गौतमश्री सहकारीका सञ्चालक गौतमलाई २ वर्ष कैद राख्ने अदालतको चेतावनी
काठमाडौं । चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक रामबहादुर गौतमको नाममा ७ दिने सार्वजनिक सूचना म्याद जारी गरेको छ । अदालतले तोकिएको अवधिभित्र उपस्थित नभए निवेदकको मागबमोजिम रकम भुक्तानी नभए गौतमलाई २ वर्ष कैदमा राखी फैसला कार्यान्वयन गरिने चेतावनी समेत दिएको छ । निवेदक वादी राजिव श्रेष्ठ र प्रतिवादी रामबहादुर गौतम भएको चेक अनादरमा काठमाडौं जिल्ला अदालतबाट मिति २०८० साल फागुन २९ गते नै फैसला भइसकेको थियो । उक्त फैसला बमोजिम गौतमले तिर्नुपर्ने बिगो रकम ९९ लाख रुपैयाँ र सोको ब्याज समेत भराई पाऊँ भनी वादीले निवेदन दिएका थिए । अदालतको फैसला अनुसारको बिगो बुझाउन नआएपछि वादी राजिव श्रेष्ठले प्रतिवादी गौतमलाई २ वर्ष कैदमा राखी पाऊँ भनी पुनः निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतको आदेशानुसार गौतमको नाममा जारी गरिएको पहिलो ७ दिने सूचना म्याद बेपत्ते तामेल (फेला नपरी) भई आएको थियो । पहिलो म्याद तामेल हुन नसकेपछि अदालतले पुनः मिति २०८२ साल चैत २ गते गरेको आदेशानुसार आज (२०८३ साल जेठ ११ गते) सार्वजनिक सूचना प्रकाशित गरेको हो । सूचनामा भनिएको छ, ‘यो म्याद प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ७ (सात) दिनभित्र यस अदालतमा आफैं उपस्थित हुन आउनु वा आफ्नो कानून व्यवसायी वा आफ्नो वारेश मुकरर गरी पठाउनुहोला । अन्यथा निवेदन माग बमोजिम तपाईँलाई कैदमा राखी फैसला कार्यान्वयन हुनेछ ।’ अदालतले तोकिएको म्यादभित्र उपस्थित नभएमा कानून बमोजिम हुने र पछि कुनै पनि उजुरबाजुर नलाग्ने स्पष्ट पारेको छ ।
धनराजपत्नी ज्योतिलाई अदालतको २१ दिने अल्टिमेटम
काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा जोडिएकी ज्योति गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित हुन ताकेता गरेको छ । अदालतले सार्वजनिक सूचनामार्फत गुरुङलाई आफै वा कानुनबमोजिम प्रतिनिधिमार्फत उपस्थित भई आवश्यक कागजात र प्रमाणसहित प्रतिउत्तर दिन निर्देशन दिएको हो । ताकेता गरेको हो । तोकिएको अवधिभित्र उपस्थित नभए कानुनअनुसार मुद्दाको प्रक्रिया अघि बढ्ने अदालतले जनाएको छ । ‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काइस) दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला,’ सूचनामा भनिएको छ । यो प्रकरण सहकारीको रकम हिनामिनासँग सम्बन्धित छ । मितेरी सहकारीमा ठूलो रकम अनियमितता भएको भन्दै सहकारीका बचतकर्ताले उजुरी दिएपछि विषय सार्वजनिक भएको हो । सहकारीको करिब १२ करोड ५० लाख रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ । उक्त रकम फिर्ताका लागि पटक–पटक पहल गर्दा पनि रकम असुल हुन नसकेपछि कानुनी प्रक्रियामा जानुपरेको सहकारी स्रोतले जनाएको छ । ज्योति गुरुङ लामो समयदेखि मितेरी सहकारीसँग आबद्ध रहँदै आएकी थिइन् । सुरुआतमा बचत संकलनको कामबाट सहकारीमा जोडिएकी उनी पछि व्यवस्थापकीय जिम्मेवारीमा पुगेकी थिइन् । उनी महाप्रबन्धक भएपछि आर्थिक अनियमितता भएको आरोप लाग्दै आएको छ । यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान अगाडि बढाइरहेको छ । अदालतको पछिल्लो सूचनासँगै सहकारी रकम अनियमितता प्रकरण फेरि चर्चामा आएको छ । ज्योति नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पत्नी हुन् । …त्यसपछि सुरु भयो धनराजमाथिको खोजतलास
बागमतिमा परितोषभन्दा रामशरण अगाडि
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालकका लागि शनिबार भएको निर्वाचनमा बागमती प्रदेशमा रामशरण शर्मा घिमिरे अगाडि देखिएका छन् । शनिबार निर्वाचनपछि बागमतीको गणना गर्दा घिमिरेले ७५२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी परितोष पौड्यालले ५८५ मत पाएका छन् । निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा कुल ३ हजार ४९७ मतदाता रहे पनि १ हजार ३३७ मत मात्रै खसेको थियो । अन्य ६ प्रदेशको मतगणना आज साँझ हुने र अन्तिम परिणाम आइतबार सार्वजनिक गरिने जनाइएको छ । पौड्याल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त गठबन्धनका उम्मेदवार हुन् भने घिमिरे स्वतन्त्र अर्थात् बागी उम्मेदवार हुन् । राष्ट्रिय सहकारी बैंकको सञ्चालक चयनका लागि अन्य प्रदेशमा सर्वसम्मत चयन भए पनि बागमतीमा मात्रै प्रतिस्पर्धा भएको हो । बैंकमा देशभरका १६ हजारभन्दा बढी सहकारी संघसंस्था आबद्ध छन् । गत मंसिरमा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभामा ८ हजार ६८९ प्रतिनिधि सहभागी भएका थिए । तिनै प्रतिनिधिमार्फत प्रदेशगत सञ्चालक चयन प्रक्रिया अघि बढाइएको हो । प्रदेशगत प्रतिनिधि संख्याअनुसार बागमतीमा सबैभन्दा बढी ३ हजार ४९७ प्रतिनिधि रहेका छन् । त्यस्तै, कोशीमा १ हजार ३९४, मधेशमा १ हजार १७२, लुम्बिनीमा १ हजार ७८, गण्डकीमा ८४९, कर्णालीमा ४०२ र सुदूरपश्चिममा २९७ प्रतिनिधि रहेका छन् ।