बन्दैछ कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)
काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुर अहिले पुनर्निर्माणको क्रममा छ । हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् । माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यतामा अब कंक्रिट प्यारापिट थपिन लागेको हो । साथै यसमा फ्लडलाइट पनि जडान हुनेछ । त्यसपछि रात्रिकालीन क्रिकेट पनि आयोजना गर्न सकिनेछ । नेपालले विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मेहम्मे पर्दै आएको थियो । प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्नेछन् । कीर्तिपुर मैदानमा पुनर्निर्माणका कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउनेछ । त्रिभूवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दै आएको छ । अहिले तीन चरणमा काम धमाधम भइरहेको छ । कीर्तिपुर क्रिकेट मैदानको पुनःनिर्माणसम्बन्धी केही तस्बिरहरु आजको फोटो फिचरमा । तस्बिर : अनुप प्रधान
आईपीएल २०२५ : फाइनलमै अर्बौंको कारोबार, कराडौंको पुरस्कार र कार उपहार
काठमाडौं । विश्वव्यापी रुपमा चर्चा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणको विजेता रोयल च्यालेन्जर्स बेंगलुरु बनेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । हालसम्म फाइनलको यात्रा तय गरे पनि बेंगलुरुले उपाधी हात पार्न सकेको थिएन । तर, त्यस पटक उपाधि जित्न सफल बन्यो । फाइनल खेल जितेसँगै बेंगलुरुले २० करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता पञ्जाव किंग्सले १२ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको छ । अन्य धेरै खेलाडीले खेलका क्रममा देखाएको उत्कृष्ट पफर्मेन्सका आधारमा पुरस्कृत भएका छन् भने कतिले उपहार पाएका छन् । भारतीय सञ्चार माध्यमले फाइनलमै अर्बौको कारोबार भएको उल्लेख गरेका छन् । फाइनल खेल भएको रेन्द्र मोदी स्टेडियम, अहमदाबाद कुल १ लाख ३२ हजार सिट क्षमताको हो । सर्वसाधारणका लागि फाइनल खेलमा १५ सय रुपैयाँदेखि १० रुपैयाँसम्म टिकट मूल्य निर्धारण गरिएको थियो । आयोजकले टिकट बिक्रीबाट सवा २ अर्ब रुपैयाँ आम्दानी भएको अनुमान गरेको छ भने विज्ञापन आम्दानी सवा एक अर्ब हुन सक्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ८० लाख रुपैयाँ पुरस्कार प्रायोजनबाट आम्दानी हुनेछ । यसरी आईपीएलको १८औं संस्करणको फाइनल खेलमा साढे ३ अर्ब बढीको आम्दानी भएको हुन सक्ने अनुमान गरिएको छ भने कुल पुरस्कार राशिमा ३३ करोड, समापन समारोह व्यवस्थापनमा १५ करोड, प्रसारण उत्पादन तथा कर्मचारीका लागि १५ करोड, सुरक्षा, सरसफाइ तथा व्यवस्थापनमा १० करोड गरेर कुल ७०/७३ करोड खर्च भएको हुन सक्ने अनुमान आयोजकको छ । फाइनल खेलमा मात्रै पौने ३ अर्ब रुपैयाँ नाफा भएको सक्ने अनुमान आयोजकको छ । आईपीएल अवधिको आम्दानी भने ५० अर्ब बढी भएको हुन सक्ने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
मुलपानीसहित चार रङ्गशाला निर्माण गर्न एक अर्ब ३२ करोड रुपैयाँ विनियोजन
काठमाडौं । सरकारले खेल पूर्वाधारका लागि बजेटमा उल्लेखनीय वृद्धि गरेको जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उनले मुलपानी रङ्गशाला, मोरङको गिरिजाप्रसाद रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि कुल ४२ करोड रुपैयाँ विनियोजन गरिएको बताए । मन्त्री पौडेलले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको बताए । सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद आयोजना सम्पन्न गर्न ५४ करोड रुपैयाँ विनियोजन मन्त्री पौडेलले जानकारी दिए ।