युवासंघको अध्यक्षमा महाराज मनोनित
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । शुक्रबार बसेको केन्द्रीय परिषद् बैठकले गुरुङ लाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । युवा संघ नेपाल नेकपा एमाले सम्वद्ध युवाहरूको संगठन हो । संघका अध्यक्ष क्षितिज थेवे एमाले केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि उनले संघको नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका थिए । एमालेको संगठनात्मक परम्पराअनुसार माथिलल्लो कमिटीमा वा जनवर्गीय संगठनबाट पार्टीमा निर्वाचित भएपछि तल्लो तहको वा जनवर्गीय संगठनको पद स्वतः रिक्त हुने व्यवस्था छ । संघको पछिल्लो महाधिवेशनबाट लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थेवे ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका छन् । नवनियुक्त अध्यक्ष गुरुङ यसअघि संघको उपाध्यक्ष हुन् । उनी पनि महाधिवेशनमार्फत दोस्रो कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएका थिए । दोलखा निवासी गुरुङले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । अनेरास्ववियु हुँदै युवा आन्दोलनमा सक्रिय भएका उनले राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी सदस्यका रूपमा संगठनमा प्रवेश गरेका थिए ।
गण्डकी : एमालेलाई लोकप्रिय मत प्रत्यक्ष सिटमा बदल्ने चुनौती, प्रत्यक्ष जित जोगाउने रणनीतिमा कांग्रेस
काठमाडौं । गण्डकी प्रदेशले २०७९ को आमनिर्वाचनमार्फत एक सन्देश दिएको थियो– लोकप्रिय मत र प्रत्यक्ष सिटको गणित सधैं एउटै दिशामा हिँड्दैन । तीन वर्ष नबित्दै मुलुक मध्यावधि निर्वाचनको संघारमा पुग्दा त्यही असन्तुलन, नयाँ दलको उदय र गठबन्धन राजनीतिले दिएको संकेत २०८२ को चुनाव बुझ्ने आधार बनेको छ । राजनीतिक अस्थिरता र जनअसन्तोषको यो समय गण्डकीका दलहरूका लागि यो चुनाव केवल चुनाव मात्रै होइन, अस्तित्व र विश्वसनीयताको परीक्षासमेत बनेको छ । आमनिर्वाचन सम्पन्न भएको तीन वर्ष नबित्दै देश मध्यावधि निर्वाचनतर्फ उन्मुख हुनु आफैमा असाधारण राजनीतिक परिघटना हो । यही अस्थिरता, सरकारप्रतिको असन्तोष र परिवर्तनको चाहनाले गण्डकी प्रदेशमा दलहरूलाई नयाँ रणनीति बनाउन बाध्य बनाएको छ । गण्डकीमा जम्मा १८ निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा धेरै कास्कीमा तीन निर्वाचन क्षेत्र रहेका छन् । स्याङ्जा, बागलुङ, नवलपुर, तनहुँ र गोरखामा दुई–दुई निर्वाचन क्षेत्र छन् । त्यसबाहेक लमजुङ, मनाङ, पर्वत, मुस्ताङ र म्याग्दीमा एक–एक निर्वाचन क्षेत्र रहेका छन् । यस प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा महिला ९ लाख ५५ हजार ५१६, पुरुष ९ लाख १४ हजार ५३४ र अन्य १४ मतदाता रहेका छन् । ०७९ मा लोकप्रिय मत र प्रत्यक्ष सिट २०७९ को आमनिर्वाचनमा गण्डकी प्रदेशमा लोकप्रिय मतको आधारमा सबैभन्दा ठूलो दल नेकपा एमाले बनेको थियो । एमालेले समानुपातिकतर्फ ३ लाख २४ हजार ८८२ मत प्राप्त गरेको थियो । तर प्रत्यक्षतर्फ भने उसले जम्मा ५ सिटमा मात्र चित्त बुझाउनु परेको थियो । लोकप्रिय मतमा पहिलो भएर पनि प्रत्यक्षतर्फ कमजोर प्रदर्शन हुनु एमालेका लागि गम्भीर आत्ममूल्यांकनको विषय बन्यो । गठबन्धनको प्रभाव, उम्मेदवार चयनमा कमजोरी र केही क्षेत्रमा आन्तरिक असन्तुलन यसका प्रमुख कारण मान्दै एमालेले ती गल्ती नदाहोराउने प्रण त्यतिखेरै गरेको थियो । दोस्रो ठूलो लोकप्रिय मत नेपाली कांग्रेसले प्राप्त गरेको थियो । कांग्रेसले ३ लाख १२ हजार ७२० मत पाएको थियो । लोकप्रिय मतमा दोस्रो भए पनि प्रत्यक्षतर्फ भने कांग्रेस सबैभन्दा अगाडि रहँदै १० जना प्रतिनिधि सभा सदस्य गण्डकीबाट पठाउन सफल भएको थियो । पाँचदलीय गठबन्धनको लाभ, स्थानीय प्रभाव भएका उम्मेदवार र मध्यमार्गी मतदाताको समर्थन त्यतिबेला कांग्रेसको बलियो पक्ष बनेको थियो । २०७९ को सबैभन्दा रोचक पक्ष भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय थियो । प्रत्यक्षतर्फ कुनै सिट जित्न नसके पनि रास्वपाले १ लाख ७७ हजार २५ मत ल्याउँदै गण्डकी प्रदेशमा तेस्रो लोकप्रिय शक्ति बनेको थियो । जन्मिएको चार महिनामै यस्तो परिणाम ल्याउनु रास्वपाका लागि ऐतिहासिक उपलब्धी थियो । यस्तै, तत्कालीन नेकपा माओवादी केन्द्रले १ लाख ८ हजार ४६७ मत प्राप्त गर्दै चौथो शक्ति बन्न पुगेको थियो । लोकप्रिय मत घट्दो क्रममा रहे पनि माओवादीले गण्डकीमा २ वटा प्रत्यक्ष सिट जित्न सफल भएको थियो । के भन्छन् दलहरू ? यो निर्वाचनमा प्रदेशको सवैभन्दा ठुलो दल एमाले लोकप्रिय मतलाई प्रत्यक्ष सिटमा बदल्ने चुनौतीमा रहेको छ । २०८२ को निर्वाचनमा नेकपा एमाले सबै दल एक्लाएक्लै मैदानमा उत्रिनुबाट सबैभन्दा बढी फाइदा लिने दाउमा देखिन्छ । २०७९ मा गठबन्धनका कारण रोकिएको एमालेको विस्तार अब सम्भव हुने उसको ठम्याइ छ । एमालेका प्रद्रेश अध्यक्ष नवराज शर्माका अनुसार एमालेको मुख्य आधार भनेको गण्डकीका ग्रामीण र सहरी क्षेत्रमा बलियो संगठन र स्थानीय तहमा लामो समयदेखि कायम प्रभाव हो । शर्माले स्थिर सरकार र विकासको राजनीतिक सन्देशसहित एमाले गण्डकीको चुनावमा होमिएको जानकारी दिए । एमाले नेतृत्व २०७९ को कमजोरी दोहोरिन नदिने तयारीमा देखिन्छ । उसले उम्मेदवार चयनदेखि स्थानीय मुद्दासम्म केन्द्रित रणनीति बनाएको शर्माले बताए । राजनीतिक विश्लेषकहरूका अनुसार यदि एमालेले आन्तरिक विवाद नियन्त्रण गर्न र स्थानीय रूपमा कार्यकर्तालाई एकढिक्का पार्न सक्यो भने लोकप्रिय मतको आधारमा प्रत्यक्ष सिट उल्लेखनीय रूपमा बढ्न सक्छ । गण्डकीमा कांग्रेस प्रत्यक्ष जित जोगाउने र लोकप्रिय मत विस्तार गर्ने रणनितिमा रहेको छ । नेपाली कांग्रेस २०८२ को निर्वाचनमा फरक मनोविज्ञानसहित मैदानमा उत्रिएको बताउँछन् प्रदेश सभापति शुक्रराज शर्मा । विशेष महाधिवेशनपछि पार्टीले अपेक्षाकृत युवा नेतृत्व पाएको र युवा उम्मेदवारसहित मैदानमा उत्रिएकोले कांग्रेसले यो निर्वाचनलाई अनुकूलतामा परिणत गर्ने शर्माले दाबी गरे । नेतृत्व परिवर्तनको सकारात्मक प्रभाव चुनावी परिणाममा देखिने उनको विश्वास छ । तर चुनौती पनि कम छैनन् । गठबन्धन बिना चुनाव लड्दा २०७९ जस्तो सहजता नहुने र एमाले र रास्वपाबाट दोहोरो दबाब पनि कांग्रेसलाई पर्ने देखिन्छ । सभापति शर्माका अनुसार कांग्रेसको शक्ति अझै पनि प्रत्यक्ष चुनावी प्रणालीमै केन्द्रित देखिन्छ । स्थानीय तहमा जरा गाडेका नेताहरू कांग्रेसका मुख्य अस्त्र हुन् । यता आफूलाई नयाँ दल भने पनि अब रास्वपा नयाँ दल होइन । यस चुनाववाट लोकप्रिय मतसहित सत्ता नजिक पुग्ने संघर्षमा रास्वपा रहेको छ । संसद प्रवेश, सरकारमा सहभागिता र राजनीतिक अभ्यासपछि रास्वपा परीक्षणको चरणबाट मूल्यांकनको चरणमा पुगेको छ । रास्वपाको मुख्य आधार भनेको सुशासन र भ्रष्टाचारविरोधी एजेण्डा भएकोले सहरी तथा युवा मतदाता पार्टीको मुख्य आधार भएको केन्द्रीय सदस्य शिव नेपालीको धारणा छ । प्रदेश अध्यक्ष राजन गौतम पुराना दलप्रतिको वितृष्णासँगै पार्टीको सुशासन प्रतिको अडान नै मतदाता आकर्षित गर्ने स्रोत रहेको बताउछन् । गौतमका अनुसार गतसाल स्थापनाको केही महिनामा नै प्रदेशमा तेस्रो लोकप्रिय मत प्राप्त गर्न सफल भएकोले त्यसैलाई आधार बनाउदै अझ उचाइ छुने रणनीतिमा रास्वपा रहेको छ । तर प्रत्यक्ष चुनावमा जित निकाल्न संगठनात्मक कमजोरी र ग्रामीण क्षेत्रमा पहुँचको अभाव रहेको बुझिन्छ । नेकपा भने वाम एकीकृत धारसहित पुनरुत्थानको प्रयासमा रहेको केन्द्रीय सदस्य नीलकण्ठ तिवारीको दाबी छ । दुई वाम दलसहित साना समूहलाई एकाकार गरेर बनेको नयाँ कम्युनिष्ट धारले २०८२ लाई पुनरुत्थानको चुनावका रूपमा चित्रित गरिरहेकोले पार्टी यस प्रदेशमा गर या मरको तवरबाट निर्वाचनमा होमिएको तिवारीले बताए । २०७९ मा चौथो भएर पनि माओवादी धारले गण्डकीमा आफ्नो आधार पूर्ण रूपमा नगुमाएको तिवारीको दाबी रहेको छ । २०८२ को गण्डकी प्रदेशको निर्वाचन साधारण सिटको प्रतिस्पर्धा मात्रै होइन । यो त पुराना दलहरूको विश्वसनीयताको परीक्षण र नयाँ दलको क्षमतामा कसी लगाउने कसौटी पनि हो । आफूलाई नयाँ दल भन्ने शक्तिहरूको क्षमताको परीक्षासँगै गठबन्धनविहीन राजनीतिमा जनमतको दिशा पनि गण्डकीमा यस निर्वाचनले दिने स्थानीय बुद्धिजीवी डा. कृष्णबहादुर केसीले बताए । उनका अनुसार यो निर्वाचनले सबैको परीक्षण गर्नेछ । २०७९ ले दिएको संकेतलाई २०८२ ले कसरी रूपान्तरण गर्छ भन्ने प्रश्नको उत्तर गण्डकी प्रदेशले आफ्नै तवरले दिने डा. केसीको मत छ ।
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
खोटाङ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ र म्याग्दीका २९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। प्रतिनिधिसभातर्फ एउटामत्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा निर्वाचनका लागि १३६ वटा मतदानस्थल निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार मतदानस्थललाई तीन भागमा वर्गीकरण गरिएको छ । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाअन्तर्गत मतदानस्थल निरीक्षण तथा अनुगमन गरेका थियौं । अनुगमन प्रतिवेदनका आधारमा जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेका छौं,’ उनले भने । मतदातालाई सुरक्षित र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । उनका अनुसार मतदानस्थलको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा निर्वाचन प्रहरी र जनपद प्रहरी परिचालन हुनेछन् । जिल्लामा एक लाख ४७ हजार १२० जना मतदाता छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएरनभएको अनुगमन तथा कारबाहीका लागि दुई जना अनुगमन अधिकृतसमेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरेरनगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो । दश स्थानीय तह रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जनाको मनोनयन परेको छ । जसमा नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवविक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, डा. राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा आठ केन्द्र अतिसंवेदनशील प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका आठ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेको हो । छ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदानस्थलमा १२० मतदान केन्द्र कायम भएको छ । विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक अवस्थिति, यातायात, सञ्चार र अन्य पूर्वाधारलगायतका आधारमा मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा रणनीति बनाइएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । धौलागिरि गाउँपालिका–१ गुर्जा र ४ बगर, अन्नपूर्ण गाउँपालिका–८ नांगी, रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका मतदानस्थल भौगोलिक हिसाबले दुर्गम र विकट क्षेत्रमा रहेका छन् । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यसहित सुरक्षा अधिकारीहरूको टोलीले मतदान स्थलको निरीक्षण अन्तिम चरणमा पु¥याएको छ । निर्वाचनका लागि ४२ हजार २३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कूल ८६ हजार ३९७ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीमा एक स्वतन्त्र र ११ जना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, नेकपा ९एमाले०का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार महावीर पुनलगायतका प्रतिस्पर्धी छन् ।