यसकारण विद्यार्थीको रोजाइमा टेक्सास कलेज
काठमाडौं । भक्तपुर काँडाघारीका अविरल पराजुली कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने योजनामा छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३.६६ जीपीए ल्याएर पास भएपछि उनी विज्ञान विषय पढाइ हुने उत्कृष्ट कलेज खोजी गर्दै उपत्यकाका विभिन्न कलेजमा पुगे । जहाँ पढ्ने वातावरण सहज होस्, पढाइका लागि आवश्यक ल्याबदेखि दक्ष शिक्षक पर्याप्त छन् र शिक्षकको व्यवहार साथीजस्तै हुन्छ, त्यस्तै स्कुल रोज्ने उनको योजना थियो । अविरल पराजुली । यसैक्रममा उनी मंगलबार चावहिलमा रहेको टेक्सास इन्टरनेसनल कलेज पुगे । उनलाई यो कलेज मन पर्यो । साथीसँगै कलेज आएका उनले कक्षाकोठा, ल्याब, खेल्ने ठाउँ हेरिसकेपछि अब टेक्सास स्कुल रोज्ने योजना बनाएका छन् । ‘ल्याब, कक्षाकोठा, लाइब्रेरी, सबै हेरेँ राम्रो लाग्यो, अब धेरै कति स्कुल/कलेज घुमिरहनु ? अब यहीँ पढ्ने सोच बनाएँ,’ अविरलले भने । काभ्रेका संयोग तामाङ आमासँगै टेक्सास कलेज पुगेका थिए । ३.८१ जीपीए ल्याएर एसईईमा पास भएका संयोगले पनि कलेजको भ्रमण गरे । उनले त्यहाँका शिक्षक, विद्यार्थी, काउन्सिलरसँग कुराकानी गरिसकेपछि टेक्सास पढ्ने योजना बनाएका छन् । व्यवस्थापनबाट कम्प्युटर साइन्स विषय लिएर पढ्ने योजना बनाएका तामाङ यो विषयका लागि यो कलेज उत्कृष्ट रहेको बताउँछन् । ‘मेरो साथी पनि पहिले यही स्कुलमा पढेका थिए, उनीहरू राम्रै नम्बर ल्याएर पास पनि भए । अब म पनि यही पढ्ने योजनामा छु,’ उनले भने । महोत्तरीको रूपेश पण्डित बहिनीको लागि राम्रो कलेजको खोजीमा थिए । कम्प्युटर साइन्स लिएर पढ्ने योजना बनाएकी बहिनीका लागि सही कलेज टेक्सास हुनसक्ने भन्दै उनी यो कलेज पुगेका हुन् । कलेज भ्रमण गरिसकेका रूपेश भन्छन्, ‘कलेजको व्यवस्थापन राम्रो रहेछ, यहाँका शिक्षकहरू सहयोगी हुनुहुँदो रहेछ, मलाई कलेज राम्रो लाग्यो ।’ अविरल, संयोगजस्तै धेरै विद्यार्थी टेक्सास कलेजमा पुग्छन् । कोही साथीभाइसँग त कोही विद्यार्थी अभिभावकसँग भ्रमणका लागि पुग्ने गर्छन् । सक्रिय पूर्व विद्यार्थी टेक्सासमा कक्षा ११/१२ पढेका धेरैजसो विद्यार्थी नयाँ पढ्न आउने विद्यार्थी तथा अभिभावकलाई परामर्श गरिरहेका छन् । उनीहरूले कक्षाकोठामा शिक्षकले विद्यार्थीलाई गर्ने व्यवहार, विद्यालयमा सिकाइने विषय लगायत पुरै कलेजको वातावरणबारे विद्यार्थीलाई बुझाउँछन् । साथै उनीहरूले विद्यालयमा आएका विद्यार्थी र अभिभावकलाई विद्यालयमा भएका ल्याब, कक्षाकोठा, लगायतका ठाउँहरू देखाउँदै पुरै विद्यालय भ्रमण गराउँछन् । विद्यार्थीसँगसँगै कलेजले राखेका परामर्शदाता र शिक्षकहरूले पनि विद्यार्थीलाई परामर्श दिने काम गरिरहेका छन् । कञ्चनपुरका विवेक खड्का अहिले कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा छन् । टेक्सासमै बिजनेस स्टडिज लिएर प्लस टु पढेका उनी कक्षा ११ मा भर्ना हुन आउने नयाँ विद्यार्थीलाई कलेजका बारे जानकारी दिने काम गर्छन् । भन्छन्, ‘धेरै विद्यार्थीहरू आउनुहुन्छ, स्कुलबारे बुझ्नुहुन्छ । कतिपयलाई हामीले परामर्श गर्छौं, कतिपयलाई सरहरूले काउन्सिलिङ गर्नुहुन्छ, दिनहुँ धेरै विद्यार्थी र अभिभावक आइरहनुहुन्छ, उहाँहरूलाई हामी पुरै विद्यालय भिजिट गराइरहेका छौं ।’ फिजिक्स ल्याबदेखि कम्प्युटर ल्याबको व्यवस्था कक्षा १२ को परीक्षा दिएर बसिरहेकी गोर्खाकी अनुशा ठकुरी अहिले टेक्सासमा कक्षा ११ भर्ना हुन आउने विद्यार्थीलाई विद्यालय भ्रमण गराउँछिन् । यही कलेजमा पढेकी उनी आफ्नो अनुभव सेयर गर्दै विद्यार्थीलाई कलेजमा भएका ल्याबबारे जानकारी गराउँछिन् । अनुसा ठकुरी । उनी यो कलेजमा ११/१२ का विज्ञान विषय लिएर पढ्ने विद्यार्थीका लागि आवश्यक ल्याबको व्यवस्था रहेको बताउँछिन् । उनी धेरै कुराहरू पढेरमात्र नभइ व्याहारिक रूपमा पनि लागू गर्नुपर्ने हुँदा ल्याबमा आएर अभ्यास गर्न मिल्ने बताउँछिन् । कलेजमा फिजिक्स, केमेस्ट्री र बायो ल्याबको व्यवस्था पनि छ । कम्प्युटर साइन्स पढ्ने विद्यार्थीका लागि कम्प्युटर ल्यावको व्यवस्था पनि टेक्सास कलेजमा छ । टेक्सासबाटै कक्षा १२ परीक्षा दिएर बसिरहेकी इस्मोन राई टेक्सासमा विद्यार्थीका लागि पढ्ने वातावरण राम्रो रहेको बताउँछिन् । प्लसु टुपछि विदेश पढ्न जाने योजना बनाइरहेकी उनी टेक्सासमा प्लस टु गरिरहँदा किताबी ज्ञानसँगै अन्य बाह्य कुराको धेरै अनुभव बटुल्न पाएको अनुभव सुनाउँछिन् । इस्मोन राई । टेक्सास इन्टरनेसनल कलेजमा मन्टेस्वरीदेखि मास्टर्स डिग्रीसम्म पढाइ हुन्छ । यहाँ कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना गरिन्छ । विज्ञान, व्यवस्थापन, मानविकी र कानुनका विषयहरू पढाइ हुन्छ । यसका लागि ए, बी, सी र डी गरी चारवटा ब्लकहरू छन् । ब्लक डीमा बीएसडब्लुको पढाइ हुन्छ भने नर्सिङरुम पनि त्यो ब्लकमा छ । ब्लक सीमा व्यवस्थापनका विषयहरू पढाइ हुन्छ भने ल्याब पनि त्यही छ । त्यस्तै, ब्लक बीमा बीआईटीको पढाइहुन्छ भने दुईवटा ल्याबहरू पनि छन् । ब्लक एमा विज्ञान विषयमा पढाइ हुन्छ । कलेजभित्रै क्यान्टीनको व्यवस्था पनि छ । पढाइमात्र होइन, टेक्सासमा विद्यार्थीका लागि पर्याप्त खेल्ने ठाउँ पनि छ । जहाँ ब्याडमिन्टन, टेबल टेनिसदेखि लिएर बास्केटबल, फुटसललगायत विभिन्न खेलहरू खेल्ने ठाउँको व्यवस्था छ । यस्तै, स्कुभित्रका कार्यक्रमका लागि सेमिनार हलको पनि व्यवस्था छ । कलेजमा इन्टरकलेज फुटसल पनि भइरहन्छ भने अन्य खेलका लागि विद्यार्थीलाई बाहिर लगिन्छ । सबै विद्यार्थी भर्ना गर्नसक्ने अवस्था छैन कक्षा ११ मा अध्ययनको लागि धेरैजसो विद्यार्थीले कलेज छनोट गरिसके पनि अझै धेरै विद्यार्थी कलेज खोजीमै लागिरहेका छन् । विशेषगरी, उपत्यका बाहिरबाट अध्ययनका लागि काठमाडौं आएकाहरू अहिले पनि विभिन्न कलेज भ्रमण गरिरहेका छन् । सरकारले कक्षा ११ को पढाइ असार १ गतेबाट सुरु गर्न भनेको छ । कलेजहरूले पनि विद्यार्थीहरू भर्ना गर्ने काम गरिरहेका छन् । टेक्सास कलेजले कक्षा ११ मा भर्ना हुन आउका सबै विद्यार्थीलाई भर्ना गर्न नसक्ने जनाएको छ । विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ विद्यालयमा आउने सबै विद्यार्थीको भर्ना लिन नसकिने हो कि भन्ने अवस्थामा कलेज रहेको बताउँछन् । कलेजको भौतिक संरचनाको सीमितताका कारण धेरै विद्यार्थी भर्ना गर्न नसकिने उल्लेख गर्दै उनी यो कलेज विद्यार्थी र अभिभावकको आकर्षणको रूपमा रहेको बताए । प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ । प्लस टुमा भर्ना हुन आउने विद्यार्थीको आकर्षण विज्ञान र व्यवस्थापनमा रहेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् । उनी यसको पछाडि कारण रहेको बताउँछन् । भन्छन्, ‘विज्ञान विषय पढिसकेपछि विद्यार्थीहरू मेडिकल, इन्जिनियरिङ क्षेत्रबाहेक अन्य जुनसुकै विषय पनि रोज्न सक्ने भएकाले आकर्षण बढेको हुनसक्छ भने अहिले विश्वमा नै व्यवस्थापन विषयमा आकर्षण बढेकाले यसको प्रभाव पनि हुन सक्छ ।’
भ्रष्टाचारको निर्मूलीकरण, व्यावसायिक वातावरणमा जोड
अहिलेको शक्तिशाली सरकारले पर्यटन, कृषि र सूचना प्रविधि (आईटी) लाई विकास र समृद्धिको मुख्य आधारको रूपमा लिएको छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा निजी क्षेत्रको मनोबल बढाउने, व्यवसायको लागत घटाउने र एआई नवप्रवर्द्धक र प्रविधिमा सरकारको जोड छ । जुन कुरा सकारात्मक छ। सरकारले बजेटमार्फत सुशासन, भ्रष्टाचार निर्मूलीकरणमा पनि जोड दिएको देखिन्छ । व्यवसाय गर्ने वातावरणमा सुधार ल्याउने अपेक्षा गरेका छौं । बजेटमा पर्यटन क्षेत्रका धेरै विषय त आएको छैन, जति आएको छ सकारात्मक नै छ । बजेटमा सरकारले ‘भिजिट नेपाल २०८२’, ‘नेपाल आरोग्य वर्ष २०२७’ सफल बनाउन सघन तयारी गर्ने योजना अघि सारेको छ । पर्यटन गतिविधिहरूलाई ‘आरोग्य पर्यटन’ को मूल विषयवस्तुमा ब्राण्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिने भनिएको छ । पर्यटकीय गन्तव्य विकास गर्न निर्वाण पथ, कोशी कोरिडोर, पर्यटकीय चतुर्दिक क्षेत्र विकास लगायतका डाँफे, सालिग्राम, मध्यपहाडीजस्ता नयाँ गन्तव्य क्षेत्रहरु, हिलस्टेसन विकास, ग्रेट हिमालयन ट्रेल, मनाङ र मुस्ताङका गुम्बा संरक्षण, प्रादेशिक पर्यटकीय कोरिडोर विकास गर्ने लगायतका उल्लेखित कार्यक्रमहरु छन् । यी कार्यक्रम तथा गतिविधिले पर्यटकीय गतिविधि बढ्ने र टकहरुको संख्या, बसाई र खर्च बढाउन सघाउ पुग्ने विश्वास हामीले लिएका छौं । यसलाई सकारात्मक रूपमा लिएका छौं। यो पटकको बजेटमा कृषि, वन, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यावरण, सामाजिक विकास लगायतका राष्ट्रिय कार्यक्रमहरूमा समेत पर्यटन विकासको गतिविधिहरू जोड्ने नयाँ प्रयास गरेको देखिन्छ । यसबाट प्रदेश, स्थानीय निकाय तथा जनस्तरसम्म पर्यटन विकासका गतिविधि बढाई आर्थिक समृद्धि गाउँस्तरसम्म पु¥याउने बजेटको अवधारणा सकारात्मक छ । सरकारले यसअघि सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ र नीति तथा कार्यक्रममा ‘क्वान्टिटीभन्दा क्वालिटी’ पर्यटक बढाउने बढाउने घोषित कार्यक्रम अन्तर्गत नै जनकपुरलाई विवाह गन्तव्यको रुपमा विकास र ब्राण्डिङ गर्ने कुरा अघि सारको छ । यसले आजको दिनसम्म काठमाडौंै, पोखरा र चितवन केन्द्रित पर्यटकलाई त्यतातिर विविधीकरण हुन मद्दत पुग्छ भन्ने विश्वास लिएका छौं । पर्यटक लक्षित डेस्टिननसहरुलाई विविधिकरण गर्दै गयो भने पर्यटकरू नेपालमा लामो समय बस्नको लागि सहयोग पुग्छ । यसले गाउँ–गाउँ पर्यटक पुग्ने र देशैभरि आर्थिक चलायमन हुन्छ । हुन त बजेटमा जहिल्यै पनि पर्यटनसँग सम्बन्धित धेरै कुराहरू समेटिएका हुन्छन्, तर त्यसको कुनै लेखाजोखा नै हुँदैन । अहिले नयाँ बजेट आइसक्यो तर पोहोर सालको बजेटमा समेटिएका कति कुराहरू कार्यान्वयन नै भएको छैन । बजेटमा घोषणा गरिसकेपछि के भयो/के भएन भनेर लेखाजोखा हुनुपर्छ । सरकारले जुन–जुन कुराहरू घोषणा गरेको छ, ती कुराहरूलाई इमान्दरपूर्वक कार्यान्वयन मात्रै गर्दियो भने त्यही नै पर्याप्त छ । तर घोषणा गर्ने कार्यान्वन नगर्ने प्रवृत्ति विगतदेखि नै चल्दै आएको छ । सरकारले अनुगमन संयन्त्र नै बनाएर यसको के भयो/भएन भनेर हेर्नैपर्छ । तब मात्रै घोषणा गरेको कार्यक्रमले सार्थकता पाउँछ । यसअघिको बजेटमा सरकारले होटल तथा रिसोर्टहरूलाई उत्पादनमूलक उद्योग सरहको मान्यता दिएको भए तापनि त्यो आजको दिनसम्म कार्यान्वयन हुन सकेन । अहिले पनि यो विषय एक/दुई ठाउँमा लेखिएर आएको छ । तर पाउने/नपाउने भन्ने अन्यौलता कायमै छ । अहिलेको बजेटमा सरकारले ५० युनिटभन्दा माथिको बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेको छ । पर्यटन क्षेत्र विशेषगरी होटल क्षेत्र नेपालमा अवस्थित भएपनि अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धी गर्नुपर्ने हुन्छ । नेपालभन्दा सस्तो मलेसिया, थाइल्याण्ड या कम्बोडिया भयो भने पर्यटक नेपाल किन आउने ? नेपाल आउने पैसामा पर्यटकहरू ती देशमै रमाउँछन् । एकातिर हामीले बिजुलीमा छुट नपाउने, अर्कोतिर भ्याट बढ्दा होटल उद्योगको सञ्चालन खर्च बढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने निश्चित । यसमा सरकारले पुनर्विचार गरियोस् भन्ने हाम्रो माग छ । सरकारले आन्तारिक पर्यटनलाई पनि हेर्दिनुपर्छ भन्ने हाम्रो माग छ । बजेटमा सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ । अहिले कर्मचारीहरूलाई हप्तामा दुई दिन सार्वजनिक विदासमेत दिएको सन्दर्भमा सरकारले ‘पेड होलिडे’ को व्यवस्था गर्नुपर्छ । पहिले घोषित निजामती देश दर्शन कार्यक्रम सुचारु हुुनुपर्छ । सरकारी सभा सम्मेलन लगायतका कार्यक्रमहरू होटल रिसोर्टमा गर्न लगाइएको बन्देज पनि खुला हुनुपर्छ । दुई दिन बिदाले कृषि उपज बढ्छ, यातायात क्षेत्र चलायमान हुन्छ, आवास क्षेत्र चलायमान हुन्छ । जसले पर्यटनलाई गति दिन्छ । हामीसँग क्षमता धेरै भइसक्यो । हाम्रो यो क्षेत्रका धेरै लगानी भइसकेको छ । हामीसँग ४० लाख पर्यटकलाई क्षमता दिने भइसक्यौं । तर, कनेक्टिभिटी नहुँदा लक्ष्यअनुसार पर्यटक ल्याउन सकिरहेका छैनौं । हामी भारत र चीनको बीचमा हुँदा पनि पर्यटक ल्याउन असमर्थ भइरहेका छौं । अलि स्तरीय होटल तथा रिसोर्टहरूको क्षमताको झन्डै एक तिहाई मात्र उपयोग (अकुपेन्सी) रहेको छ । अहिले सरकारले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने भनिएको छ । युरोपियन युनियनको कालो सूचीबाट हट्ने प्रयास र एयरपोर्टहरुमो स्तरोन्तति गर्ने योजना अघि सारेको छ । हाम्रो मुख्य जोड भनेकै कनेक्टिभिटी बढाइदिनु पर्यो भन्ने नै हो । अहिले पनि भारतीय पर्यटक सीमा नाकाबाट धेरै आउँछन् । उहाँहरूलाई नेपाल आउन सहजीकरण गर्दिनुपर्छ, यसले पर्यटकको आगमन बढाउँछ । (होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहसँग गरेको कुराकानीमा आधारित)
३ प्रतिशत शिक्षा समता शुल्क पुनरावलोकन गर्न माग
काठमाडौं । सरकारले शिक्षामा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लागू गर्ने व्यवस्थामाथि पुनरावलोकन गर्न सरोकारवालाहरूले माग गरेका छन् । अभिभावक तथा निजी विद्यालय क्षेत्रका प्रतिनिधिहरूले यो निर्णयले अभिभावक र विद्यार्थीमाथि थप आर्थिक बोझ सिर्जना गर्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी क्षेत्रबाट सञ्चालित विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयलगायत संस्थाले विद्यार्थीबाट लिने सम्पूर्ण शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क असुल गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गैरनाफामूलक संस्थामा भने यो शुल्क लागू नहुने उल्लेख छ । विधेयकको दफा ३ अनुसार शिक्षण संस्थाले विद्यार्थीबाट शुल्क लिँदा अनिवार्य रूपमा बीजक (बिल) जारी गरी उक्त शुल्क समेत समावेश गरेर असुल गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले आगामी आर्थिक वर्षदेखि विद्यालय शुल्कमा प्रत्यक्ष रूपमा ३ प्रतिशत अतिरिक्त भार थपिने देखिएको छ । यस निर्णयप्रति अभिभावक तथा सरोकारवालाहरूले गम्भीर चासो व्यक्त गर्दै निजी शिक्षण संस्थाको सञ्चालनमा समेत असर पर्न सक्ने बताए । नेसनल प्याब्सनकी अध्यक्ष गीता क्षेत्री (राणा) ले शिक्षा क्षेत्रमा कुनै पनि नयाँ कर वा शुल्क लागू गर्नुअघि सरोकारवालासँग पर्याप्त परामर्श आवश्यक रहेको बताउँदै सरकारसँग थप संवाद र समन्वय अघि बढाइने बताइन् । महासचिव प्रताप बहादुर थापाले यस्तो शुल्कले अभिभावकको आर्थिक बोझ बढ्ने भएकाले व्यवहारिक पक्षलाई ध्यानमा राखेर पुनर्विचार गर्नुपर्ने धारणा राखे । उनका अनुसार निजी विद्यालयहरू पहिले नै विभिन्न सञ्चालन खर्चको दबाबमा रहेका अवस्थामा थप करले सेवा प्रवाहमा असर पार्न सक्नेछ । शिक्षा क्षेत्रलाई करको अतिरिक्त भारबाट जोगाउँदै गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा उनको जोड छ ।