माछापुच्छ्रे बैंकले एकै साथ शुरु गर्यो ११ वटा स्थानबाट बैंकिङ्ग सेवा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । साथै, साेहि दिन बैंकले सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका , तनहुं जिल्लाको भिमाद नगरपालिका तथा कंचनपुर जिल्ला आइबिआरडी पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी, बैंकले रुपन्देही स्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्गसेवा संचालनमा ल्याएको छ । बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५ प्रतिशत छुट दिने र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने ईत्यादि सुविधा समेत उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै उक्त शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । यस बैकले २०७३ साल चैत्र मसान्त सम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सोही अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । बैकले हालसम्म ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।
नेपाल टेलिकमको खुद नाफा १५ अर्ब ४२ करोड, पहिलो पटक चुक्ता पुँजी भन्दा बढी नाफा गर्न सफल
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । उक्त नाफा कम्पनीको चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो । यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । नेप्सेमा सूचिकृत कम्पनीमा सेयर पुँजीको आधारमा टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा पनि यो सबैभन्दा ठूलो कम्पनी हो । नाफा राम्रो भए पनि यो कम्पनीको सेयर मूल्य कम छ । हाल प्रतिकित्ता ६७० रुपैयाँमा यस कम्पनीको सेयर किनबेच भईराखेको छ । कम्पनीले गत वर्षमा ४४ अर्ब ६८ करोडको सेवा बिक्री गरेको कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षमा ४९ अर्ब ५० करोडको सेवा बिक्री गर्ने लक्ष्य राखेको उनले बताईन् । यस आर्थिक वर्षमा कम्पनीले १६ अर्ब २९ करोड नाफा गर्ने लक्ष्य रहेको उनले बताइन ।
एउटा विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन
हुम्ला । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन्। उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान हुँदैन। शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने रु सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन। हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन लाग्छ। हाल शिशु कक्षामा १४, कक्षा १ मा आठ, कक्षा २ मा ६, कक्षा ३ मा चार र कक्षा ४ मा पाँच गरी ३५ जना भर्ना छन्। ५ कक्षासम्म पढाइ हुने भए पनि सो कक्षामा कुनै पनि विद्यार्थी छैनन्। कक्षा पाँच त अहिलेसम्म कसैले पास गर्न सकेको छैन। नपढाई शिक्षकले कसरी खान्छन् तलब ? हिउँदको समयमा अत्यधिक हिउँ पर्ने भएकाले यो विद्यालय वर्षमा ६ महिना मात्र खुल्छ। विद्यालय खुल्ने समयमा शिक्षक अनुपस्थित रहने भएकाले कहिल्यै पढाइ नहुने स्थानीयको भनाइ छ। सरकारी शिक्षक वर्षको एकपटक आउने र मौखिक रूपमा कक्षा चढाउने गरेका छन्। ‘नपढाई कसरी तलब खाएका होलान्, हामीलाई थाहा छैन,’ एक स्थानीयले भने। परीक्षा नदिई नै पास भएको स्थानीय पूर्वविद्यार्थी भुटी लामाको भनाइ छ। ‘हाम्रा पाला पनि शिक्षकहरू वर्षमा एकपटक आउने र किताब वितरण गरेर जानुहुन्थ्यो। परीक्षा नदिएरै कक्षा उत्तीर्ण भएका हौं। शिक्षकहरू आएर कक्षा २ पास भयौ भनेर जानु हुन्थ्यो। हामी दिनहुँ विद्यालय आउँथ्यौं, शिक्षकहरू आउनु हुन्नथ्यो। त्यसपछि किताब बोकेर फर्कन्थ्यौं। शिक्षक र हाम्रो चिनाजान नै राम्रोसँग हुँदैनथ्यो,’ उनले विगतमा भोगेको जस्तै स्थिति अहिले पनि यथावत् छ। सरकारी शिक्षक स्कुल आउँदैनन् हाल विद्यालयमा जम्मा ३५ जना विद्यार्थी अध्ययनरत छन्। तर, १५ जना मात्र विद्यालय आउने गरेका छन्। निजीस्तरमा राखिएका शिक्षक राजबहादुर शाही भने विद्यालयमै भेटिए। उनको तलबभत्ता गाउँलेले नै व्यहोर्ने गरेका छन्। हाजिरकापीमा विभिन्न बिदा उल्लेख गरेर प्रधानाध्यापक रामबहादुर शाही हिल्दुमस्थित आफ्नै घरमा बस्ने गरेका छन्। करार शिक्षक सुशीला शाहीबारे गाउँलेलाई कुनै जानकारी छैन। उनले दुई वर्षअघि करारमा नियुक्ति पाएकी हुन्। तर, नपढाईकनै तलब बुझ्दै आएकी छन्। कक्षा ५ को कोठा खाली अरनिको आधारभूत विद्यालयले कक्षा १ देखि ५ सम्म सञ्चालनको अनुमति पाएको छ। तर, कक्षा ५ मा विद्यार्थीको संख्या शून्य छ। नियमित शिक्षक नआउने र पढाइ नहुँदा आफ्ना बालबालिका अर्कै विद्यालयमा स्थानान्तरण गर्न बाध्य भएको स्थानीय खारकेप लामाले बताए। कक्षा २ उत्तीर्ण गरेका विद्यार्थीलाई याल्वाङको गुम्बामा रहेको विद्यालयमा भर्ना गर्नुपर्ने बाध्यता भएको उनले बताए। पटक–पटक जिल्ला शिक्षा कार्यालयमा यसबारे जानकारी गराउँदा पनि कारबाही नभएको स्थानीयको भनाइ छ। नयाँ पत्रिका दैनिकबाट ।