सोपान फर्मास्युटिकल्सको आईपीओ बिक्री खुला, ११ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज वैशाख ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा वैशाख ८  गते र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

नर्भिक हस्पिटलले बुक बिल्डिङमार्फत आईपीओ बिक्री गर्ने, योग्य लगानीकर्तासँग रोड शो गर्दै

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने भएको छ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन प्रक्रियाका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई आशय मूल्य निर्धारणका लागि छलफल गर्न लागेको जनाएको छ । बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार आयोजना हुने उक्त कार्यक्रममा लगानीकर्ताबाट प्रारम्भिक विवरणपत्रमाथि सुझावसमेत संकलन गरिने जनाएको छ । उक्त छलफल कार्यक्रम वैशाख ११ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंको म्यारियट होटलमा आयोजना हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी हुने संस्थागत लगानीकर्ताहरूले धितोपत्र खरिद गर्न चाहेको न्यूनतम संख्या, प्रस्तावित मूल्य तथा मूल्याङ्कनको आधार प्रस्तुत गर्नुपर्नेछ । साथै, प्रारम्भिक विवरणपत्रमा सुझाव भए सो समेत पेश गर्न सकिनेछ । कम्पनीका अनुसार आवश्यक कागजातहरूमा प्रारम्भिक विवरणपत्र तथा पछिल्ला तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण समावेश छन् । उक्त विवरणहरू कम्पनीको वेबसाइट तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको वेबसाइटमार्फत उपलब्ध हुनेछन् । नर्भिक इन्टरनेशनल हस्पिटलले सर्वसाधारणका लागि चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २५ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ । 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैटौँ पटकका लागि आधार शिविरमा

काठमाडौं । १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले जानकारी दिइन् । श्रेष्ठ यसअघि वि.सं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुई हप्ताको छोटो अवधिमा तीन पटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनको नामाङ्कित भएको थियो । १३ दिनभित्रै तीन पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अङ्कित गरिएको उनले जानकारी दिइन् । ‘पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ,’ श्रेष्ठले भनिन् । उनले ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु हिमाल पटक पटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी छन् । आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका-९ आरुटार निवासी हुन् ।