प्युठानका ठूला पाँच योजनाको काम गर्न अनुमति
झिमरुक । लकडाउनका समयमा रोकिएका जिल्लाका महत्वपूर्ण विकास आयोजनाका काम पुनः शुरु भएका छन् । कोभिड –१९ को संक्रमणको सम्भावना रहेको भन्दै रोकिएका विकास आयोजनाका काम संक्रमण नियन्त्रणका लागि तोकिएका मापदण्डको पूर्ण पालन गरी पुनः शुरु गर्न प्रशासनले अनुमति दिएको हो । जिल्लाको दरभान– झिलिवाङ हुँदै ऐरावतीसम्म पुग्ने मोटरबाटोमा ६ किलोमिटर ग्राभेल गर्ने र बाँकी साधारण मार्ग खोल्ने योजनाको काम शुरु भएको छ । सात करोड बराबरको बजेटमा आर्थिक वर्ष २०७३/७४ मा सडक स्तरोन्नति योजना समयमै सम्पन्न हुन नसक्दा काम लम्बिएको हो । यो आयोजना आगामी असार मसान्तमा सम्पन्न हुने गरी काम अघि बढाइएको एडी बिल्डर्सका प्रतिनिधि इराजन घिमिरेले बताए । अहिलेसम्म करीब ८७ प्रतिशत काम सकिएको उनले भने । ग्राभेलको काम सकिएको र करीब एक लाख ६० हजार घनमिटर माटो कटाइमध्ये ३० हजार घनमिटर मात्र काम बाँकी रहेको उनको भनाइ छ । सडकमा नाला, ग्याबिन भर्ने र पर्खाल लगाउने काम सकिएको छ । झिमरुक तटबन्धन शुरु दरभानदेखि ऐरावतीको दूरी करीब १७ किलोमिटर छ । जाबुनेसम्म ट्रयाक खोल्ने काम सकिएको छ । तीन किलोमिटर बाँकी ट्रयाक खोलेर ऐरावतीसम्म मोटरबाटो पुग्ने बताइएको छ । यस्तै प्युठान नगरपालिकाभित्र पर्ने झिमरुक फाँटमा रहेको खेतीयोग्य जमीन जोगाउन स्थानीय सरकार र निर्माण व्यवसायीको पहलमा झिमरुक तटबन्धनको काम पनि शुरु भएको छ । समितिले अनुमति दिएसँगै नगरक्षेत्रका खप्रेङ्खोला, बाग्दुला, विजुवार र बेलुवा क्षेत्रमा तीन प्याकेजबाट काम शुरु भएको हो । जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्युठानको करीब आठ करोड बजेटबाट काम गरिएको निर्माण कम्पनी जोशी, मल्लरानी, आँशु निर्माण कम्पनीका प्रतिनिधि बालाजु श्रेष्ठले बताए । लकडाउन हुनुपूर्व ४० प्रतिशत काम भए पनि करीब एक महिनापछि ६० प्रतिशत बाँकी काम शुरु गरिएको श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामग्रीसहित विभिन्न ठाउँमा ३० ज्यामीलाई काममा लगाएको उनको भनाइ छ । गृह मन्त्रालयले प्युठानका ठूला पाँच योजनाको काम गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर भालुवाङ्खदेखि बाग्दुलासम्मको सडक, लुङ खोलाको पुल, सुख्खा खोला पुल र झिमरुक नदीका दुई पुलका योजनामा अनुमति दिइएसँंगै काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । योजना सम्पन्न गर्न सहजीकरण गर्ने, सम्बन्धित योजना प्रमुखले स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्नेगराउने, सम्बन्धित स्थानीत तहका प्रमुखले त्यसको अनुगमन गर्ने र जिप्रकमार्फत कामको सहजीकरण गरिने भएको प्रजिअ पन्थले जानकारी दिए । रासस
अमेरिकी आइडलको टप १० मा दिवेश पोखरेल
काठमाडौं । अमेरिकन आइडलको १८ औं सिजनको टप १० मा नेपालका दिवेश पोखरेल पर्न सफल भएका छन्। टप २० जनाबाट धेरै भोट पाएर पोखरेल टप १० भित्र पर्न सफल भएका हुन्। काठमाडौंमा हुर्किएर उच्च शिक्षाको क्रममा आमाबुबासँगै अमेरिका बस्दै आएका दिवेशले अमेरिकन आइडलको १८ औं संस्करणमा दमदार प्रस्तुति दिइरहेका छन्। पोखरेल विगत लामो समयदेखि परिवारसहित अमेरिका बस्दै आएका पोखरेल ‘आर्थर गन’ को नामबाट अमेरिकन आइडलमा प्रख्यात छन् । यसअघि नेपाली भाषामै भोट अपील गर्दै उनले भनेका थिए, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरूको भोटको आवश्यकता छ। अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक भएका उनलाई टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सकिनेछ।
सोमबारदेखि ‘कथा खरर, मन हरर……’ सुरु
काठमाडौं । थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर…’ सुरु गर्दैछ । लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेको यी नाट्य संस्थाले ‘बालबालिकाहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने भावमा उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो । बालबालिकाहरु कथा पढ्न, सुन्न र सुनाउन साह्रै मन पराउने भएकोले लकडाउनमा बालबालिकाको समय सिर्जनशील र उर्जावान बनाउन ‘कथा खरर, मन हरर’ आयोजना गर्न लागिएको हो । ‘कथा खरर, मन हरर’ बालकोसेली नानीबाबुको युट्युव च्यानलमा वैशाख २२, सोमबारदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुँदैछन् । ‘‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’’ थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौ ।’’ त्यस्तै कार्यक्रमका सह निर्माता प्रशुन सिन्धुलियले बालबालिकाले कता सुनाएको भिडियो [email protected] मा पठाउन पनि अनुरोध गरेका छन् । साथै कार्यक्रमको उदघोषण गर्न चाहने बालबालिकाले पनि सम्पर्क गर्न सक्ने उनले जनाए ।