कीर्तिमान बराबरी गरेका थिए भने अर्को राउण्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । अमेरिकाको सिटी स्पीड एसएफ क्लबमा प्रशिक्षण गर्दै आएका आयुषले नेपालकै नामबाट प्रतिस्पर्धा गरेका थिए । ६० मिटरमा दुई दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान तथा २०० मिटर दौडमा ७ वर्ष पुरानो कीर्तिमान लाई तोड्न पाउँदा खुशी लागेको आयुषले बताए । ‘मैले इन्डोरमा ६० मिटर र २०० मिटर दुवैमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेको थिएँ त्यसमा सफल भएँ, एकदमै गर्व लागिरहेको छ,’ आयुषले भने । आयुषले इन्डोर २०० मिटर दौडमा पनि ७ वर्ष पुरानो कीर्तिमान ब्रेक गर्दै २२.७९ सेकेण्डको नयाँ कीर्तिमान बनाएका छन् ।