ग्लोबल आइएमईको दशौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । बैंकले “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । हाल ९१ शाखा, १०३ एटिएम, ६ वटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको यस बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ ।
चन्द्रागिरिको निशुल्क बस सेवा सञ्चालनमा, बस काठमाडौंको दुई स्थानबाट लाग्ने
काठमाडौं, १७ पुस । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताएका छन् । कार्यक्रममा संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा जानकारी गरेका छन् । कम्पनीले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ वषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने कम्पनीले जनाएको छ । त्यस्तै, कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ । यि बसहरु सोही स्थान हुँदै फर्कने छन् ।
चक्रपथभित्र गुड्न थाले १० वटा महानगरका बस, थप ४० वटा सिटी बस भित्र्याउने तयारी
काठमाडौ, १५ पुस । चक्रपथमा लोकप्रियता कमाएको महानगर यातायातले शुक्रबारदेखि राजधानीका चक्रपथभित्रका रुटमा पनि बस सञ्चालनमा ल्याएको छ । हालसम्म चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगले यात्रुहरुको माग भएको भन्दै भित्री रुटमा १० बस सञ्चालनमा ल्याएको हो । महानगरका बसले शुक्रबारदेखि राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा शुरु गरेका छन् । यी रुटमा छिट्टै थप बस पनि सञ्चालन गर्ने जानकारी महानगरका अध्यक्ष मधुसुदन अधिकारीले दिएका छन् । यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगर यातायातले केही दिन अघि देखि आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरिसकेको छ । भित्रीरुटमा सेवा शुरु भएसँगै अब थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको जानकारी उपाध्यक्ष सन्तोष खतिवडाले दिएका छन् ।