अल्पायुमै साहित्यकार अप्सराको निधन
हेटौंडा । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर कविता र कथा प्रकाशित गरेकी तिम्सिनाको ‘नदी किनाराका आभास’ कविता सङ्ग्रह र ‘अभ्यन्तर’ कथा सङग्रह प्रकाशित छन् । उनी आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष थिए उनको निधनले मकवानपुरको साहित्य क्षेत्रमा ठूलो क्षति भएको साहित्यकारले बताएका छन् । “लामो समयदेखि साहित्य क्षेत्रमा लाग्नुभएकी तिम्सिनाले साहित्य क्षेत्रमा दुई वटा गहकिला पुस्तक र सयौँ कथा कविता छोडेर अल्पायुमा बिदा हुनुभयो”, सहकर्मी साहित्यकार भावना तिम्सिनाले भने । उनको निधन पत्याउनै नसकिने दुखद् घटना भएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । उनको आजै गोरक्षेश्वर घाट हेटौँडामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस
कस्तो होला तारा अधिकारीको मायाको घर ?
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत मायाको घर… बजारमा आएको छ । उनको शब्द रचनाको गीतमा स्वर प्रमोद खरेल र संगीत उमेशराज खड्काको छ । गीतमा संगीत संयोजन किरण कँडेलको छ । गीतको भिडियोमा मरिस्का पोखरेल, कुशल अधिकारी र दिनेश बुढाथोकीलाई देख्न सकिन्छ । भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई शिव ढकालले खिचेका हुन् । भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । चन्द्र बिनायक फिल्म्समा भिडियोको पोष्ट प्रोडक्सनको काम भएको छ । गीतकार अधिकारीको यो गीत सपना एल्बममा समावेश छ । गीत लेख्नु सौख भएको बताउँदै गीतकार अधिकारीले एल्बम भने अन्य गीतहरुको रेकर्डिङ सकिएपछि ल्याउने बताईन् । यो उनको दोस्रो गीत हो ।
लोकदोहोरी क्षेत्रका पाँच कलाकार सम्मानित
लमजुङ । लोकदोहोरी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत पाँच जना कलाकारलाई यहाँ सम्मान गरिएको छ । शनिबार बेँसीशहरमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा लमजुङको सातौँ अधिवेशन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा माया गुरुङ, विमाकुमारी दुरा, अनुज अधिकारी, प्रशान्त तामाङ र प्रिती गिरी रहेका छन् । प्रतिष्ठान केन्द्रीय प्रथम उपाध्यक्ष तथा गायक पशुपति शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेको हो । सो अवसरमा उपाध्यक्ष शर्माले कलाकारिता क्षेत्रको विकास, विस्तार र उन्नयनमा सम्बन्धित सबै पक्ष इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी, नगरप्रमुख अर्यालले कलाकारले गीतमार्फत समाजलाई परिवर्तन गर्नसक्ने भएकाले सोही अनुरुपको गीत गाउनुपर्ने बताउँदै कलाकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले सहयोग गर्ने धारणा व्यक्त गरेका हुन् । यसैगरी, प्रतिष्ठानको सातौँ अधिवेशनले अनुज अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा टसबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा शर्मिला थापा, प्रथम महिला उपाध्यक्षमा प्रिती गिरी, सचिव प्रशान्त तामाङ, कोषाध्यक्ष पूजा गुरुङ, सहसचिव सबिन गुरुङ र सहकोषाध्यक्षमा लक्ष्मी तामाङ सर्वसम्मत रुपले चयन भएको प्रतिष्ठानले जनाएको छ । रासस