हुमन फाउन्डेशनको सहयोगमा १६ वटा मानव विद्यालय बन्दै, नेपाली विद्यार्थीको आर्ट कोरियामा प्रदर्शन
काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कलाको क्षेत्रमा काम गरिरहेको दक्षिण कोरियाली संस्था यूएम होङ गिल हुमन फाउन्डेशनले ९ जना नेपाली विद्यार्थीहरुलाई कोरियामा शैक्षिक भ्रमण गराउनुको साथै १३ जना नेपाली विद्यार्थीहरुले बनाएको आर्टहरु कोरियामा प्रदर्शन गराएको छ । सेप्टेम्बर १३ देखि १९ तारिकसम्म भएको उक्त शैक्षिक भ्रमणको क्रममा विद्यार्थीहरुले आर्ट प्रदर्शनीमा भाग लिनुको अतिरिक्त कोरियाका विभिन्न आर्ट संग्रालय, स्कूल, उद्योग, कोरियाका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका छन् । विरेथान्ती माध्यमिक विद्यालयका मानार्थ प्रधानाध्यापक तथा आर्ट टिचर कु ह्युन–किमले ती विद्यार्थीहरुलाई आर्ट सिकाएका थिए । उनी कोरियाको आर्ट विश्वविद्यालयको प्रध्यापक हुन् । नेपाल भ्रमणमा आउँदा नेपाली विद्यार्थीलाई कला र संस्कृतिको बारेमा पढाईदैन भन्ने जानकारी पाएपछि उनले स्वंसेवकको रुपमा विरेथान्ती माध्यमिक विद्यालयका विद्यार्थीलाई कला सिकाएका थिए । सिकाईमा आवश्यक सामाग्री जुटाउन फाउन्डेशनले सहयोग गरेको थियो । १५० भन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा गराई उत्कृष्ठ १३ विद्यार्थीको आर्ट कोरियामा प्रदर्शनी गरिएको र उनीहरु मध्ये ९ जनालाई कोरिया भ्रमणमा समेत लगेको सो संस्थाले जनाएको छ । भ्रमणको क्रममा विद्यार्थीहरुले अनुशासन, सहकार्य र एकता नै सफलताको सुत्र भएको कोरियाबाट सिकेको बताए । ‘कामको सम्मान गर्नुपर्छ, मिहेनत गर्नुपर्छ, अनुशाशित हुनुपर्छ, सहयोगी बन्नुपर्छ, सहकार्य र एकता नै बल हो भन्ने तथ्य हामीले कोरियाबाट सिकेका छौं’ भ्रमण सकेर काठमाडौं फर्केका विद्यार्थी प्रदीप आचार्यले भने । कास्की जिल्लााको विरेथान्ती माध्यमिक विद्यालयका आइतसुबा विक, अञ्जना सुनार, अलिशा तामाङ, अर्जुन राई, विशाल चापाई, मेनुका तामाङ, नविन परियार, प्रदीप आचार्य, पुजा परियार, सविता परियार, शोभा परियार, सिर्जना राई र ताप्लेजुङ जिल्लाको मायम माध्यमिक विद्यालयका यमबहादुर सेन्चुरीले बनाएका आर्टहरु प्रदर्शन गरिएको हुमन फाउन्डेशनले जनाएको छ । यूएम होङ गिल हुमन फाउन्डेशनले नेपालमा १६ स्थानमा स्कूल निर्माण गरिरहेको छ । होङ गिलले विश्वका अग्ला १६ शिखर चढेको संस्मरणमा नेपालमा १६ वटा विद्यालयहरु बनाउने घोषणा गरेको छ । यो संस्थाले सन् २००९ देखि नै विद्यालयहरु निर्माणमा थालेको हो । हालसम्म १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको, ३ वटा विद्यालय निर्माण भईरहेको र एउटा भवन निर्माणको लागि उपयुक्त स्थान खोजी भईरहेको उक्त संस्थाका नेपालस्थिति कन्ट्री डाइरेक्ट चोङ क्वाङ सिकले जानकारी दिए । यो संस्थाले ‘ड्रिम्स एण्ड होप फर दी चिल्ड्रेन अफ हिमालयज’ परियोजना अन्तरगत हुमन स्कूलहरु बनाउदै आएको छ । यसअन्तरगत विद्यालयहरुको भवन निर्माण, शिक्षक, स्टेशनरी, स्कलरशिप, अन्य शैक्षिक सामाग्रीमा समेत सहयोग गर्दै आएको छ । यस संस्थाले हिमाली क्षेत्रमा ‘हिमालय मेडिकल केयर, हिमालय भोलुन्ट्री सर्भिस, होप्स प्लान प्रोजेक्ट समेत सञ्चालन गर्दै आएको छ । यूएम होङ गिल हुमन फाउन्डेशन क्याप्टेन यूएम होङ गिलको नाममा स्थापना भएको अन्तराष्ट्रिय गैरसरकारी संस्था हो । क्याप्टेन गिल कोरियाली नागरिक हुन् । उनले सन् २००७ अघि नै ८ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका छन् । क्याप्टेन गिलले सगरमाथाको सफल आरोहण सन् १९९८ मा गरेका थिए । उनले साहासिक पर्वतारोहण गरेको, शिक्षा र मानवताको क्षेत्रमा योगदान गरेको भन्दै कोरिया सरकार र विभिन्न संस्थाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको २१ वटा सम्मान तथा पुरस्कार पाएका छन् ।
दशैंमा दरबारमार्ग सुनसान, भाटभटेनीको व्यापार फस्टायो
काठमाडौं । नवरात्री सुरु भएको झण्डै एक साता बितिसक्यो । तर दरबारमार्गका पसलहरु सुनसान छन् । देशको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र दरबारमार्गमा पर्यटकको समेत चहलपहल छैन । आपूर्ति मन्त्रालयको अनुगमनपछि दरबारमार्गको कारोबारमा ह्रास आएको व्यवसायी बताउँछन् । दरबारमार्ग विकास बोर्डका अनुसार दरबारमार्गमा करिब दुई सयवटा पसलहरु छन् । आपूर्ति मन्त्रालयले दुई साता अघि गरेको अनुगमनका क्रममा ठगी गरेको पाइएपछि केही पसलहरु सिल गरिदिएपछि विरोध गर्दै दरबारमार्गका सबै पसलहरु बन्द भएका थिए । सिलबन्दीको विरोधमा नौ वटा पसलका व्यवसायीले पसल बन्द गरेका थिए । बढी नाफा लिएर सामान बिक्री गरेको पाएपछि दरबारमार्गका नाइक,वेन्टले, स्टोर वान र पुमाको ब्राण्डेड पसलमा सिलबन्दी गरिएको थियो । बिलविजकमा १० गुणासम्म नाफा लिएको तथा नाइकले २ हजार ६ सयमा ल्याएको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो । दैनिक झण्डै १ करोड रुपैयाँ बराबर कारोबार रहेको दरबारमार्गमा अहिले व्यापार घटेको बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जानकारी दिए । उनका अनुसार नियमितको तुलनामा दसैंमा कारोबार तीन गुणाले बढ्ने गरेको थियो । यसपाली दसैंमा मुश्किलले दैनिक एक करोड कारोबार भइरहेको उनले जानकारी दिए । अनुगमनपछि उपभोक्ताले दरबारमार्गका व्यवसायीलाई ’ठग’को रुपमा बुझ्न थालेको उनले बताए । उनले भने, ’सरकारले अनुगमन गरेर सिलबन्दी गरेपछि दरबारमार्गललाई ठगी गर्ने अड्डाको दृष्टिकोणबाट हेरिएको छ । अहिले दरबारमार्गमा कारोबार सुकेको छ ।’ फस्टायो भाटभटेनी उच्चवर्गका उपभोक्ताको प्रमुख बजारमध्ये भाटभटेनी सुपरमार्केटमा भीडभाड बढेको छ । भाटभटेनीमा पछिल्लो दसैंको तुलनामा यसपाली १० प्रतिशतले व्यापार बढेको सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जानकारी दिए । उनले भने, ’किराना पसलभन्दा पनि सस्तो मूल्यमा सामान खरिद गर्न पाउने भएकाले भाटभटेनीमा उपभोक्ताको आकर्षण बढ्दो छ ।’ भाटभटेनीमा सामान्यभन्दा दसैंमा तुलनात्मक रुपमा ३० देखि ३५ प्रतिशतले कारोबार बढ्ने गरेको पौडेलले बताए । ब्राण्डेड सामान पनि सस्तो मूल्यमा पाइने भएकाले उपभोक्ताको बाक्लो भीड लागेको उनले बताए । दसैंका अवसरमा भाटभटेनीले सामानहरुमा आक्रमक योजना ल्याएको छ । भाटभटेनीमा सामान खरिद गर्दा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको पौडेलले बताए । भृकुटीमण्डपमा पनि गत बर्षहरुको तुलनामा उपभोक्ताको भिड र व्यापार दुबै बढेको व्यवसायीहरुले बताएका छन् । दरबारमार्गमा यसपाली सेलमेलाको आकर्षण घटेको र सटरहरुकै व्यापार पनि भृकुटीमण्डप सरेको व्यवसायी एककृष्ण पौडेलले बताए । उपभोक्तामा दरबारमार्ग र भृकुटीमण्डप लगायतका बजारमा पाइने समान उस्तै हुन भन्ने सन्देश गएकाले व्यापार बढेको उनले बताए ।
ताम्राकारको पहिलो बम्पर उपहार चौधरीलाई, १५ हजारको मोबाइलले चढायो मोटरसाइकल
काठमाडौं । दशैंतिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्र बिक्रम चौधरीले पाएका छन् । उनले ताम्राकार कम्प्लेक्समा १५ हजार पर्ने एमआइको एवान ४ ए मोबाइल किनेका थिए । दैनिक मोबाइल, पावर बैंक र अन्य एशोसरिज लक्की ड्रबाट बितण गर्दै आएको ताम्राकार मोबाइलले राखेका ३ वटा बम्पर उपहार मध्ये एउटा मोटरसाइकल लक्की ड्रमा खोलिएको हो । बिभिन्न उपहारको बहार ल्याएको ताम्राकार मोबाइल कम्प्लेक्सको अन्य २ वटा मोटरसाइकल र स्कुटर भने दिपावली पछाडी लक्की ड्र मार्फत खोलिने मोबाइल ब्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले बताए । दैनिक २ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिरहेको यो बजारले साप्ताहिक रुपमा ३२ इन्चको सामसुङ टेलिभिजन पनि बितरण गरिरहेको छ । अहिले सम्म ताम्राकारमा मोबाइल खरिद गर्नेमध्ये २६ वटा स्मार्टफोन, ४० वटा पावर बैंक, ४० वटा ब्लुतुथ एअरफोन बितरण गरिसकिएको मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए । बम्पर पुरस्कार बिजेता चौधरीलाई मेलामा मुख्य प्रायोजन रहेको लेनेभो र मोटोरोला मोबाइलका सिइयो शुशिल न्यौपानेले बाइकको चाबी हस्तान्तरण गरेका थिए । भदौ २२ गतेबाट सरु भएको मेलाको दोस्रो हप्ता सम्म १५ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै अध्यक्ष साउदले २२ करोड ४० लाख बढीको कारोबार भएको जानकारी दिए । मेलाको दोस्रोहप्ता सम्म ६० हजार बढी अबलोकनकर्ता आएको अनुमान आयोजकको छ । बिश्वासिलो मोबाइल बजारको ख्याती कमाएको ताम्राकार मोबाइल बजारले ग्राहकको सामुन्नेमा नै लक्की ड्र गर्दै आएको छ । मोटरसाइकल बिजेता चौधरी, टेलिभिजन बिजेता र मोबाइल बिजेताहरुलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको मोबाइल ब्यापार संघका सचिव गुरुदत्त शर्माले बताए । छट पर्वसम्म जारी रहने यो मेलामा अझैं सयौं मोबाइल, पावर बैंक, ब्लुतुथ एअरफोन र टेलिभिजन बाँकी रहेको बजारले जनाएको छ ।