विजय लघुवित्तले लाभांश नबाड्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । बैठकले लाभांश नबाड्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने पनि निर्णय गरेको छ । कम्पनी सचिव सरोज घिमिरेका अनुसार राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्नेछ ।
माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिन सक्नेछन् ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको बिक्री प्रबन्धक कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्ने अन्तिम मिति असार ९ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।