अपि पावर कम्पनीले ५६ करोड ७० लाख बराबरको शेयर जारी गर्ने
काठमाडौं । अपि पावर कम्पनीले लामो समयदेखि प्रतिक्षा गरिरहेको हकप्रद शेयर सोमबार नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको छ । कम्पनी स्वंयले निर्माण शुरु गरेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको लागि १ बराबर २ को हकप्रद जारी गर्न बोर्ड समक्ष निवदेन दिएको थियो । विद्युत नियमन आयोगको सिफारिशमा कम्पनीलाई चरण चरण गरि उक्त आयोजना निर्माणको लागि हकप्रद जारी गर्ने निर्णय अनुरुप कम्पनीलाई प्रथम चरणमा ५६ लाख ७० हजार कित्ता बापत रु ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर जारी गर्ने स्विकृती प्राप्त भएको छ । सो हकप्रद हाल कम्पनीको कायम चुत्ता पुँजी रु ११९.०७ करोडको १ बराबर ०.४७ कायम भएको छ । कम्पनी यस हकप्रद जारी गरि आगामी आर्थिक वर्षको शुरुवातमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको प्रगति विवरण सहित पुनः दोस्रो पटक हकप्रद जारीको लागी बोर्ड समक्ष निवेदन पेश गर्ने भएको छ । दोस्रो चरणको हकप्रद निष्काशनको लागि समेत कम्पनीले विद्युत नियमन आयोगबाट स्विकृति प्राप्त गरिसकेको छ । कम्पनीले हाल ८.५ मेगावाटको नौगड गाढ आयोजना वि.स २०७२ साल भदौ देखि संचालन गरी विद्युत बिक्री गरिरहेको र ८ मेगावाटको माथिल्लो नौगाड आयोजना २०७६ साल कात्तिकबाट संचालन गरि थप विद्युत बिक्री गरिरहेको छ । माथिल्लो चमेलिया आयोजना दार्चुला जिल्लामा अवस्थित छ जहाँ कम्पनीले २ आयोजना निर्माण गरिसकेको हो । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको कार्य लाई तीव्र रुपमा अघि बढाएको छ । आयोजनाको वित्तिय व्यवस्थापनको कार्य अन्तिम रुपमा रहेको र उक्त आयोजनाको निर्माण अबको ३० महिना भित्र सम्पन्न गर्ने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।
पुँजी बजारको ऐतिहासिक क्षण ल्याउने दुई पात्रः डा. रेवत र देवप्रकाश
काठमाडौं । गत विहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भयो । सो दिनको सेयर कारोबार रकम नेपाली पुँजी बजारको इतिहासमै सबैभन्दा धेरै थियो । कारोबार रकम उच्च हुने क्रम रोकिएन । गत आइतबार (हिजो) नेपाली पुँजी बजारमा अर्काे रेकर्ड कायम भयो । सो दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भयो । आज (१२ फागुन, २०७६) पनि उच्च रकमको कारोबार हुने संकेत देखिएको छ । यो समाचार तयार गर्दै गर्दा (दिउसो १ बजेर ५ मिनेट जादाँ) सम्म २ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भइसकेको छ । बजार बढ्नु वा घट्नु बेग्लै कुरा हो । तर, एकैदिन साढे ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार सम्भव हुनु आफैमा प्रसंसनीय कार्य हो । किनभने केही वर्ष अगाडिसम्म दैनिक १ अर्ब रुपैयाँको कारोबार गर्न पनि प्रणाली तयार थिएन । पुँजी बजार प्रणाली सक्षम र सवल भएकै कारण यति धेरै रकम बराबरको सेयर कारोबार सम्भव भएको हो । यदि सेयरको अनलाइन कारोबार सुरु भएको थिएन र सीडीएससी आएको थिएन भने साढे ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबारको म्यानुअल सेटलमेन्ट गर्न १ महिनाभन्दा बढी समय लाग्थ्यो । तर, हिजोको कारोबार सेटलमेन्ट हिजै सम्भव भयो । नेपाली पुँजी बजारमा एकैदिन यति धेरै रकमको कारोबार सेटलमेन्ट सम्भव हुने नीतिगत व्यवस्था गर्ने व्यक्ति धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की हुन् । हडबढे स्वभावका कार्की वोर्ड अध्यक्ष भएको बेलामा नीतिगत अस्थिरताको कारण आलोचित पनि भएका थिए । तर, सेयरको अनलाइन कारोबारको नीतिगत, कानुनी र संरचनागत प्रणाली स्थापना गर्ने डा. कार्की अहिले धन्यवादको पात्र बनेका छन् । ‘अनलाइन कारोबार प्रणाली आएको थिएन भने एकै दिन साढे ३ अर्ब रुपैयाँको कारोबार सम्भवै थिएन, यो कारोबारको म्यानुअल सेटलमेन्ट गर्न १ महिनाभन्दा बढी समय लाग्थ्यो, बोर्डले अनलाइन कारोबार प्रणाली भित्र्याएकै कारण सम्भव भएको हो,’ एक लगानीकर्ताले भने । कार्कीका केही नीतिगत निर्णय र त्यसले पारेका असर बारेमा भने अहिले पनि प्रश्न गर्ने गरिएको छ । तर, सेयरको अनलाइन कारोबार सुरुगर्ने डा. कार्कीको काम प्रशंसनीय छ । यस्तै, उच्च रकमको सेयर कारोबार सम्भव गराउने अर्का पात्र देवप्रकाश गुप्ता हुन् । सीडीएससीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत गुप्ताले बजारको मागभन्दा अघि बढेर सीडीएससी लागू गराए । सीडीएससीलाई तत्काल लागू गराउन बोर्डका उच्च अधिकारी पनि तयार थिएनन् । ‘गुप्ताजी अलि हतार गरिरहनु भएको छ, उहाँ फाष्ट हुनुहुन्छ, बजारको स्पीड र उहाँको स्पीड मिलिरहेको छैन, उहाँमा देखिएको हतारोले शंका गर्ने ठाउँ पनि दिएको छ,’ सीडीएससी लागू गराइहाल्ने गुप्ताको प्रयास र बजारमा देखिएको अन्योलताप्रति इगित गर्दै त्यतिबेला धितोपत्र बोर्डका एक उच्च अधिकारीले भनेका थिए । तर, गुप्ता रोकिएनन् । उनले सीडीएससी लागू गराएरै छोडे । डिम्याट नभएको सेयरको सेटलमेन्ट नगर्ने भनेर सार्वजनिक सुचना नै प्रकाशित गरे । सुरुमा लागू गरिएको आश्वा प्रणाली प्रभावकारी नभएपछि गुप्ताले नै ‘मेरो सेयर’ नामक एप बनाए । सोही एपको प्रयोग गरेर अहिले जुनसुकै बेला पनि आईपीओ भर्न पाइन्छ । सेयर कारोबारको सेटलमेन्ट सफ्टवयर प्रणालीले स्वतः गर्छ । ‘म्यानुअल सेटलमेन्ट गर्दा हामी रातभर बसेर काम गथ्र्याैं, विलहरु जम्मा पार्यो, सबै म्यानुअल्ली हेर्यो, कहिले हिसाव मिल्दैनथ्यो, यताको विल उता पथ्र्याे, उताको विल यता पथ्र्याे, साह्रै समस्या हुन्थ्यो, भनेको समयमा काम पनि सकिदैनथ्यो, गाह्रो थियो,’ अनलाइन सेटलमेन्ट प्रणाली सुरु हुनुअघिको स्मरण गर्दै सीडीएससीका एक कर्मचारीले भने । भारतमा कम्प्युटर साइन्स पढेका गुप्ता व्यवस्थापन संकायमा अहिले विद्यावारिधि गर्दैछन् । अध्ययनपछि भारतका विभिन्न वित्तीय संस्थाहरुमा कम्प्युटर सफ्टवयर निर्माण र व्यवस्थापन तहमा काम गरेर नेपाल फर्किएका गुप्तालाई धेरैले हडबढे स्वभावका व्यक्तिका रुपमा पनि चिन्छन् । तर, उनको हडबढे स्वभाव सुधार गर्ने हुटहुटीका कारण जागेको रहेछ भन्ने कुरा अहिले पुँजी बजारले स्वकार गरेको छ । पुँजी बजारमा देखिएका सुधारमा धेरै व्यक्तिको अहम् भूमिका छ । तर, नेतृत्व तहमा बसेर छिटै कार्यान्वयनको लागि पहल गर्ने डा. रेवतबहादुर कार्की र देबप्रकाश गुप्तालाई अहिले नेपाली पुँजी बजारले पुनः स्मरण गरेको छ ।
अर्थमन्त्रीबाट खतिवडा हट्ने हल्लाले १५ लाख लगानीकर्ता खुसी, सरकारलाई एकै दिन करोड आम्दानी
काठमाडौं । २०७६ साल फागुन ११ गते नेपाली पुँजी बजारको ऐतिहासिक दिन भएको छ । एक दिन ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको सो दिन ब्रोकरले मिठाई बाँडेका थिए, धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्जमा खुसीयाली मनाईको थियो भने ब्रोकरले मिठाई बाँडेका थिए । ११ फागुनमा नेपाली पुँजी बजारमा ऐतिहासिक कारोबार भएको छ । सो दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । इतिहासकै सबैभन्दा बढी कारोबार भएको दिन सेयर ब्रोकरले १ करोड ८० लाख रुपैयाँ कमिसन लिएका छन् । किनभने सेयर कारोबारमा ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन ब्रोकरले लिन्छन् । यस्तोमा औसत कमिसन दर ०.५ प्रतिशतका दरले ३ अर्ब ६० करोड ८५ लाखको १ करोड ८० लाख रुपैयाँ कमिसन मानिएको हो । तर, ब्रोकरले लिएको कमिसन सबै ब्रोकरको हुँदन । कमिसनबाट ब्रोकरले कमिसन रकमको २० प्रतिशत नेप्सेलाई, ०.६ प्रतिशत धितोपत्र बोर्डलाई र ०.५ प्रतिशत सेटलमेन्ट ग्यारेन्टी फण्डलाई दिनुपर्छ । यस्तै ब्रोकरले कमिसन रकममा १५ प्रतिशत अग्रिम कर कट्टी गरेर सरकारलाई बुझाउनु पर्छ । हिजोको कारोबार ऐतिहासिक रुपमा धेरै हुनुमा अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद जाने हल्लाले हो । डा. खतिवडाको राष्ट्रियसभा सदस्यको पद आगामी २० फागुनमा सकिदैछ । डा. खतिवडालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनिय गरिएर राष्ट्रियसभा सदस्य बनाइएको थियो । अहिले पनि यसैगरी एक जनालाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने संबैधानिक अवस्था छ । तर, डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेब गौतमलाई मनोनित गरिने चर्चा चलेको छ । डा. खतिवडा अर्थमन्त्री भएदेखि नै ओरालो लागेको पुँजी बजारमा हिजो ऐतिहासिक रुपमा धेरै कारोबार भएको हो । धेरै कारोबार भएरको र नेप्से परिसुचक करिब ७० अंकले बढ्दा पुँजी बजारका १५ लाखभन्दा धेरै लगानीकर्ता खुसी भएका छन् । यस्तै, धेरै कारोबार भएको र आफूहरुको कमाई पनि बढेको खुसीयालीमा सेयर ब्रोकरले लगानीकर्तालाई मिठाई नै बाढेका छन् । यस्तै, धितोपत्र बोर्ड र नेप्सका उच्च अधिकारीले पनि खुसीयाली मनाएका छन् । तर, बजारको यो बृद्धि कति दीगो हुन्छ भन्ने यकिन भने छैन । बजारमा उत्साहजनक कारोबार हुँदा सरकारलाई पनि राम्रै फाइदा भएको छ । नेप्से र धितोपत्र बोर्ड जस्ता सरकारी निकायले लिएको कमिसन तथा सरकारले प्राप्त गरेको सेयर ब्रोकरको अग्रिम कर कट्टी (टीडीएस) रकम जोड्दा ८० लाख रुपैयाँको हाराहारीमा हुने देखिन्छ । यस्तै, आइतबार नेपाली पुँजी बजारमा भएको ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबारमा आधा रकम सेयर किनेको हो भने आधा रकम बेचेको हो । सेयर विक्री गर्नेले नाफा खाएर विक्री गर्दा सो नाफा रकमको ५ प्रतिशत सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्छ । सरकारी निकायले लिएको कमिसन, शुल्क तथा सरकारले दिएको कर तथा पुँजीगत लाभकर समेत जोड्दा ११ फागुनमा सरकारले पुँजी बजारबाट एकै दिन १ करोड रुपैयाँभन्दा बढीको आम्दानी गरेको अनुमान गरिएको छ । सरकारको आम्दानी बढ्नुको पछाडि पनि डा. खतिवडाको अर्थमन्त्री पद जाने भन्ने हल्ला नै हो । सम्बन्धित सामग्री प्रधानमन्त्री ओली डिसेसिभबाट डिफेन्सिभ अवस्थामा, अर्थमन्त्री नदोहाेरिने सम्भावना, अबको गभर्नर को ?