काठमाडौंमा १०औं फर्मा एक्स्पो आयोजना गरिँदै, तयारी अन्तिम चरणमा (तस्बिरहरु)
काठमाडौं । नेपाल औषधि उत्पादक संघले काठमाडौंमा फर्मा एक्स्पो आयोजना गर्ने भएको छ । संघले काठमाडौंको भृकुटीमण्डपमा फागुन २८ देखि ३० गतेसम्म नेपाल फर्मा एक्स्पो २०८२ सञ्चालन गर्ने भएको हो । संघले एक्स्पोको तयारी अन्तिम चरणमा रहेको बताएको छ । औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताको बारेमा जनमानसमा जानकारी दिन विगत ९ वर्षदेखि एक्स्पो सञ्चालन गरिँदै आएको छ । औषधि प्राविधिक र फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको संघले जानकारी दिएको छ ।
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
ढोरपाटन । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ । पछिल्लो समय बिरामी बढ्न थालेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन निर्माण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार सङ्क्रमित बिरामीको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँका स्थानीयमा त्रास फैलिएको बताउँदै घिमिरेले आवश्यक सचेतना अपनाउन सबैलाई आग्रह गरे । कसैमा शङ्कास्पद लक्षण देखा परे तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै उनले सङ्क्रमण रोक्न खोप अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिए । उनका अनुसार पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि इसकेको छ भने १४ जनाको नमुना परीक्षणका लागि राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा स्वाब पठाइएको छ । दशदेखि २० वर्ष उमेर समूहका व्यक्तिमा शङ्कास्पद लक्षण देखिएको घिमिरेले बताए । उनले भने, 'शङ्कास्पद बिरामीको खोजी र उपचारलाई तीव्रता दिएका छौँ । बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा बिरामीहरूको उपचार भइरहेको छ, केही बिरामी उपचारपछि घर फर्किसकेका छन् भने केहीको उपचार जारी छ ।' यही फागुन ८ गते गाउँका केही स्थानमा सङ्क्रमणको लक्षण देखिएपछि स्वास्थ्यकर्मी गाउँमा पुगेर खोजतलास गर्नुका साथै जोखिम पहिचान, सञ्चार तथा स्वास्थ्य सचेतना र उपचार तथा निगरानी बढाइएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए । यस क्षेत्रमा रहेका छ हजार ७६३ जनालाई दादुराविरुद्धको खोप लगाइने उनले बताए । फागुन २९ गतेदेखि आगामी चैत्र १ गतेसम्म यहाँ दादुराविरुद्धको विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख शर्माले बताए । गाउँभरि सङ्क्रमण फैलिएपछि यस क्षेत्रका विद्यालसमेत बन्द गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ । रासस
यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज बुधबार राति दुबई प्रस्थान गर्दै
काठमाडौं । नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मंगलबार एक उडान सूचना प्रकाशन गर्दै बुधबार राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौं आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो । दुबईबाट उडेको आरए २३० (दुबई–काठमाडौं) वाइडबडी बिहीबार बिहान ४ः१० बजे काठमाडौं फर्किने तालिकामा उल्लेख गरिएको छ । अमेरिका–इरान युद्ध सुरु भएपश्चात् रोकिएका यात्रुको उद्धारका लागि १२औँ दिनपछि पहिलोपटक निगमले दुबईमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताए । उनका अनुसार ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्तयाका साथ यात्रुलाई प्राथमिकतामा राखिएको छ । उनले आज राति २७० देखि २८० जना यात्रु दुबई पुग्ने जानकारी दिए । खासगरी दुबईमा उद्धारको पर्खाइमा बसेका यात्रुलाई स्वदेश फिर्ता ल्याउने उद्देश्यले स्पेशल फ्लाइटको व्यवस्था गरिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले उल्लेख गरे । उनका अनुसार आरए २२९ (काठमाडौं–दुबई) बुधबार राति ११ः१५ बजे र आरए २३० (दुबई–काठमाडौं) बिहीबार बिहान ४ः१० बजे स्वदेशका लागि उडान भर्ने तालिका छ । गत २८ फेब्रअरीदेखि ९ मार्च सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुले मात्रै आज राति यात्रा गर्न पाउनेछन् । निगमबाट टिकट पुनः प्रमाणित गराई यात्रा गर्न सूचनामार्फत निगमले सबैमा अनुरोध गरेको छ ।