आइतबार पनि भारी वर्षा ः सोमबारबाट मौसम सुधार

काठमाडौ। मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ । आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ । आज पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ । धेरै स्थानमा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ ।गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् । रासस

सीमामा रहेका बाँधको ढोका खोल्न भारतलाई आग्रह

काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्नका लागि नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई आग्रह गर्नुभएको छ । उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई आज टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका खोल्नका पहल गरिदिन आग्रह गर्नुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । डुबानका कारण तराईमा जनधनको क्षति भएको तथा जनजीवन पूर्णरुपमा प्रभावित भएकाले थप क्षति हुन नदिन बाँधको ढोका खोल्न आग्रह गरिएको हो । सप्तकोशी, लक्ष्मणपुरलगायत ब्यारेजको ढोका आवश्यकताअनुसार भारतीय पक्षले नखोलिदिँदा नेपालतर्फ डुबान बढ्दै गएपछि मन्त्री महराले सो आग्रह गर्नुभएको हो । रासस

जापानको चर्चित कम्पनी केडिडीआइको नेपाल टलिकमसँग साझेदारी गर्ने ईच्छा

काठमाडौं। दूरसञ्चार क्षेत्रमा विश्वप्रख्यात जापानको दूरसञ्चार प्रदायक कम्पनी केडिडीआइले नेपाल टेलिकमसँग साझेदारीका लागि इच्छा देखाएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका राजदूत मासासी ओगावाले आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटी नेपाल टेलिकमको विकास र विस्तारका लागि रणनीतिक साझेदारी गर्न तयार रहेको जानकारी दिएका छन् । सो अवसरमा उहाँहरुबीच नेपाल–जापानबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयका साथै दूरसञ्चारका क्षेत्रमा केन्द्रित रहेर कुराकानी भएको सूचना तथा सञ्चारमन्त्री बस्नेतले जानकारी दिए । सरकारले नेपाल टेलिकमको सेवालाई अझ प्रविधियुक्त र गुणस्तरीय बनाउने सन्दर्भमा केही वर्षदेखि उपयुक्त साझेदारको खोजी गर्दै आएको छ । सो अवसरमा मन्त्री बस्नेतले हाम्रा कतिपय गाउँमा अझै टेलिफोन सेवा नपुगेको तथा पुगेका ठाउँमा पनि गुणस्तरीय सेवा दिन नसकिएको अवस्था रहेको जनाउँदै साझेदारी गर्ने विषयमा नियम कानूनका आधारमा मात्र अघि बढ्न सकिने जवाफ दिए । साझेदारी गर्दा नेपालले धेरै फाइदा लिन सक्ने हिसाबले कानूनसम्मत ढंगबाट छलफलका आधारमा मात्र साझेदारीको गृहकार्यलाई अघि बढाइने जानकारी दिँदै मन्त्री बस्नेतले भने– “नेपाल टेलिकमलाई प्रविधियुक्त तुल्याउन आवश्यक ध्यान दिइने छ ।” नेपालको शासन पद्धतिअन्तर्गत भएका निर्वाचन तथा मुलुकको आर्थिक समृद्धिका लागि जापानबाट हुँदै आएको तथा आगामी दिनमा हुन सक्ने सहयोगका क्षेत्रबारे पनि उहाँहरुबीच छलफल भएको थियो । सन् १९५६ मा दुवै देशबीच दौत्यसम्बन्ध कायम भएको हो । नेपाल र जापानबीचको सम्बन्ध अत्यन्तै घनिष्ठ र सुमधुर छ । जापान नेपालको विकासको ठूलो दातृ मुलुक हो । जापानले नेपालका सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, खेलकुद, वातावरण संरक्षणजस्ता क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । रासस