जीवन बीमक संघको अध्यक्षमा पौडेल चयन, उपाध्यक्षमा पराजुली र महासचिवमा खत्री
काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संगठन जीवन बीमक संघको अध्यक्षमा पोषक राज पौडेल चयन भएका छन् । मंसिर ९ गते सम्पन्न संघको तेश्रो वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा ७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । साथै, उनी यस संघको निवर्तमान उपाध्यक्ष हुन् । अघिल्लो कार्यसमितिको अध्यक्षमा मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ थिए । त्यसैगरी, संघको उपाध्यक्षमा प्रवीण रमण पराजुली चयन भएका छन् । उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान कोषाध्यक्ष हुन् । महासचिवमा ज्योती लाइफ इन्स्योरेन्सका सीईओ प्रकाश विक्रम खत्री चयन भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए । त्यस्तै, एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन् । त्यसैगरी, सदस्यहरुमा रिलायबल नेपाल लाइफका नारायणबाबु लोहनी, आइएमई लाइफका कवि फुयाल र एलआईसी नेपालका एलपी दास रहेका छन् । जसमध्ये फुयाल अघिल्लो कार्यसमिति सदस्य थिए भने लोहनी र दास भने नयाँ सदस्य हुन् ।
प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा शर्मा र बिजुक्छे नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा नमिता शर्मा र बिबेक बिजुक्छेलाई सञ्चालक पदमा नियुक्त गरेको हो । जसमध्ये शर्मा कम्पनीको सर्वसाधारण समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् । त्यस्तै, सञ्चालक बिजुक्छे कम्पनीको संस्थापक समूहबाट नियुक्त भएका हुन् ।
युनाइटेड इन्स्योरेन्सबाट बाहिरिइन् सीईओ पौडेल, हिमालयन रिको डेपुटी सीईओ बन्दै
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट उपासना पौडेल बाहिरिएकी छिन् । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै पौडेल कम्पनीबाट बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको बैठकले कार्त्तिक २८ गतेदेखि लागू हुने गरी पौडेलको राजिनामा स्वीकृत गरेको हो । साथै, सोही मितिदेखि लागू हुने गरी कम्पनीको निमित्त कार्यकारी अधिकृतमा नबिन सुबेदीलाई नियुक्त गरिएको छ । सुबेदी कम्पनीको महाप्रबन्धक समेत हुन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई एक कार्यकालको लागि भन्दै २०७८ बैशाख १६ गते सीईओ पदमा नियुक्त गरेको थियो । तर उनले करिब डेढ वर्ष अघि नै राजिनामा दिएकी छिन् । हिमालयन रिइन्स्योरेन्समा राम्रो अफर पाएसँगै पौडेलले युनाईटेड इन्स्योरेन्सबाट राजिनामा दिएकी श्रोतले जनाएको छ । यससँगै उनी नेपालको दोश्रो पुनर्बीमा कम्पनी अर्थात हिमालयन रिमा डेपुटी सीईओको रुपमा जाँदै छिन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । युनाईटेडको सीईओ बन्नुअघि उनले सोही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।