जनकपुरमा छठपर्वको रौनक, यस्ता देखिए दुलहीझैँ सिङ्गारिएका नगर (फोटोसहित)

जनकपुर । जनकपुरसहित मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसअघि व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय-खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । श्रद्धा, निष्ठा र समर्पणको प्रतिक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । जनकपुरका पोखरीहरु अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ । यसअघि गत आइतवार उसिनेको चामल, माछा-मासु, मुसुरो, लसुन-प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर व्रतालुले ‘अरबा अरबाइन’, सोमवार पवित्र स्नान गरेर चोखो खाएर व्रत सङ्कल्प गर्दै ‘नहाय-खाय’ र हिजो मङ्गलवार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनि सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरवारमा वास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

तस्वीरमा बैंकर्स संघको साधारणसभाको रमझम (फोटोफिचर)

काठमाडाैं । नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । साधारणसभाबाट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय निविरोध चयन भएका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई अल्पकालिन असाधारण नाफाभन्दा पनि दीर्घकालिन रुपमा सबल हुन आग्रह गर । उनले बैंकहरुले अल्पकालिन नाफा भन्दा पनि दीर्घकालिन रुपमा सबल हुन सिक्नु पर्ने धारणा राखेका हुन् । यस्तै, उनले अहिले बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी गर्न मुस्किल नै भएपनि आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताए । ‘अहिले पनि कर्जाको माग उच्च छ, हामीसँग लगानीयोग्य रकमको अभाव हुँदै गएको छ, राष्ट्र बैंक्ले पनि नीतिमा केही संशोधन गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।

बजारमा तिहारको रौनकः भाइ मसलादेखि सुन पसलसम्म भीड (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । देशका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो भीड लागेको हो । विशेष गरी काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड देखिन्छ । बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधरणको भीडले तिहार पर्वको रौनकलता छाएको छ । बजारमा सुन, भाइ मसला, फूल लगायतका सामान किन्ने सर्वसाधारणको भीड लागेको छ ।