नेपालको फुटवल खेल खस्कियो, फिफा वरियातमा १८१ औ स्थान
काठमाडौं । नेपाल फुटवल खेलमा कमजोर हुदै गएको छ । विश्व फुटबल महासंघ (फिफा) को विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको वरियताअनुसार नेपाल ६ स्थान तल झर्दै १८१ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १७५ औं स्थानमा रहेको थियो । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गत गत हप्तामात्र नेपाल एसियाली मुलुक ताजिकिस्तानसँग पराजित भएपछि ६ अंक तल झरेको हो । त्यसबेला नेपाल ताजकिस्तानसंग २–१ ले पराजित भएको थियो । फिफाको नयाँ वरियता अनुसार नेपाल भुटानभन्दा पछि छ भने दक्षिण एसियामा चौथो स्थानमा पुगेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र भुटान छन् । फिफाको नयाँ वरियताको शीर्षस्थानमा जर्मनी हुन पुगेको छ । जर्मनीले ब्राजिललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको हो । ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जे्न्टिना चौथो र बेल्जियम पाँचांै स्थानमा छन् ।
१३ औँ सागः पाँच खेल पोखरामा
पोखरा । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि पोखरा उच्च प्राथमिकतामा परेको बताएका छन् । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रिय स्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए। मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन दिए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १३ औँ सागमा पाँच–छ खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको जानकारी दिँदै त्यही रुपमा तयारी पनि अगाडि बढाइएको बताए। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिलकुमार गुरुङले खेल क्षेत्रलाई भ्रष्टाचारमुक्त गरिनुपर्नेमा जोड दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले खेलकुदको विकासका लागि पोखरा उर्वर भूमि भए पनि प्रशिक्षकका अभाव जस्ता समस्या भोग्नुपरेको गुनासो गरे । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरा रंगशाला ४१७ रोपनी क्षेत्रफलमा फैलिएको र यहाँ पछिल्ला समयमा बहुउद्देश्यीय कबर्ड हल लगायत संरचना निर्माण भइरहेको जानकारी दिए। रासस
विश्वकै सबैभन्दा महँगा फुटबल खेलाडी नेयमार, हप्ताको आम्दानी दश लाख डलर
काठमाडौं । ब्रजीली फुटबल नायक नेयमार अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन्। नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार संझौता गरेका छन् जुन यस अघिको भन्दा दोब्बर बढी हो। नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन्। नेयमारले भने, “म युरोपको सबभन्दा महत्वाकांक्षी क्लबमध्ये एकको सदस्य बनेको छु।“ चुनौतीका लागि तयार उनले भने, “म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु। मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु।“ पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सेलोनाबाट पराजित भएको थियो। हप्तौंदेखिको अनुमानपछि नेयमार बुधार बार्सेलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको बार्सेलोना क्लबलाई अब आफूले छोड्ने बताएका थिए। त्यसपछि बार्सा व्यवस्थापक अर्नेष्टो भ्याभेर्डेले उनको ’भविष्य रोज्न’ भन्दै अनुमति दिएका थिए। तर उनले बार्सेलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ। बार्सेलोनाले पीएसजीलाई युरोपेली फुटबलको प्रशासनिक निकाय यूइएफमा निवेदन दर्ता गर्ने बताएको थियो। सहकार्य नेयमार बार्सेलोनाबाट बाहिरिएपछि अर्जे्न्टिनाका क्याप्टेन लायोनेल मेस्सी र उरुग्वेका लुइ स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ। बुधबार मेस्सीले इन्स्टाग्राममा लेखे, “यतिका वर्ष तिमीसँग खेल्न पाउँदा खुब मजा आयो साथी नेयमार। तिम्रो जीवनको नयाँ चरणका लागि शुभकामना।“ त्यसको जवाफमा नेयमारले लेखे “धन्यबाद भाइ म तिमीलाई सम्झिरहनेछु।“ विश्लेषकहरु भन्छन् यो संझौताको सफलता क्लब खेलको सबभन्दा ठूलो ट्रफी हात पार्नुमा निर्भर हुनेछ। स्रोतः बीबीसी