भूकम्पपछिको पुनर्निर्माण चुस्त, प्रगति सुस्त

काठमाडौं २, माघ । यतिबेला १९९० साल माघ २ गते गएको महाभूकम्पको त्रासदी भोग्ने थोरै नेपाली मात्र जीवित छन्। बाँकीले त्यो त्रासदीपूर्ण दिनको इतिहास पढेका वा सुनेका मात्रै छन्। त्यही इतिहास स्मरण गराउन र नेपालीलाई भूकम्पबारे सचेत गराउन सरकारले केही वर्षदेखि हरेक वर्ष माघ २ गते भूकम्प दिवस मनाउँदै आएको छ। दिवस मनाउने काममा विशेषगरी गैरसरकारी संस्था सक्रिय देखिन्छन् र गृह मन्त्रालयले केही औपचारिक कार्यक्रम पनि गर्दै आएको छ। गतवर्षको विनाशकारी भूकम्पबाट क्षति पुगेका १४ जिल्लाका पाँच लाख ४७ हजार २२९ जनासँग पहिलो किस्ताको अनुदान सम्झौता भइसकेको छ। यीमध्ये चार लाख ७३ हजार ५५५ जनाले पहिलो किस्ताबापतको अनुदान पाइसकेका छन्। वि।सं। २०७२ को गोरखा भूकम्पपछि तत्कालीन सरकारले यो दिन अझ विशेष बनाउने निर्णय ग¥यो तर यो दिवस ठोस काम गरेरभन्दा तामझाममा नै बित्यो। सोही दिवस पारेर राष्ट्रप्रमुखबाट शिलान्यास र उद्घाटन भएका कार्यक्रमले एक वर्षमा पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकेन। रोकियो रानीपोखरी पुनर्निर्माण गतवर्ष माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणका लागि शिलान्यास गर्नुभएको काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु भए पनि विवादका कारण रोकिएको छ। काठमाडौँ महानगरपालिकाले निर्माणको ठेक्का दिएको कम्पनीले पुरातात्विक सम्पदा पुनर्निर्माणको मापदण्ड पूरा नगरेको भन्दै निर्माणमा रोक लगाएपछि अलपत्र परेको हो। विभिन्न विवादका कारण उक्त सम्पदा पुनः पुरातत्व विभाग आफैले पुनर्निर्माण गर्ने निर्णय गरेको छ तर एउटा कम्पनीलाई ठेक्कामा दिएर डेढ करोड रुपियाँ खर्च भइसकेको उक्त सम्पदा पुरातत्व विभागले जिम्मा लिए पनि प्रक्रियागत ढिलासुस्ती र बजेट निकासा हुन नसक्दा निर्माणको काम अगाडि बढ्न सकेको छैन। गत बिहीबारमात्र उक्त सम्पदाको पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट एक करोड रुपियाँ निकासा भएको जानकारी दिँदै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले अब छिट्टै परम्परागत प्रविधिबाटै उक्त सम्पदाको पुनर्निर्माण थालिने बताए। उक्त मन्दिरको जग सुरक्षित रहे नरहेको अध्ययन गरी सरोकारवाला सबैसँग छलफल गरेर मन्दिरको डिजाइनबारे निर्णय गरिने उनको भनाइ छ। रानीपोखरीको मन्दिरबाहेक पोखरी परिसरको निर्माणको जिम्मा महानगरपालिकाले लिएको छ तर त्यसमा पनि ठोस काम सुरु भएको छैन। बुङ्मतीमा सुस्त गतवर्षको माघ २ गते नै पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पुरानो नेवारी बस्ती बुङ्मतीलाई एकीकृत सघन बस्तीका रूपमा पुनर्निर्माण गर्न तामझामसहित उद्घाटन गरे। त्यसबेला बस्तीको प्रवेशद्वारमा यूएन ह्याविट्याटले राखिदिएको बृहत् गुरुयोजनाको फ्लेक्स बोर्ड अहिले फाटिसकेको छ। बस्ती विकासको ठोस काम भने अझै भएको छैन। श्रीलङ्काली सरकारको सहयोगमा बुङ्मतीमा नै रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण भने सुरु भएको छ। मन्दिर पुनर्निर्माण गर्दा पनि ठेकेदारले हेलचेक्र्याइँ गरेको भन्दै स्थानीयवासीले विरोध जनाएपछि मन्दिरको जग पुनः सच्याइएको स्थानीय बस्तराज शाक्यले बताए। आफ्नो घरको आँगनमा नै भएको मन्दिरको जग निर्माणमा नै गल्ती भएपछि स्थानीयवासीको दबाबमा सुधार गरेपछि मात्र आफू निदाउन सकेको बताउने ७६ वर्षीय शाक्यको आफ्नै घर भने कहिले बन्ने अत्तोपत्तो छैन। भूकम्पका कारण भत्किएको घरको तल्लो तलामात्र बाँकी राखेर सोही घरमा बस्दै आउनुभएका शाक्य स्थान अभावका कारण आफ्ना परिवार टोल बाहिरको अस्थायी टहरोमा बस्दै आएका हुन्। सोही टोलका विष्णुप्रसाद शाक्य पनि घर कसरी बनाउने भन्ने अन्योलमा छन्। जम्मा तीन पैसा क्षेत्रफलमा रहेको घर अबको सरकारी मापदण्ड अनुसार नबन्ने भएपछि अन्योलमा परेको बताए। सरकारले सुझाएको १७ वटा डिजाइनमध्ये उनका लागि कुनै पनि डिजाइन उपयुक्त सावित हुन सकेको छैन। सहरी विकास तथा भवन निर्माण विभागले त्यस्ता बस्तीका लागि थप डिजाइन ल्याउने भने पनि त्यो अझैसम्म आउन सकेको छैन। मापदण्डमा अलमल ऐतिहासिक सम्पदा क्षेत्रमा आवास निर्माणको मापदण्ड कस्तो हुने भन्ने निर्णय सरकारले हालसम्म नगरेका कारण बुङ्मती मात्र होइन, साँखु, टोखा, सिद्धिपुर जस्ता पुराना बस्तीको पुनर्निर्माण अन्योलमा परेको छ। अन्यत्रका लागि बनाइएको मापदण्ड पुराना र मौलिक संस्कृति बोकेका बस्तीमा लागू हुनसक्ने अवस्था नरहेको यूनएन ह्याविट्याटका प्रोग्राम म्यानेजर पीएस जोशी बताउनुहुन्छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने त्यस विषयमा सहरी विकास तथा भवन निर्माण विभागले अध्ययन गरिरहेको बताउँदै आएको छ। गोरखापत्र दैनिकबाट ।

सुन तस्करीबारे अर्थमन्त्री महराले भने,‘ म त भुरा माछा हुँ’, ठूलो माछो अर्के छ

पोखरा १, माघ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ भुरामात्रै भएको बताएका छन्।  ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’, महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ। जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा। त्यो समय क्रममा बाहिर आउँछ। हामी त भुरेभारेमात्र हौं।’ तस्करी गरी ल्याइएको १५ करोड रुपैयाँ मूल्यको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस २१ गते भेटिएको थियो। सुनका भरिया गोपाल शाहीसहित उक्त सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। शाहीले यसअघिसमेत गरी १ सय किलो सुन अवैध रुपमा भित्र्याएको बयान प्रहरीलाई दिइसकेका छन्। संगठित अपराध र त्यस्तो अपराधको आर्जन तथा सम्पत्ति शुद्धीकरणबारे अर्थ मन्त्रालयले शुक्रबार पोखरामा आयोजित अन्तक्रियामा अर्थमन्त्री महराले उक्त प्रसंग उप्काएका हुन्। उनले अपराधीहरुले राजनीतिक सत्ता नै किन्दिने गरेको समेत सुनाए। ‘अपराधीहरु राज्यभन्दा बलियो बन्न खोज्छन्’, उनले भने, ‘उनीहरुलाई कमजोर बनाउन राज्य र निजी क्षेत्र मिल्नुपर्छ।’ अन्नपूर्ण पोस्टबाट

दोस्रो खानेपानी आयोजना निर्माण तीव्रगतिमा, १६ करोडको लगानीमा निर्माण शुरु

मोरङ, २२ पुस । बढ्दो शहरीकरण र जनघनत्वलाई ध्यानमा राखेर मोरङकोे उर्लाबारीमा दोस्रो खानेपानी आयोजनाको निर्माण कार्य तीव्रगतिमा अगाडी बढाएको छ । नेपाल सरकार र उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रु १६ करोडको लगानीमा सो खानेपानी आयोजनाको निर्माण कार्य तीव्रगतिमा अगाडी बढाएको हो । सो कार्यका लागि ७० प्रतिशत सरकारी तथा ३० प्रतिशत संस्था आफैँले व्यहोर्नेछ । आयोजनाअन्तर्गत खानेपानीका फिल्टरसहित चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गरिएको छ । जसमा प्लान्ट बोरिङ दुईवटा रहेको छ । २०५२ सालमा स्थापना भएको संस्थाले हाल ५ वडाका दुई हजार छ सय घरधुरीमा खानेपानी वितरण गर्दै आएको छ । अहिले दैनिक १८ लाख लिटर पानी वितरण भइरहेको छ । अब निर्माण हुने आयोजनाबाट पनि थप दुई हजार ५ सय घरधुरीमा खानेपानी वितरण हुने संस्थाका कार्यालय प्रमुख राजु बुढाथोकीले जानकारी दिएका छन् । अहिलेसम्म आयोजनाको निर्माणकार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ । अहिले ७५ किलोमिटरसम्म खानेपानीको पाइप बिछ्याउने काममध्ये ३५ किलोमिटर सम्पन्न भइसकेको र चालु आर्थिक वर्षभित्रैमा दोस्रो आयोजनाबाट पनि खानेपानी वितरण हुने कार्यालय प्रमुख बुढाथोकीले बताए । रासस