नेपाल टेलिकमको ७७ वटै जिल्लामा फोर-जी विस्तार, फाइभ-जी तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल टेलिकमले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सेवा विस्तार, प्रविधि विकास तथा वित्तीय प्रगतिबारे जानकारी सार्वजनिक गरेको छ । कम्पनीले हालसम्म सातै प्रदेशका ७७ वटै जिल्लाका ७४९ स्थानीय तहमा फोर-जी एलटीई सेवा विस्तार गरिसकेको जनाएको छ । साथै २२ लाख ६५ हजार क्षमताको एफटीटीएच (फाइबर टु द होम) नेटवर्क विस्तार भइसकेको छ, जसबाट करिब ८ लाख ४९ हजार ग्राहकलाई डाटा, भ्वाइस तथा एनटीभी सेवा प्रदान भइरहेको छ ।  फाइभ-जी सेवा सुरु गर्नका लागि आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई हाल समीक्षा (रिभ्यु) को चरणमा रहेको कम्पनीले जनाएको छ । डिजिटल नेपाल अभियानलाई कार्यान्वयन गर्ने उद्देश्यले नेपाल टेलिकमले दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा पनि सेवा विस्तारलाई प्राथमिकता दिएको छ । दोलखाको जिरीमाडी, सोलुखुम्बुको चिलिङखर्क, बाजुरा लगायतका स्थानहरूमा सेवा विस्तार गरिएको छ । यसैगरी, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा आरडीएफ कोषमार्फत २६७ किलोमिटर अप्टिकल फाइबर विस्तार कार्य सम्पन्न भइसकेको छ । वित्तीय दृष्टिले कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । साथै, कर तथा शुल्कमार्फत नेपाल सरकारको कोषमा १८ अर्ब ४६ करोड रुपैयाँ योगदान गरेको जनाएको छ । २०८२ मंसिर मसान्तसम्म कम्पनीको ग्राहक आधार २ करोड १९ लाख ७९ हजारभन्दा बढी पुगेको छ भने भ्वाइस सेवातर्फ ५४ प्रतिशत बजार हिस्सा कायम रहेको छ ।  

होटेल फरेष्ट इनको आईपीओ बिक्री खुला, २ लाख कित्ता आवेदन दिन मिल्ने

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । 

विकराल बन्दै पाठेघरको मुखको क्यान्सर, नेपालमा हरेक दिन औसतमा चार महिलाको मृत्यु

काठमाडौं । नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको पाइएको छ । महिलाहरूमा सबैभन्दा बढी स्तन क्यान्सरको समस्या देखिए पनि मृत्युदर भने पाठेघरको मुखको क्यान्सरको बढिरहेको छ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरेको छ । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाको यही क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । यो भनेको औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हो । विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ भने सन् २०३० सम्ममा यो दर ७ लाखसम्म पुग्ने अनुमान गरिएको छ । यस्तै, हरेक वर्ष तीन लाख ११ हजार जनाको महिलाको मृत्यु हुने गरेकोमा सन् २०३० सम्ममा चार लाखसम्म पुग्ने अनुमान गरिएको छ ।  डब्लुएचओमा कार्यरत चिकित्सक रोमन रञ्जितका अनुसार ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भाइरस २ सय भन्दा धेरै प्रजातिका छन् । तर मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरू १२ प्रकारका छन् । तीमध्ये सबैभन्दा बढी जोखिम गराउने १६ प्रजाति रहेका छन् । डा. रञ्जित नेपाल लगायत विश्वभर भयावहका रूपमा फैलिएको यो क्यान्सर रोक्न चुनौती भएको बताउँछन् ।  उनी भन्छन्, ‘यसबाट बच्ने उपाय भनेको एचपीभी खोप हो, यो लगाउन सरकारले अभियान नै चलाइरहेको छ । सबै अभिभावकले आफ्ना नानीहरूलाई अनिवार्य लगाउनुपर्छ ।’ डा. नेपाल ३० देखि ३९ वर्ष उमेर समूहका महिलाहरू पनि यसबाट बच्न नियमित जाँच गराउन आवश्यक रहेको बताउँछन् ।  माघ २७ गतेदेखि खोप अभियान सुरु जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंले पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपीभी खोप कार्यक्रम आगामी माघ २७ गतेदेखि फागुन ५ गतेसम्म गर्ने भनेको छ । खोप अभियानमा २३ हजार ७ सय ४६ जना बालिकालाई एचपीभी खोप लगाउने लक्ष्य राखेको छ । यसका लागि काठमाडौंभित्र रहेका १ हजार १ सय ७३ विद्यालयमा खोपकेन्द्र सञ्चालन गर्ने योजना बनाएको छ । यो खोप १० वर्ष उमेरसमूहका किशोरीलाई दिइने कार्यालयले जनाएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख बसन्त अधिकारीले खोप अभियानको सबै तयारी पुरा भइसकेको जानकारी दिए । उनले वडा कार्यालयका जनप्रतिनिधि महिला स्वास्थ्य स्वयंसेविका लगायतसँग मिलेर अभियान सञ्चालन गर्ने योजना रहेको बताए । उनी भन्छन्, ‘हामीले यो अभियान फागुन महिनाबाट सञ्चालन गर्ने योजना बनाएका थियौं तर फागुनमा निर्वाचन हुँदा अगाडि नै कार्यक्रम सुरु गरेका हौं ।’ उनका अनुसार विद्यालय पढ्न बालिकालाई विद्यालयमै र बाहिर रहेका बालिकाको खोजी गरी घरमै पुगेर खोप लगाउने योजना बनाएको छ ।  स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतले काठमाडौंभित्र खोजी गर्दा करिब एक हजार बालिका विद्यालय बाहिर रहेको अनुमान गर्दै उनीहरूलाई घरमै पुगेर खोप लगाउने योजना बनाइएको छ ।