समानुपातिकतर्फ रास्वपाले १७ लाख कटायो मत

काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ करिब ३३ लाख मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म ३२ लाख ९३ हजार ९४५ मत गणना भइसकेको छ ।  गणनाको पछिल्लो तथ्यांकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट अग्रस्थानमा देखाएको छ । रास्वपाले कुल गणनाको ५० प्रतिशत अर्थात् १७ लाख ४१ हजार १५३ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ५५ हजार ९०० मत प्राप्त गरेको छ भने नेकपा एमाले ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा रहेको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ लाख २५ हजार ७८१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख १९ हजार ७६७ मत पाउँदै पाँचौं स्थानमा रहेको छ । अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ६८ हजार ८४६ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फको मतगणना अझै जारी रहेको आयोगले जनाएको छ । आगामी मतपरिणामसँगै दलहरूको स्थानमा थप परिवर्तन आउन सक्ने सम्भावना रहेको छ ।

दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी

काठमाडौं । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत ल्याएका छन् ।  रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाए । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११ जना चुनावी मैदानमा रहेका थिए । दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो । यहाँ ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् । 

बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारु निर्वाचित

काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतअन्तरले हराए । निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सन्जय कुमार गौतमले १२ हजार ७२२ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन् ।