नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अवस्थी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको नवौं कार्यकारिणी बैठकले उनलाई महानिर्देश्कमानियुक्त गरेको हो । यसअघि महासंघको उप–महानिर्देशक रहेका उनी महासंघको महानिर्देशकमा नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा व्यवस्थापन गरेका अवस्थीले इण्डियन इन्सिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् । लामो समय आर्थिक पत्रकारितामा कलम चालएका अवस्थीले यस अघि संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यको सल्लाहकार भएर काम गरिसकेका छन् । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत हुन् । अवस्थी अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा निजी क्षेत्रका बारेमा जानकार पनि मानिन्छन् ।

नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईले लिए शपथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन् । समितिका अध्यक्ष सिलवालले इन्स्योरेन्सका अध्यक्ष संघईलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।

प्राइम लाइफमा निर्मल दाहालको प्रवेश, असारपछि सीईओ बन्दै

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा सात वर्ष काम गरेका दाहालले दुई दिन अघि मात्र सक्षम छोडेको जनाएका थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए । प्राइम लाइफ इन्स्योरेन्सले दाहाललाई तीन महिनापछि सीईओ बनाउने गरी सिनियर डेपुटी सीइओमा नियुक्त गरिएको एक सञ्चालकले विकासन्युजलाई जानकारी दिए । उक्त कम्पनीका वर्तमान सीईओ मनोज कुमार भट्टराईको कार्यकाल आगामी असारमा सकिदैछ । भट्टराई २०७४ असारदेखि कम्पनीको सीईओ पदमा कार्यरत छन् ।