चितवनकाे सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालन
काठमाडौं । चितवनको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा आएको छ । भरतपुर हाइटस्थित सिजी ल्यान्डमार्कमा यही शुक्रबारबाट सञ्चालनमा आएको हो । सिनेप्लेक्सका सञ्चालक कमल चौधरीले अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन भएको र स्क्रिन १ मा १४३, २ मा २१९ सिट रहेको जानकारी दिएका छन् । साथै, चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले बताए ।
‘हिमालय रोडिज सिजन ३’ फेरि शुरु
काठमाडौं । हिमालय रोडिज सिजन ३– ब्लड, स्वुएट एण्ड टियर्सले पुनः फर्कने तयारीमा रहेको छ । मंसिर ३० गतेदेखि हरेक सोमबार राति ८ बजे हिमालय टिभि एचडिमा प्रसारण हुँदैछ । भारतीय फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपाली युवाहरुमाझ अत्यन्त लोकप्रिय रहेको र उनीहरुले प्रतिक्षा गरेको टिभि शो हो । भोट, भित्रिने र बाहिरिने, खेल बदलिदिने मोड, सहभागीहरुबीचको घम्साघम्सी, साहसिक, उत्तेजना आदिका साथ शोले पक्कै पनि दर्शकहरुलाई आफ्नो सीटमा बाँधिएर बस्न बाध्य गराउनेछ । यो सम्पूर्ण नयाँ सिजनको संचालन रेमण्ड दास श्रेष्ठले गर्ने भएका छन् । उनको साथमा दीया मास्के, आशिष राना “उर्फ लाहुरे“ जोडिनेछन् भनें नयाँ ग्याङ लिडरहरु अनुप विक्रम शाही र सिजन १ का विजेता समन श्रेष्ठले पनि यो सिजनमा उपस्थिति जनाउने भएका छन् । यसले रोडि उपाधि नगद पुरस्कारका साथमा युवाहरुले आफूलाई निर्भयपूर्वक प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्दछ ।“ हिमालय रोडिज ३ का निर्देशक श्री अमन अधिकारीले भने । सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिज सवार गरेर हासिल गरेको थियो । यो सिजन ३ मा पनि निरन्तर रहनेछ । यामाहा एफ जेड सिरिजले रोडिजहरुलाई रोमाञ्चक कार्यमा सहयोग पु¥याउनेछ जसलाई उनीहरुले पार गर्नेछन् ।
१२ बर्षको खोज र अनुसन्धान पश्चात ‘सूर्य चारै दिशाबाट उदाउँछ’ पुस्तक सार्वजनिक
काठमाडौं । कमलकुमार रिजालद्वारा लिखित ‘युनिक डिस्कभरी इन युनिभर्स’ नामक अनुसन्धानपरक पुस्तक सार्वजनिक गरिएको छ । गत आईतवार एक कार्यक्रमकावीच प्रज्ञाप्रतिष्ठान कमलादीमा नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले उक्त पुस्तकको सार्वजनिक गरेका हुन् । पृथ्वीको उत्पत्ति, मानव जातिको विकासक्रम, ग्रहहरुको उत्पत्ति र सूर्य उदय तथा अस्त लगायतका विषय समेटिएको पुस्तक बैज्ञानिक खोजमा आधारित रहेको लेखक कमल कुमार रिजालको भनाई छ । पुस्तकले मुलत सूर्य पूर्वबाट मात्र उदाउँछ भन्ने मान्यतालाई चुनौति दिएको छ । ‘युनिक डिस्कभरी इन युनिभर्स’का अनुसार सूर्य चार वटै दिशाबाट उदाउने गर्छ । सदियौं देखि पूर्वबाट सूर्य उदाउँछ भन्ने मान्यता भन्दा फरक दृष्टिकोण राखेर लेखिएको पुस्तक ‘युनिक डिस्कभरी इन युनिभर्स’ नेपाली पाठकहरुका लागि मात्र नभएर विश्वभर खगोलिय अध्ययन गर्नेहरुका लागि नितान्त नयाँ विषय हुनेछ । पुस्तक लोकापर्ण कार्यक्रममा काग्रेस उपसभापति विजय गच्छदारले सूर्य पूर्वबाट मात्र नउदाउने भन्ने कुरा सुन्दा आफूलाई अनौठो लागेको बताए । तर उनले खोज र अनुसन्धानहरुले पूर्ववत मान्यताहरुलाई भत्काउने हुँदा ‘युनिक डिस्कभरी इन युनिभर्स’ ले निक्र्याेल गरेको खोजले पनि नयाँ तथ्य स्थापित गर्ने विश्वास व्यक्त गरे । लेखक रिजालका अनुसार ‘युनिक डिस्कभरी इन युनिभर्स’ १२ बर्षको खोज र अनुसन्धान पश्चात लेखिएको हो ।