आज सगरमाथा दिवस, पाँच हजारभन्दा बढी आरोही पुगे सगरमाथा शिखरमा

काठमाडौं, जेठ १५ – विश्वको सर्वोच्च चुचुरो सगरमाथा (८ हजार ८४८ मिटर अग्लो)मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ। न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए। त्यसपछि आरम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ सम्म ४ हजार ४ सय २८ जना आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्। त्यसयता सन् २०१५ मा सगरमाथा आरोहण हुन सकेन। सन् २०१६ को वसन्त ऋतुमा २ सय ८९ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए भने सोही वर्ष विदेशी र स्वदेशी सहयोगीसहित ४ सयले आरोहण गरेको अनुमान छ। सन् २०१७ को वसन्त ऋतुमा ४२ टोलीका ३ सय ७५ आरोही मध्ये कतिले सगरमाथा आरोहण गरिसकेका छन् भने कतिपय आरोहणकै क्रममा छन् । नयाँ पत्रिका दैनिकबाट ।

मन्त्रीकै सहयोगीबाट चिकित्सक ठगिए, नक्कली माइन्युट बनाउने पीए हटिसके तर पक्राउ परेनन्

काठमाडौं । जिल्ला अदालतले नेशनल मेडिकल साइन्सको नक्कली माइन्यूट पुस्तिका बनाएर छात्रवृत्ति दिलाउने भन्दै ठगी गरेको कसुरमा २०७३ जेठ ३२ गते नुवाकोटका सरोज केसीलगायतलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोक्यो। डा.मनोजकुमार साहलाई एमडी अध्ययनका लागि सरकारी कोटामा छात्रवृत्ति मिलाइदिने भन्दै केसीसहित वीर अस्पतालका तत्कालिन कर्मचारी दीपक मुडभरी, राजेश कहार र रवि पौडेललाई अदालतले दोषी ठहर गरेको थियो। अदालतको फैसला अनुसार केसीलाई १४ महिना जेल र ७ लाख रूपैयाँ जरिवाना तोकिएको थियो। मुद्दा चल्दा हिरासतमै रहेका मुडभरी, कहार र पौडेल फैसलाअनुसार कारागार पुगे। अदालतले अभियोग प्रमाणित गरे पनि केसी फरार सूचीमा परे। उनी काठमाडौंमा खुलमखुल्ला घुमिरहँदा पनि पक्राउ परेनन्। यही बीच अर्जुननरसिंह केसी सहरी विकास मन्त्री बने। सरोज उनका पिए। कानुनी रूपमा फरार अभियुक्त भए पनि उनी मन्त्रीसँगै दैनिक सिंहदरबार र मन्त्री निवास गरिरहन्थे। असोजमा ठगीका फरार अपराधी मन्त्रीको पिए भनेर समाचार आए पछि मन्त्री केसीले उनलाई हटाए। तर पनि उनी पक्राउबाट जोगिदै आए। केसी अदालतले दोषी ठहर गरेको एक वर्षपछि सामाखुसीबाट आइतबार पक्राउ परे। नागरिक दैनिकबाट ।

हिमालयन ट्राभल मार्ट जेठ १८ देखि २१ सम्म हुने

काठमाडौँ । पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टमा ५४ देशका दुई सय ३० देशका पाहुना सहभागी हुने भएका छन् । जेठ १८ देखि २१ सम्म काठमाडौँमा आयोजना हुने मार्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन ,पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए। मार्टमा छिमेकीमूलुक भारत, चीन, श्रीलङ्का, सिङ्गापुर, कोरिया, बेलायत, अमेरिका, दक्षिण अमेरिकालगायत मुलुकका पर्यटनसँग सम्बन्धित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । त्यस्तै ब्लगर, क्रेता, बिक्रेताको पनि सहभागिता हुनेछ । मार्टमा आउने पाहुना अधिकांश नेपाल आइसकेको र उनीहरु नेपालको कला, संस्कृति, प्राकृतिक सुन्दरताको अवलोकन गर्न पनौती, चितवन, पोखरा, लुम्बिनी भ्रमणमा निस्केका छन् । सोल्टी होटलमा आयोजना हुने मार्टमा ९३ जना ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रख्यात वक्ताको सहभागिता रहने जनाइएको छ । भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई मार्टमार्फत विश्व बजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने अध्यक्ष पाण्डेले बताए। नेपालमा अन्तराष्ट्रियस्तरको पर्यटन ‘इभेन्ट’ पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोसेढङ्गा हुने पर्यटन विज्ञहरुले आशा गरेका छन् । हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको ‘प्रोडक्ट’ लाई विश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्नेछ । नेपाल हिमालयको प्रवेशद्वार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकले जानाएको छ ।