‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट चार जना अनुसन्धानकर्ता सम्मानित
काठमाडौं, २२ मंसिर । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सोमबार आयोजित नास्टको ३४ औं वाषिकोत्सव तथा पुरस्कार वितरण समारोहमा प्रदान गरिएको थियो । सम्मानित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. टंकनाथ धमला, डा. हरिप्रसाद अर्याल, प्रा. डा. कृष्णदास मानन्धर तथा प्रा. डा. श्रृजनलाल श्रेष्ठलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसगंको भेटमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याएकोमा धन्यवाद गरेका छन् । साथै, उनले नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार प्रकट गरेका छन् । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था १ लाख २५ हजार रुपैया रहेको छ । नास्टको उक्त समारोहमा जम्मा १७ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतीहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।
सानिमा बैंकको ४१औँ शाखा नुवाकोटको बिदुरमा सञ्चालन
काठमाडौं, १० मंसिर । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय नुवाकोटको बिदुरमा सञ्चालन गरेको छ । बैंकले यूके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनाको सहकार्यमा उक्त शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठद्धारा भएको छ । सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले यस बिदुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्घाटन समारोहमा मह जोडीले बिदुरमा सानिमा बैंक संचालनमा आएकोमा बिदुरवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन् । सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन् ।
सिभिल बैंक सातौँ वर्षमा, गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने
काठमाडौं, १० मंसिर । शुक्रबारदेखि सिभिल बैंक लिमिटेड सातौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरका दिन पारेर बैंकले वित्तिय साक्षरताको लागि प्रभातफेरी आयोजना गरेको छ । साथै, बैंकको कमलादीस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । बैंकको वार्षिकोत्सव देखि १ हप्तासम्म देशका विभिन्न स्थानहरुमा वित्तिय साक्षरताका विभिन्न चेतना मूलक कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । साथै सो सप्ताह भित्रै देशका २५ स्थानहरुबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिने कुरा बैंकले जनाएको छ । इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि. सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरिसकेको यस बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जसपछी बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । यस बैंकले समाज प्रति आफ्नो जिम्मेवारी वहन गर्दै आफ्नो सेवाको परिधी र व्यवसाय वृद्धी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले बताएका छन् ।