डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपनहार्ट सर्जरी सफल

काठमाडौं । विराट नर्सिङहोम र विराट मेडिकल कलेजका सञ्चालक एवं डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपनहार्ट सर्जरी सफल भएको छ । नियमित जाँचका क्रममा दिल्लीस्थित मेदान्त अस्पताल पुगेका कार्कीको मुटुको भल्ब बन्द भएको पाइएपछि ओपनहार्ट सर्जरी गरिएको हो।  एक साताअघि स्वास्थ्य समस्या देखिएपछि भारत पुगेका डा. कार्कीले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।  उनले अस्पतालको बेडबाट भिडियो सेयर गर्दै भनेका छन्, ‘म अहिले स्वास्थ्यलाभ गरिरहेको छु, कसैलाई कुनै सन्देश नै दिन नपाइ दिल्ली आउनुपर्यो, हजुरहरूको कृपाले राम्रो हुँदैछ ।’  कार्कीले मुटुको भल्भको ब्लकेज जटिल शल्यक्रिया रहेको जनाउँदै अहिले आफ्नो अवस्था ठीक रहेको बताए । उनले अब आफू ठीक भएर चाँडै नागरिकको सेवाका लागि फर्किने समेत विश्वास दिलाएका छन् । ओपनहार्ट सर्जरी एक जटिल शल्यक्रिया हो, जसमा छाती खोलेर मुटुको उपचार वा शल्यक्रिया गरिन्छ । यो शल्यक्रिया कोरोनरी धमनी रोग, मुटुको भल्भ रोग, जन्मजात मुटुको दोष र अन्य गम्भीर मुटुसँग सम्बन्धित समस्याहरूका लागि गर्ने गरिन्छ ।  यसको लक्ष्य भनेको मुटुको सामान्य कार्य पुन: स्थापित गर्नु, रक्त प्रवाह सुधार गर्नु र मुटुको रोगबाट पीडित बिरामीहरूको जीवनको समग्र गुणस्तर बढाउनु हो ।  

अश्लील डीपफेक काण्डपछि ग्रोक विवादमा, मलेसिया र इन्डोनेसियाले लगाए मस्कको एआईमा प्रतिबन्ध

काठमाडौं । मलेसिया र इन्डोनेसियाले एलन मस्कको कृत्रिम बौद्धिकता (एआई) च्याटबोट ग्रोकलाई सहमति विना तयार पारिएको यौनजन्य, अश्लील सामग्री उत्पादनमा प्रयोग भइरहेको भन्दै गत साता अन्त्यतिर प्रतिबन्ध लगाएका छन् । मलेसियाली नियामक निकायले आइतबार एक्सएआईको च्याटबोट ग्रोकमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश दिएको हो । नियामकका अनुसार एआई उपकरणसँग जोडिएका सामग्री जोखिम समाधान गर्न एक्स कर्पले ‘बारम्बार असफलता’ देखाएको छ । यस कदमभन्दा एक दिनअगाडि नै इन्डोनेसियाले पनि यस्तै चिन्ताका कारण ग्रोकमा अस्थायी रूपमा पहुँच रोकेको थियो र यस विषयमा स्पष्टिकरण दिन एक्सका अधिकारीहरूलाई आग्रह गरेको थियो । उक्त जानकारी सीएनबीसीले जारी वक्तव्यको अनुवादका आधारमा दिएको हो । दक्षिण–पूर्वी एसियाली यी मुलुकहरूको कदम त्यतिबेला आएको हो, जब एआई उपकरण प्रयोग गरेर केही प्रयोगकर्ताले सहमति विना तयार पारिएका यौनजन्य तस्बिर र डीपफेक सामग्री बनाएको पत्ता लागेको थियो । यसमा न्यून वस्त्रधारी नाबालकहरूलाई देखाइएका सामग्रीसमेत समावेश थिए । मस्कको कम्पनीले हालै ग्रोकको ‘ग्रोक इम्याजिन’ फिचर अद्यावधिक गरेको थियो, जसले पाठआधारित निर्देशन (प्रोम्प्ट) बाट सजिलै तस्बिर बनाउन सक्ने सुविधा दिएको छ । यो प्रणाली मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्ससँग एकीकृत भएकाले यसको पहुँच व्यापक छ । ग्रोकको सामग्री नियमन (कन्टेन्ट मोडरेसन) नीतिप्रति चिन्ता बढ्दै जाँदा एक्सएआईले यौनजन्य आउटपुट सम्भव बनाउने सुरक्षा कमजोरीहरू सुधार्न तस्बिर निर्माण र सम्पादन फिचरहरू भुक्तानी गर्ने सदस्यहरूमा मात्र सीमित गर्ने घोषणा गरेको छ । एक्समा प्रतिक्रिया दिँदै मस्कले ग्रोकमार्फत गैरकानुनी सामग्री बनाउने प्रयोगकर्ताले सोही सामग्री सामाजिक सञ्जाल प्लेटफर्ममा सिधै अपलोड गरेसरह नै परिणाम भोग्नुपर्ने दाबी गरेका छन् । सीएनबीसीले सप्ताहन्तका घटनाक्रमबारे प्रतिक्रिया लिन एक्सएआईसँग सम्पर्क गर्ने प्रयास गरेको थियो । तर कम्पनीको प्रेस इमेलबाट ‘लिगेसी मिडिया लाइज’ (परम्परागत सञ्चारमाध्यमले झूट बोल्छन्) भन्ने स्वचालित सन्देश मात्र प्राप्त भएको थियो । ‘अपर्याप्त’ प्रतिक्रिया तर विवादका बीच एक्सले सार्वजनिक तथा निजी रूपमा दिएको प्रतिक्रिया इन्डोनेसिया र मलेसियाका नियामकहरू र अन्य अनुसन्धान थालेका निकायहरूलाई सन्तुष्ट पार्न असफल भएको बताएको छ । मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले एक्सका ‘अपर्याप्त’ जवाफहरू ‘मुख्यतः प्रयोगकर्ताबाट हुने उजुरी प्रणालीमै निर्भर रहेको र एआई उपकरणको डिजाइन तथा सञ्चालनबाट उत्पन्न हुने मौलिक जोखिमलाई सम्बोधन गर्न नसकेको’ जनाएको छ । आयोगले भनेको छ, ‘यसैले कानुनी तथा नियामक प्रक्रिया जारी रहँदासम्म रोकथामात्मक र अनुपातिक उपायका रूपमा प्रतिबन्ध लगाइएको हो । विशेषगरी महिला र बालबालिकासँग सम्बन्धित सामग्री रोक्न प्रभावकारी सुरक्षा उपाय लागू नभएसम्म ग्रोकमा पहुँच सीमित नै रहनेछ ।’ इन्डोनेसिया र मलेसिया दुवैमा कडा अश्लीलता विरोधी कानुन छन्, जसले अनलाइनमार्फत अश्लील तथा यौनजन्य सामग्री साझा गर्न प्रतिबन्ध लगाउँछ । यसैबीच इन्डोनेसियाको सञ्चार तथा डिजिटल मामिला मन्त्रालयकी मन्त्री मेउत्याफ हाफिदले ‘सहमति विना बनाइने यौनजन्य डीपफेकलाई सरकारले मानव अधिकार, गरिमा र डिजिटल क्षेत्रमा नागरिकको सुरक्षामाथिको गम्भीर उल्लङ्घनका रूपमा लिएको’ बताइन् । राज्य–स्वामित्वको अन्तारा न्युजमा साझा गरिएका वक्तव्यअनुसार हाफिदले नक्कली अश्लील सामग्री बनाउन एआईको दुरुपयोगलाई ‘डिजिटल–आधारित हिंसा’ को एक रूपसमेत भनेकी छन् । युरोपेली संघ, बेलायत, ब्राजिल र भारतलगायत अन्य क्षेत्रका निकायहरूले पनि अश्लील तथा सहमति बिना तयार पारिएका डीपफेक सामग्रीलाई सहज बनाएको आरोपमा ग्रोकको भूमिकामाथि अनुसन्धान आह्वान गरेका छन् । त्यसैगरी, वासिङ्टनका केही डेमोक्रेट सांसदहरूले मस्कले ठूला सुधार नल्याएसम्म एप स्टोरहरूले एआई उपकरण निलम्बन गर्नुपर्ने सिफारिस गरेका छन् । गत साता सीएनबीसीलाई पठाएको इमेलमा अमेरिकी न्याय मन्त्रालयले ‘एआईबाट उत्पादन हुने बाल यौन शोषण सामग्रीलाई अत्यन्त गम्भीर रूपमा लिने र यस्ता सामग्री उत्पादन वा स्वामित्वमा राख्ने जो–कोहीमाथि कडाइका साथ कारबाही गर्ने’ जनाएको थियो । मन्त्रालयले थप भनेको छ, ‘हामी बालबालिकाको संरक्षण गर्न र प्रविधिको दुरुपयोग गरेर सबैभन्दा कमजोर समूहलाई हानि पु‍र्‍याउने व्यक्तिलाई जवाफदेही बनाउन यस क्षेत्रमा कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने उपायहरू खोजिरहेकै छौं ।’

४० करोड भुक्तानी नपाउँदा शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचार सेवा बन्द गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । अस्पतालले पाउनुपर्ने दाबी रकम बीमा बोर्डले उपलब्ध नगराएपछि बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि बीमा सेवा बन्द गर्ने जनाएको छ । अस्पतालका अनुसार स्वास्थ्य बीमामार्फत उपचार गराउने बिरामीको संख्या दिनहुँ बढ्दै जाँदा मासिक झन्डै ५ करोड रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । तर बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुने र बाँकी अस्वीकृत हुँदै आएकाले अस्पतालको बीमा दाबी रकम करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएको छ । अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ, 'अस्पतालमा आउने बिरामीहरूको उपचारका क्रममा बीमा बोर्ड र अस्पतालको दररेट शुल्क फरक रहेको छ। अस्पतालले बारम्बार अस्पतालको दररेटलाई अन्तिम दर मानिदिन विगत दुई वर्षदेखि आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको, साथै आफ्नै आन्तरिक स्रोतबाट दैनिक सम्पूर्ण खर्च व्यहोर्नुपर्दा मासिक दुई करोड रुपैयाँ घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकाले यही २०८२ साल माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवाहरू बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।' स्वास्थ्य बीमा बोर्ड र त्रिवि शिक्षण अस्पतालबीच २०७७ सालदेखि स्वास्थ्य बीमा उपचार कार्यक्रम सञ्चालन हुने सम्झौता भएको थियो । यसबीच पनि अस्पतालले पटक–पटक दाबी भुक्तानी नपाएको भन्दै कार्यक्रम रोक्दै आएको थियो ।