समायोजन रोजेका ७७ हजार मध्ये सरकारले गर्यो २३ हजार कर्मचारी समायोजन
काठमाडौँ । सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ । समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए । उनका अनुसार सङ्घमा १७ हजार २७९, प्रदेशमा दुई हजार ४४८ र स्थानीय तहमा तीन हजार १९० कर्मचारी समायोजन भएका छन् । मन्त्रालयले सचिव, सहसचिवको समायोजन गरिसकेको छ भने उपसचिव, शाखा अधिकृत र अन्य कर्मचारीको समायोजन गरिरहेको छ । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेर सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्ने प्रक्रिया शुरु गरेको थियो । सहसचिव पनेरुले परराष्ट्र, संसद्, लेखा परीक्षण र न्याय सेवा समूहका सबैमा समायोजन गरिसकेको बताए । उनले वाँकी रहेका कर्मचारीको समायोजन दैनिकरुपमा भइरहेको जानकारी गराए । रासस
१२ हजार शाखा अधिकृतको समायोजन, कृषि, वन, स्वास्थ्य र इञ्जिनियर सेवाको बाँकी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो । यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो । मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो । प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनीयर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।
लोक सेवाको तयारी गर्दैँ हुनुहुन्छ ? ‘समायोजन लगत्तै १५ देखि २० हजारसम्म नयाँ भर्ना खुल्छ’
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ औँ आधारभूत प्रशासन प्रशिक्षणको समापन समारोहमा उहाँले समायोजन प्रक्रिया सकिएलगतै नयाँ कर्मचारी भर्ना शुरु गरिने बताए । ‘‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ’’ उनले भने, ‘‘समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना शुरु हुनेछ ।’’ मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसद्बाट सर्वसम्मत रुपमा पारित भएको भन्दै अब यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने बताए । उनले प्रशासनमा भएको विसङ्गति र विकृति पूर्णरुपमा हटाउनेसमेत बताए । उनले मन्त्रालयका सबै काम प्रविधिबाट समेत गर्ने बताए । ‘‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु’’ उनले भने, ‘‘सरुवा प्रणाली पनि सफट्वेयरबाट विकास गर्न लागेको छु ।’’ मन्त्री पण्डितले प्रविधिको प्रयोग गरेर निष्पक्षतापूर्वक जिम्मेवारीअनुसार काम सम्पन्न गर्नेलाई पुरस्कृत र अल्छी मान्नेलाई दण्ड सजाय दिने बताए । उनले मुलुक परिवर्तन भएसँगै कर्मचारीमा पनि परिवर्तन हुनुपर्ने बताए । ‘‘मुलुकमा भएको परिवर्तन कर्मचारीमा परिवर्तन हुनुपर्दछ । अहिले मुलुक सङ्घीयतामा गएको छ । कर्मचारी पनि सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा जानुपर्दछ’’ उनले भने । नवनियुक्त कर्मचारीलाई हसिलो मुहार भएर राष्ट्र सेवामा लाग्न समेत आग्रह गर्नुभयो । उनले राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताए । मन्त्री पण्डितले कर्मचारीलाई अनुशासन र जिम्मेवारी बनाउने गरी नयाँ कानूनमा प्रस्ताव ल्याएको समेत जानकारी गराए । कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक ईश्वर नेपालले तालीममा सिकेका आचरण र व्यवहार आफनो कार्यक्षेत्रमा राम्रोसँग लागू गर्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले तीन महीनामा सिकेका कुरालाई व्यवहारमा उतारेर जनतालाई सेवा दिनुपर्ने बताए । उक्त प्रशिक्षणमा १७२ जनालाई नवनियुक्त अधिकृत सहभागी रहेका थिए । कार्यक्रममा मन्त्री पण्डितले ती नवनियुक्त अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।