भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो
काठमाडौं । भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ । काठमाडौंबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौं आउनेछ । यद्यपि यात्रु सङ्ख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको छ । निगमले आरए १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं उडानको तालिका बनाएको भए पनि निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याउन लागिएको हो । वायुसेवा निगमले उद्धार उडानमार्फत देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ । उक्त उडानमा काठमाडौंबाट पाँच हजार र भैरहवाबाट सात हजार भाडादर तोकिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रुपमा उडान सञ्चालन भइरहेको जानकारी दिए । उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवामा उल्लेख्य सङ्ख्याका यात्रु उडानको प्रतीक्षामा छन् । 'विमानस्थलमा धरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुलाई गन्तव्यमा पु¥याउन विमानस्थल लागिपरेको छ,' महाप्रबन्धक तिवारीले भने । रासस
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् । यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । त्यसैगरी अस्पतालमा आएकारमृत्यु भएका कुल सङ्ख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने नौ जना रहेको छ ।
अलपत्र पर्यटकलाई होटल सङ्घको पहलमा निःशुल्क खाना र बस्ने व्यवस्था
काठमाडौं । बाढी पहिरो र सडक अवरुद्ध हुँदा पोखरामा अलपत्र परेका पर्यटकलाई व्यवसायीले निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने भएका छन् । होटल सङ्घ पोखराले पोखरा र वरपरका क्षेत्रमा समस्यामा परेका पर्यटकका लागि निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने घोषणा गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनले विपत्तिमा केही पर्यटक अलपत्र परेको भन्ने खबर पाएसँगै तत्काल राहत उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको बताए । ‘असहज परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै होटल सङ्घले यस्तो निर्णय गरेको हो । यसले पर्यटकको सुरक्षा र सहजतामा सहयोग पुग्ने विश्वास छ,’ सुवेदीले भने । हाल पोखरा भ्रमणमा रहेका अन्य पर्यटकलाई पनि होटलको प्रचलित दरमा २५ प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरिएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरो र प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उद्धार र निःशुल्क उपचारमा सरकारको ध्यानाकर्षणसमेत गराइएको छ ।