शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
सिराहा । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ । यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ । लाहानचोकको यो सर्भिस सेन्टर उद्घाटनको मितिदेखि एक महिनासम्म स्थानीय ग्राहकहरूका लागि विशेष सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट, साथै वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने जस्ता सुविधाहरु प्रदान गर्नेछ । यस अवसरमा शाओमी नेपालका प्रतिनिधिले भने, 'लाहानमा हाम्रो आधिकारिक सर्भिस सेन्टर खोलेर सेवा दिन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । स्मार्टफोन मात्र नभई वेअरएबल्स र एयरबड्स जस्ता लोकप्रिय उपकरणहरूको आधिकारिक सर्भिस उपलब्ध गराउँदा उपभोक्ताले अझ सहज महसुस गर्ने छन् । टेलिडाइरेक्ट प्रालिसँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप मजबुत हुने विश्वास हामीले लिएका छौँ ।' लाहानस्थित यो सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नेछन् ।
नोबेल कलेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट
काठमाडौं । काठमाडौंको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ र करिब २८.५७ प्रतिशत सेयर आईपीओमार्फत सर्वसाधारणलाई उपलब्ध गराइनेछ । संस्थापक समूहसँग करिब ७१.४३ प्रतिशत सेयर कायम रहनेछ । नोबेल कलेज, फ्रन्टलाइन ब्राण्ड अन्तर्गत काठमाण्डौंको पुरानो बानेश्वरमा संचालित छ । हालको अस्पतालको क्षमता १०० शैया रहेको छ र विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको छ । थप सेवा विस्तारका लागि निर्माणको चरणमा रहेको २०० शैया क्षमताको नयाँ अस्पताल, जनरल र क्यान्सर रोगलाई मध्यनजर गर्दै बनाइने छ । कम्पनी अध्यक्ष नवराज पाण्डेका अनुसार यसका लागि थप पूँजी आवश्यक भएकाले आईपीओमा जाने निर्णय गरिएको हो । अस्पतालले स्नातक तहका विद्यार्थीका लागि नर्सिङ र फार्मेसी लगायतका शैक्षिक कार्यक्रम पनि संचालन गर्दै आएको छ । सोमबार भएको सम्झौतामा नोबेल कलेजको तर्फबाट अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
माछापुच्छ्रे बैंक र स्मार्ट पेबीच रेमिट्यान्स सम्झौता, युरोपबाट सजिलै रकम पठाउन सकिने
काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा सजिलै रेमिट्यान्स पठाउन सक्ने वातावरण बनाउन स्मार्ट पेसँग सहकार्य गर्दै रेमिट्यान्स सेवाको सुरुवात गरेको हो । सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार युरोपेली देशमा रहेका नेपालीहरुले स्मार्ट पेका सबै प्रतिनिधि कार्यालय, मोबाइल एप र अनलाइन सेवाहरू मार्फत बैंकमा सजिलै रेमिट गर्न सक्नेछन् । पठाइएको रकम नेपालभित्र बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । साथै, स्मार्ट पे र माछापुच्छ्रे बैंक मार्फत पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ ।