होटल व्यवसायी महासंघको अध्यक्षमा टिआर भण्डारी निर्विरोध निर्वाचित

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टी.आर. भण्डारी (शंकर) निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।  अधिवेशनबाट सिंगो कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यटन तथा होटल क्षेत्रलाई अझ प्रतिष्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकता दिने बताए ।  महासंघले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ । पर्यटन क्षेत्रका सरोकारवालाहरूले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।     

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीले लिइरहेका छन् सेवा

काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले स्थापना भएको १२ वर्ष पूरा गरेको छ । सन् २०१४ मा स्थापना भएको कम्पनीले प्रोडक्ट-आधारित तथा कस्टमाइज्ड सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको छ । कम्पनीका अनुसार विधिको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन् । त्यसैगरी, कम्पनीको ईआरपी समाधान निर्माण तथा जलविद्युत् क्षेत्रमा विशेष रूपमा लोकप्रिय बन्दै गएको छ, जहाँ १०० भन्दा बढी कम्पनीहरूले यसको प्रयोग गरिरहेका छन् । निर्माण क्षेत्रमा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्सजस्ता ठूला कम्पनीहरू विधिको ईआरपी प्रणालीका प्रमुख प्रयोगकर्तामा पर्छन् । यस्तै, जलविद्युत् क्षेत्रमा अपर त्रिशूली, भुगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावरजस्ता परियोजनाहरूले पनि विधिका समाधान अपनाएका छन् । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले १२ वर्ष पूरा गर्नु गौरवको विषय भएको बताए । ‘प्रविधिको विकाससँगै व्यवसायहरूलाई प्रविधिमार्फत सहजता प्रदान गर्ने हाम्रो यात्रा १२ वर्ष पूरा भएको छ,’ उनले भने, ‘यस अवधिमा योगदान पुर्‍याउने सम्पूर्ण टिम, ग्राहक तथा साझेदारप्रति आभार व्यक्त गर्दछु ।’ उनले आगामी दिनमा एचआर तथा पेरोल र ईआरपी प्लेटफर्ममा एआई-आधारित सुविधा थप्ने तयारी भइरहेको जानकारी दिए । यसअन्तर्गत पेरोल प्रोसेसिङमा स्वचालन, एआई-आधारित उपस्थिति व्यवस्थापन, कार्यबल विश्लेषण तथा व्यवसायलाई छिटो र प्रभावकारी निर्णय लिन सहयोग गर्ने प्रिडिक्टिभ इनसाइट्स समावेश गरिनेछ । कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य पनि राखेको छ । विधिले आफूलाई नेपालबाट उदाएको प्रविधि नवप्रवर्तनकर्ताका रूपमा स्थापित गर्दै विश्व बजारमा स्केलेबल तथा एआई-समर्थित समाधान प्रदान गर्ने योजना बनाएको जनाएको छ ।     

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्यत् सबस्टेशनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्विस लेन र फुटफाथ निर्माण हुन नसकेको हो ।      सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युत्का पोल हटाउन पटकपटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिए पनि कुनै सुनुवाइ नभएको बताए । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना बनाएर डेडिकेटेड लाइनमार्फत लगेको विद्युत् उपयोग गर्दै आएको छ ।  उक्त स्थानमा विद्युतीय तार भूमिगत गर्न संरचना बनाएबापतको भुक्तानी विमानस्थल कार्यालयबाट नहुँदासम्म विद्युत् पोल हटाउन नसकिने जानकारी प्राधिकरणले दिएको इन्जिनियर कुँवरले बताए । नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले विमानस्थल क्षेत्रमा तार भूमिगत गर्न संरचना तयार भइसकेपनि विमानस्थलले भुक्तानी नदिएसम्म सेवा सञ्चालन गर्न नसकिने उल्लेख गरे ।      विमानस्थलले रु एक करोड ६३ लाख प्राधिरणलाई तिनुपर्ने उनको भनाइ छ । 'विमानस्थलको डेडिकेटेड लाइनलाई भूमिगत संरचनामा लैजाँदाको खर्च प्राधिकरणलाई भुक्तानी भएपछि मात्र भूमिगत सेवा सुरु हुन्छ', उनले भने, 'भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् पोल हट्छन्, सडक आयोजनाले आफैँ पनि हटाउन सक्छ ।'      भूमिगत लाइन सुरु नभएका कारण विमानस्थलमा अहिले पुरानै संरचनाको विद्यत् सेवा सञ्चालनमा छ । प्राधिकरणका इन्जिनियर सुवेदीले विमानस्थल व्यवस्थापनबाट रकम जम्मा गरिदिने आश्वासनमात्र आउने गरेको बताए । 'यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसँग शनिबार पोखरामा छलफल भएको छ, मन्त्रालय तहबाट यसको समाधान हुनेमा हामी आशावादी छौँ', उनले भने ।      निर्माणको भुक्तानी नआएसम्म भूमिगत विद्युतीय लाइन सञ्चालनमा ल्याउँदा पछि कानुनी समस्या पर्न सक्ने भन्दै प्राधिरणले पहिले विमानस्थलले रकम तिनुपर्ने अडान राख्दै आएको छ । कुँडहरचोकबाट विमानस्थल प्रवेशमार्गसम्मको झन्डै एक किमी दूरीमा तार भूमिगत गर्नका लागि प्राधिकरणले संरचना निर्माण गरिसकेको छ । सडक आयोजनाका इन्जिनियर कुँवरले विद्युत् पोलसँगै मापदण्डविपरीतका संरचना शीघ्र हटाउन, खानेपानी पाइप, कटान गरिएका रुखलगायतलाई स्थानान्तरण गर्न सम्बन्धित निकायमा ताकेका गरिएको बताए ।  सडक आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने)को निर्माण चालु आवभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्डविपरीतका संरचना छिटो हटाउनुपर्ने उनको भनाइ छ । उक्त सडकको ठेक्का अवधि तेस्रोपटक थप भई आगामी असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७७ दशमलव ४७ र वित्तिय प्रगति ६२ दशमलव २० प्रतिशत पुगेको छ ।       कुल ३८ दशमलव ७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव २८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६ दशमलव ३२ किमीको सर्विस लेनमा हालसम्म १७ दशमलव ६६ किमी कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए ।       विसं २०७८ माघमा ठेक्का भई विसं २०८० वैशाखदेखि निर्माण सुरु भएको विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्न लागिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्वारबाट पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए । अहिले सिर्जनाचोकबाट सभागृह, पृथ्वीचोक, जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उनको भनाइ छ । रासस