रास्वपाले आह्वान गर्यो संसदीय दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक बिहीबार (भाेलि) रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा मध्यान्ह सवा १२ बजे बस्न लागेको हो । बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । त्यसैगरी अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे कुराकानी भएको थियो । साथै नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका केन्द्रित रहेर छलफल भएको थियो । शिक्षा क्षेत्रमा बेलायत सरकारबाट भइरहेको सहयोग र सहकार्यलाई निरन्तरता दिने विषयमा पनि उनीहरूबीच कुराकानी भएको छ । मन्त्री पोखरेल र राजदूत फेनबीच नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिज्म स्कुलको लागि सहकार्य, शिक्षकको पेशागत क्षमता विकासको सन्दर्भमा पनि उनीहरूबीच परामर्श भएको छ । भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधार, शिक्षकहरूको क्षमता विकासलगायत विषयमा बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा गरे । साथै मन्त्री पोखरेलले अजिटम स्कुलको लागि स्रोत र जनशक्ति विकास तथा शिक्षकको पेशागत क्षमता विकासको सन्दर्भमा आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । राजदूत फेनले नेपालको शैक्षिक र खेलकुद क्षेत्रका साथै अन्य क्षेत्रमा विगतदेखि गरिआएको सहयोग र सहकार्यका लागि बेलायत सरकार उत्सुक रहेको बताएका थिए। सो भेटमा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ । त्यस्तै, शिक्षकको क्षमता विकासमा सहकार्य गर्ने तथा ट्रान्सनेशनल एजुकेशनको नेपालमा सम्भावनाबारे पनि कुराकानी भएको छ ।
कांग्रेस अनुशासन समितिद्वारा कार्यवाहक सभापति खड्कासँग स्पष्टीकरण सोध्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय अनुशासन समितिले चौधौँ महाधिवेशनका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । समितिको बैठक आज बुधबार ११ बजे बस्दैछ । बैठकमा खड्काले पछिल्ला दिनमा अघि बढाइरहेका गतिविधि रोक्न र तिनका कारणबारे लिखित स्पष्टीकरण माग्ने प्रस्ताव टुंग्याउने एजेन्डा रहेको समिति स्रोतले जनाएको छ । समितिले खड्काले पछिल्लो समयमा गरेका राजनीतिक तथा संगठनात्मक गतिविधि पार्टीको विधान र आन्तरिक शिष्टाचारसँग कति मेल खान्छ भन्ने विषयमा औपचारिक प्रश्नावली पठाउने तयारी गरेको समितिका एक सदस्यले जानकारी दिए । प्रारम्भिक छलफलअनुसार स्पष्टीकरणको समयसीमा तोक्ने र त्यसपछि आवश्यक निर्णयमा जाने प्रक्रियाबारे समेत बैठकले मार्गनिर्देशन गर्ने तयारी भइरहेको ती सदस्यले बताए । खड्काले कार्यवाहक सभापतिको रूपमा आफ्ना गतिविधि गरेकोमा कांग्रेस नेतृत्व रुष्ट रहेको छ । अनुशासन समितिले औपचारिक स्पष्टीकरण सोधेपछि खड्काको प्रतिक्रिया सार्वजनिक भएको आधारमा थप कारबाहीबारे सोच्ने समितिका एक सदस्यले जानकारी दिए ।