तालिका थप भएपछि भोजपुर–काठमाडौं अब चार उडान

टक्सार । पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौं हुँदै आएकामा अब चार उडान हुनेछन् ।     प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौं–भोजपुर–काठमाडौं उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि लागू हुनेगरी अब  मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन गरिनेछ । यसभन्दा अगाडि बिहीबार र शनिबार मात्र उडान हुँदै आइरहेको थियो ।     मर्मतमा रहेको अर्को जहाज पनि सञ्चालनमा आएसँगै भोजपुरमा पनि उडान थप गरिएको छ । निगमले यात्रुहरूलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत ‘अनलाइन टिकट’ खरिद गर्न सकिने व्यवस्थासमेत गर्दै आइरहेको छ ।     यहाँ यातायातका साधन सञ्चालनमा आएसँगै भोजपुर–विराटनगरको उडान भने बन्द भएको छ । विसं २०३५ मा घाँसेमैदानबाट सुरु भएको उडान अहिले विमानस्थल कालोपत्र भए पनि निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने र आउने यात्रु मारमा पर्दै आइरहेका छन् ।   

होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा : देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’

चितवन । होटल पौवाले १६औं शाखा चितवनको भरतपुरमा समारोहबीच औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ । नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म वृहत् नेपाली खाना प्रवर्द्धन कार्यक्रम हुने भएको छ । कात्तिक २७, २८ र २९ गतेसम्म चल्ने उक्त वृहत् नेपाली खाना प्रदर्शनीमा देशभरका पौवाका शाखाबाट आएका सेफहरूले आफुले तयार पारेका खाद्य कला पस्किनेछन् ।  होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उद्घाटन समारोह र खाना प्रवद्र्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको छ । 'पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्ष रूपमा लिन सक्नेछन्,' भण्डारीले भने । भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ । निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा छ । यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ । भरतपुरको मध्यभागमा अवस्थित पौवाले आतिथ्य उद्योगका सबै विधामा सेवा प्रदान गरेको छ ।  मंगलबार आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताए । उनले भने, 'नेपाल पर्यटकीय सम्भावनाले भरिएको मुलुक हो । यहाँ आउने हरेक पर्यटकलाई पहिलो अनुभव नै हस्पिटालिटीको हुनुपर्छ । त्यसैले पौवाले ‘आतिथ्यता र स्वाद’लाई आफ्नो मिशनको केन्द्रमा राखेको छ ।' पछिल्लो समयको राजनीतिक आन्दोलन र आर्थिक अनिश्चितताले लगानीकर्तामा असर पारे पनि पर्यटन क्षेत्रको गति रोक्नु नहुने धारणा पौवाको रहेको छ । 'हामीले अब हिचकिचाउने होइन, अघि बढ्ने समय आएको छ । तर, राज्यले उद्योगी व्यवसायीलाई लगानी मैत्री वातावरण रहेको विश्वास दिलाउनुपर्छ,' उनले भने । त्यसैगरी, होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले नेपाली स्वादलाई विश्वस्तरमा पुर्याउने अभियानमा पौवा अघि बढिरहेको उल्लेख गरे । उनले भने, 'नेपालमा ‘केही हुँदैन’ भन्ने सोच तोड्नुपर्छ। विषम परिस्थितिमा पनि हामीले एक सय शाखा विस्तार गर्ने लक्ष्यसहित नेपाली चेन होटललाई अन्तर्राष्ट्रियकरणतर्फ डोर्याइरहेका छौँ ।'  होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले चितवन शाखालाई नेपालको हस्पिटालिटी नक्सामा अर्को महत्वपूर्ण माइलस्टोनका रूपमा वर्णन गरे । उनका शब्दमा, 'चितवन नेपालको मध्य भाग हो, देशभरका आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य । चितवन राष्ट्रिय निकुञ्ज, देवघाटधाम, मौलाकालीकाजस्ता धार्मिक तथा प्राकृतिक आकर्षणका बीच पौवाको उपस्थितिले यस क्षेत्रलाई अझ पहिचान दिन सहयोग गर्नेछ ।' नेपालमा विदेशी शैलीका होटलहरू हावी भइरहेका बेला ‘होटल पौवा’ले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति दिने उद्देश्यसहित हस्पिटालिटी क्षेत्रमा नयाँ परिभाषा ल्याएको ज्ञवालीले बताए । रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा आज चितवनमा १६औं शाखासम्म पुगेको छ । यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भैरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भैरहेको छ ।  स्थानीय खाना बनाउन पोख्त महिला सेफहरुबाट नेपालगन्ज र भैरहवामा दाल भात, तरकारी अचार समेटिएको नेपाली खाना 'भातभान्छा' को प्रवर्द्धन सुरु गरिएको छ । भातभान्छालाई महिला कर्मचारीहरुले मात्रै सम्हाल्दै आएका छन् । 'नेपाली खानालाई स्तरीय रेस्टुरेन्टमा पस्किने तयारीका साथ पौवाले आफ्नो छुट्टै ब्राण्ड भातभान्छा सुरु गरेको हो । ६ महिनाका बीच नेपालगन्ज र भैरहवाबाट सुरुगरेको यो ब्राण्डलाई निरन्तर विस्तारको योजना रहेको छ', उपाध्यक्ष न्यौपानेले बताए ।   देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् । विशेषतः यहाँका कर्मचारीहरूलाई पनि लगानीकर्ता बन्ने अवसर दिइएको छ, जसले पौवाको ‘साझा स्वामित्व र साझा सफलता’को भावना झल्काउँछ । विश्वशान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएको पौवाको यात्रा अब देशव्यापी अभियानमा रूपान्तरण भइसकेको छ । हस्पिटालिटी र स्वादको नेपाली पहिचानलाई विश्वमाझ पुर्याउने ‘मिशन १०० पौवा होटल’ अभियानले चितवनबाट नयाँ अध्याय सुरु गरेको हो ।

त्रिविको जग्गा मिच्नेहरूलाई कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी,  रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा मुख्य सचिव एकनारायण अर्यालसहित जग्गा खोजबिन समितिका पदाधिकारीहरू पनि सहभागी थिए । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया के–के भयो भनेर जिज्ञासा राखेकी थिइन् । त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए । गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफैँ अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रूपमा सीआईबीलगायत निकायमा जाहेरी दिनुपर्ने बताए । जग्गा अपचलनमा सीआईबीको विशेषज्ञता र अनुभव पनि रहेकाले कारबाही अघि बढाउन तयार रहेको उनको भनाइ थियो । मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैँले गर्न सक्ने बताए । सबै कामका लागि सरकारको मुख ताक्न नहुने उनको धारणा थियो । शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र यसका लागि सबै सरोकारवाला निकायहरूको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राखे । प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन् । साथै यसमा जो–जो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनुपर्ने उनको निर्देशन छ ।