शीतलहरका कारण चिसो बढेपछि विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम । लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।  नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने चिसोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्ने व्यवस्थाका लागि  धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकासहितका पालिका तहहरूले केही दिनअघि दाउरा उपलब्ध गराएको थियो । शीतलहरका कारण धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रम घट्दै गएको छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ ।  शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिएको किसानले बताएका छन् ।  

कास्कीको विद्यालयमा कामना सेवा विकास बैंकको शैक्षिक सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिबकुमार ढकालले एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई स्टेसनरी तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरे । सामग्री ग्रहण गर्दै प्रधानाध्यापक पौडेलले सामाजिक–आर्थिक रूपमा पिछडिएका, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धिमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले यस सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

ज्योति विकास बैंकका ग्राहकलाई भोटेकोशी हिल रिसोर्ट एन्ड स्पामा छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै सिन्धुपाल्चोकको भोटेकोशीस्थित भोटेकोशी हिल रिसोर्ट एन्ड स्पामा छुट उपलब्ध गराउने सम्झौता गरेको छ । सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । भोटेकोशीको रमणीय प्राकृतिक सौन्दर्य, स्वादिष्ट परिकार तथा उत्कृष्ट आतिथ्य सेवाका कारण उक्त रिसोर्ट पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । संस्थागत सुशासन र समाजप्रतिको उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको ज्योति विकास बैंकले यस्ता सहकार्यमार्फत आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । बैंकले नवीन सोचका साथ समाजको समग्र अभ्युदय र दिगो परिवर्तनका लागि योगदान पुर्‍याउँदै आएको उल्लेख गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा बढी रकम सामाजिक क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ । नवजात शिशुको जीवन रक्षा, स्वास्थ्य, शिक्षा र समुदाय विकासका क्षेत्रमा सक्रिय रहँदै आएको बैंकले ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष हजारौं शिशुको जीवन जोगाउन योगदान पुर्‍याउँदै आएको छ । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै ज्योति विकास बैंकले गएको आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको जनाएको छ । बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व र ग्राहक केन्द्रित सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।