बेलायती ब्राण्ड एमजीको नयाँ कार नेपाली बजारमा, मूल्य ६७ लाख रुपैयाँ
काठमाडौं । नेपालमा पहिलोपटक बेलायती ब्राण्ड मोरिस ग्यारेज (एमजी)को नयाँ कार एसयुभी ‘एमजी जिएस’ भित्रिएको छ । सन् १९२४ देखि व्यवसायिक उत्पादन थालेको यो ब्राण्डको गाडी नेपालको आधिकारिक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली बजारमा ल्याएको हो । कम्पनीले यो कारको सुरुवाती मूल्य ६७ लाख रुपैयाँ तय गरेको छ । सोमबार कम्पनीले नयाँ बानेश्वर स्थित नयाँ शोरुमबाट वाणिज्यमन्त्रीद्वारा उद्घाटन गरेको थियो । अहिले नेपाली बजारमा यो कार दुई मोडलमा आएका छन् – १५०० सिसि टर्बो र २००० सिसि टर्बो । विश्वबजारमा स्पोर्टस गाडीका रुपमा चर्चा पाएको यो गाडी अहिले चीनमा उत्पादन हुँदै आएको छ । बिट्रिश लेल्यान्ड कर्पोरेशन कम्पनी नानजिङ अटोमोबाइल ग्रुपले सन् २००५ मा किनेको थियो । सन् २००७ मा चीनको सरकारी स्वामित्वको सांघार्इ अटोमोबाइल इन्डस्ट्रिज कर्पोरेशनले यो गाडी चीनमा उत्पादन गँर्दै आएको कम्पनीका सञ्चालक लोक हर्ष शाक्यले बताए । १५०० सिसि टर्बो क्षमताको कारको मूल्य ६७ लाख रुपैयाँ रहेको छ भने २००० लिटर टर्बो क्षमताको कारलाई ८२ लाख रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । तत्काल बुकिङका लागि कम्पनीले दुई लाखसम्मको छुट दिएको छ । यो योजना दसैंसम्म उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । के के छन् नयाँ फिचर ? टिएसटी गेयर बक्स (अटोमेटिक) प्रविधियुक्त यो कार युरो भि एप्रुभ्ड रहेको कम्पनीले जानकारी दिएको छ । चालकसँगै यात्रुलाई पनि आरामदायी यात्राको लागि नयाँ किसिमको सिट राखिएको छ । यसमा सुरक्षाको हिसाबले पनि उच्च प्रविधि जडान गरिएको कम्पनीको दाबी छ । १८५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो कार नेपालको माटो र बाटोलाई सुहाउने किसिमको भएको कम्पनीका सञ्चालक शाक्यले बताए। यसको १५०० सिसि क्षमताको गाडीले २२० एनएम क्षमताको टर्क प्रदान गर्छ भने २००० सिसिको गाडीको क्षमता ३५० एनएमको टर्क रहेको शाक्यले जानकारी दिए ।
तीजको लहर आयो बरि लै ! बसन्तपुरमा महिला ब्रतालुहरुको भीड यस्तो देखियो (तस्विरसहित)
काठमाडौं । हरितालिका तीजका अवसरमा आज राजधानीको वसन्तपुरस्थित शिव मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । हिन्दु धर्मावलम्बीको शक्तिशाली देवताकारुपमा मानिने महादेवको वसन्तपुरस्थित मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । यसलाई सानो पशुपतिनाथका रुपमा पनि चिनिन्छ । तीजको व्रत खासगरी विवाहिता महिलाहरुले आफ्ना श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गरी बस्ने गर्दछन् भने अविवाहित महिलाहरुले असल पति पाउने अपेक्षका साथ व्रत बस्ने र भगवान शिवजीको मन्दिरमा गएर पूजा गर्ने गर्दछन् । महिला दर्शनार्थीको भीडलाई व्यवस्थित राख्न सुरक्षादेखि स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । भक्तपुरको दत्तात्रय मन्दिर, डोलेश्वर मन्दिरमा महिलाको अत्यधिक घुइँचो लागेकाले सुरक्षा व्यवस्थाका साथै स्वयंसेवक परिचालन गरिएको छ ।
नेपाल स्टक बोक्रर्स एसोसिएसनद्धारा बाढी पीडितलाई १० लाखको आर्थिक सहयोग
काठमाडौं । नेपाल स्टक बोक्रर्स एसोसिएसन अफ नेपालले तराई मधेशमा गएको बिनासकारी बाढीबाट पीडितहरुको लागि १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । मंगलबार एसोसिएसनले बाढी पीडितहरुको राहतका लागि प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सो मात्राको रकम उपलब्ध गराएको हो । एसोसीएसनका तर्फबाट अध्यक्ष प्रियराज रेग्मीले उक्त रकम बराबारको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका छन् । यो रकम संघमा आबद्ध सदस्यहरुबाट संकलन गरिएको बोक्रर्स एसोसिएसनले जनाएको छ । यस अघि २०७२ साल बैशाखमा गएको महा बिनासकारी भुकम्प पडितहरुहरुको सहयोगार्थ उल्लेख्य नगद तथा जिन्सी समान पनि उपलब्ध गराएको थियो । समारोहमा प्रधानमन्त्री देउवाले पिडितहरुलाई एसोसीएसनले गरेको सहयोगको प्रसंसा गरेका छन् । उनले विपतमा परेकाहरुलाई सहयोग गर्ने संस्कार विकास गर्न सके त्यसबाट देश र जनताको हित हुने बताएका छन् ।