मुस्ताङमा ७ महिनामा ३ लाख २५ हजार बढी पर्यटक भित्रिए
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा ३ लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । गत वर्षको साउनदेखि माघसम्म ३ लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । प्रहरीको तथ्याङ्कअनुसार गत वर्षको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार १७१ जना (५.३३ प्रतिशत) पर्यटक कम भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडक मार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख सङ्कलन गर्ने गरेको छ । पोखरा-जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी एकाइहरूले अभिलेख सङ्कलन गर्ने गरेका छन् । मुस्ताङमा आव २०८०/८१ मा ४ लाख ५४ हजार ३२६ जना र आव २०८१/८२ मा ७ लाख ५ हजार ७७९ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटकको आगमनदर वृद्धि हुँदै गएको हो । मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन् । अन्य राष्ट्रका विदेशी पर्यटक भने बेनी-जोमसोम सडक मार्ग र मनाङ हुँदै थोरङ्लपास क्रस गरी मुस्ताङ भित्रिने गर्छन् । मुस्ताङको कागबेनी धाममा पितृ उद्धारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ । मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् । पछिल्लो समय जोमसोम-कोरला सडक सहज भएपछि उल्लेख्य सङ्ख्यामा स्वदेशी पर्यटक कोरला नाकासम्म पुग्ने गरेका पाइएको छ ।
खोटाङमा पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सुरु
खोटाङ । खोटाङ जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवं डा. अमिताब ठाकुरले जानकारी दिए । ‘म यहाँ आएपछि धेरै महिलाको दुःख देखें । पाठेघरसम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौं वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब त्यो बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौं ।’ अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रोपटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ । अस्पतालमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरू उपचारमा आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालको आफ्नै स्रोत साधन उपयोग गरेर गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए । ‘जिल्लामा स्त्री रोग विशेषज्ञ नहुँदा धेरै महिला रोग लुकाएर तथा बाहिर गएर उपचार गराउनुपर्ने बाध्यतामा थिए । यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट विशेषज्ञ चिकित्सक झिकाएका छौं,’ उनले भने, ‘यो जिल्लाका लागि खुशीको कुरा हो । अब कुनै पनि महिलाले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने छैन ।’ दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म पाठेघरको समस्या भएका महिलाको शल्यक्रिया सेवा उपलब्ध नहुँदा अन्य जिल्ला पठाउने गरिएको थियो । अस्पताल जानेरआउने, उपचार गर्ने, खाने र बस्ने खर्च सम्बन्धित स्थानीय तहले उपलब्ध गराउनेगरी राजधानी लगायतका सुविधायुक्त अस्पतालमा पठाउने गरिएको थियो । हालैमात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले त्यस्ता समस्या भएका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको थियो । दुवै नगरपालिकाले गाडी रिजर्भ गरेर १८/१८ जना महिला तथा एक/एक जना कुरुवालाई बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको थियो ।
एआई असमानता घटाउन माइक्रोसफ्टले ५० अर्ब डलर लगानी गर्ने
काठमाडौं । माइक्रोसफ्टले विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) असमानता घटाउने उद्देश्यले दशकको अन्त्यसम्म ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। बुधबार आयोजित एआई समिटमा कम्पनीले ‘ग्लोबल नर्थ’को तुलनामा ‘ग्लोबल साउथ’मा एआई अपनाउने गति करिब आधा मात्र रहेको र यो अन्तर निरन्तर बढिरहेको बताएको हो । समिटको एक सेसनमा माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथ र प्रमुख जिम्मेवार एआई अधिकृत नताशा क्र्याम्पटन सहभागी थिए । उनीहरूले समयमै आवश्यक कदम नचालिए एआई खाडलले विश्व आर्थिक असमानता अझ गहिरो बनाउन सक्ने चेतावनी दिए । घोषित ५० अर्ब डलर लगानी पाँच प्रमुख क्षेत्रमा खर्च गरिने जनाइएको छ—डिजिटल पूर्वाधार, सीप विकास (स्किलिङ), बहुभाषिक एआई विकास, स्थानीय नवप्रवर्तन, र एआई अपनाउने प्रवर्द्धन । गत आर्थिक वर्षमा माइक्रोसफ्टले ‘ग्लोबल साउथ’का लागि डाटा सेन्टर पूर्वाधारमा ८ अर्ब डलरभन्दा बढी खर्च गरेको थियो, जसमा भारत, मेक्सिको, अफ्रिका, दक्षिण अमेरिका, दक्षिण–पूर्वी एशिया र मध्य–पूर्व समेटिएका छन् । कम्पनी २५ करोड मानिससम्म इन्टरनेट पहुँच पुर्याउने लक्ष्यमा काम गरिरहेको छ, जसमा १० करोड अफ्रिकाबाट हुनेछन् । हालसम्म अफ्रिकामा ११.७ करोड मानिससम्म पहुँच विस्तार भइसकेको कम्पनीले जनाएको छ । डिजिटल स्किलिङअन्तर्गत गत वर्ष २ अर्ब डलरभन्दा बढी लगानी गरिएको थियो । भारतमा २०२५ मा ५६ लाख व्यक्तिलाई तालिम दिएपछि अब २०३० सम्म २ करोड भारतीयलाई एआई सीपले सशक्त बनाउने लक्ष्य राखिएको छ । समिटमा ‘इलिभेट फर एडुकेटर्स’ कार्यक्रम पनि सुरु गरिएको छ, जसअन्तर्गत २ लाखभन्दा बढी संस्थाका २० लाख शिक्षक र ८० लाख विद्यार्थीलाई एआई क्षमतासँग सशक्त बनाइनेछ । अमेरिकी चिप निर्माता क्वालकमले भारतको एआई स्टार्टअप इकोसिस्टमलाई टेवा पुर्याउन १५० मिलियन अमेरिकी डलर (करिब २१७६ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । यो कोष सबै चरणका स्टार्टअपमा लगानी गरिनेछ, विशेषगरी अटोमोटिभ, इन्टरनेट अफ थिङ्स, रोबोटिक्स र मोबाइलसँग सम्बन्धित एआई समाधान विकास गर्ने कम्पनीहरूमा केन्द्रित रहने जनाइएको छ । कम्पनीका सीईओ क्रिस्टियानो आमोनले एआई नयाँ चरणमा प्रवेश गरिरहेको बताउँदै स्मार्टफोन, पीसी, कार तथा औद्योगिक मेसिनजस्ता उपकरणहरूमा प्रत्यक्ष बौद्धिकता समावेश हुँदै गएको उल्लेख गरे । उनका अनुसार एआईले विभिन्न क्षेत्रमा नवप्रवर्तनलाई तीव्र बनाउनेछ र यस प्रक्रियामा भारतको स्टार्टअप इकोसिस्टमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।