रास्वपाको नौलो सुरुवात : मतदातासँग करार, ७ गते कर्णालीबाट वाचापत्र सार्वजनिक गरिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी अभियानमा नयाँ अभ्यासको सुरुवात गरेको छ । पार्टीले मतदातासँग करार गर्ने अवधारणा अघि सारेको हो । जसअन्तर्गत उम्मेदवार र मतदाताबीच स्पष्ट प्रतिवद्धता र जवाफदेहिताको सम्बन्ध स्थापित गर्ने दाबी रास्वपाले गरेको छ । पार्टीका सभापति रवि लामिछानेले आइतबार (आज) सामाजिक सञ्जालमार्फत उक्त करारपत्र सार्वजनिक गर्दै यसलाई परम्परागत घोषणापत्रभन्दा फरक अभ्यास भएको बताएका छन् । उनका अनुसार निर्वाचनमा जितेपछि गर्ने काम, समयसीमा, प्राथमिकता र सार्वजनिक प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रियासमेत करारपत्रमा उल्लेख गरिएको छ । रास्वपाले सार्वजनिक गरेको करारपत्रमा सुशासन, पारदर्शिता, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार तथा नागरिक सहभागितालाई मुख्य प्राथमिकतामा राखिएको छ । करारअनुसार निर्वाचित प्रतिनिधिले निश्चित समय अन्तरालमा कार्यप्रगति सार्वजनिक गर्नुपर्ने, प्रतिबद्धता पूरा नभए स्पष्टीकरण दिनुपर्ने र आवश्यक परे जनतामाझ पुनः विश्वासको मत लिनेसम्मको नैतिक जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख छ । पार्टीका कोषाध्यक्ष लिमा अधिकारीका अनुसार यो अभ्यासले निर्वाचनपछि पाँच वर्षसम्म जनप्रतिनिधि सम्पर्कविहीन हुन्छन् भन्ने आलोचनालाई अन्त्य गर्ने विश्वास गरिएको छ । मतदाताले आफ्नो प्रतिनिधिसँग प्रत्यक्ष सरोकार राख्ने, वाचा कार्यान्वयन भए/भएको अनुगमन गर्ने र आवश्यक परे सार्वजनिक दबाब सिर्जना गर्ने आधार तयार हुने दाबी अधिकारीको छ । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा रास्वपाले अघि सारेको यो मतदाता–प्रतिनिधि करार अवधारणाले अन्य दलहरूलाई पनि आफ्नो प्रतिबद्धता स्पष्ट पार्न दबाब दिने संकेत देखिएको छ । कोषाध्यक्ष अधिकारीका अनुसार करार पत्रमा समेटिएका विषय सहित रास्वपाले आफ्नो वाचापत्र फागुन ७ गते गर्नेछ । ‘फागुन ७ गते कर्णालीबाट वाचापत्र सार्वजनिक गरिने छ,’ अधिकारीले भनिन्, ‘जे बोल्छौं त्यही गर्छौं, जे गर्छौं त्यही लेख्छौं । सोही आधारमा तयार पारीएको वाचापत्र फागुन ७ गते सार्वजनिक गर्छौं ।
विश्वप्रकाश शर्माको दाबी– बदलिएको कांग्रेस बहुमतको नजिक
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दिशातर्फ अग्रसर रहेको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले देशव्यापी रूपमा कांग्रेसप्रति सकारात्मक जनलहर देखिएको जिकिर गरे । उनले पछिल्लो समय विभिन्न जिल्लाबाट नयाँ अनुहारहरू पार्टीमा आबद्ध भइरहेको उल्लेख गर्दै यसले कांग्रेसप्रतिको भरोसा बढ्दै गएको संकेत गरेको बताए । ‘अहिलेकै अवस्थाले कांग्रेस सबैभन्दा ठूलो दल बन्ने निश्चित देखिन्छ,’ उनले भने । यही गतिमा जनमत विस्तार हुँदै जाँदा आगामी एक हप्ताभित्रै कांग्रेस बहुमतको तहमा पुग्ने आधार तयार हुने शर्माको दाबी रहेको छ । शर्माले कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनमुखी कार्यक्रममार्फत आफूलाई बदलिएको शक्तिका रूपमा प्रस्तुत गरिरहेको दाबी गरेका छन् । उनले विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने प्रयास तीव्र बनाइएको बताए । उनका अनुसार आसन्न निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा नभई देशको स्थायित्व, सुशासन र आर्थिक पुनरुत्थानको दिशामा जनमत प्राप्त गर्ने अवसर हो । जनताले अब स्थिर सरकार र परिणाममुखी नेतृत्व खोजिरहेका छन् । उनले भने, ‘कांग्रेस त्यही अपेक्षाको केन्द्रमा छ ।’ उपसभापति शर्माले पार्टीका नेता–कार्यकर्तालाई घरदैलो अभियान, मतदाता संवाद र नीतिगत बहसलाई तीव्र बनाउन निर्देशन दिँदै संगठनात्मक एकता कायम राख्न आग्रह गरे । उनले लोकतान्त्रिक मूल्यमान्यताको रक्षा, अवसरको समान वितरण र सुशासनलाई कांग्रेसको मुख्य एजेन्डा बनाइने पनि स्पष्ट पारे ।
निर्वाचन प्रचार–प्रसारका लागि १५ दिनको समयसीमा तोकियो, आचारसंहिताको पूर्ण पालना गर्न आग्रह
काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो । आयोगका अनुसार २०८२ फाल्गुन ३ गते राती १२ बजेपछि अर्थात् फाल्गुन ४ गतेदेखि शुरु हुने यो प्रचार अवधि फाल्गुन १८ गते राति १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनका अनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । सञ्चारकर्मीहरूसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको छ ।