देशभर बाढीपहिरो: ४६ जनाको मृत्यु, १७ बेपत्ता
काठमाडौँ, २३ असार । निरन्तर वर्षात्सँगै आएको बाढी र पहिरोका कारण मुलुकभर ४६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट एक साताको अवधिमा ४६ जनाको मृत्यु हुनकासाथै १७ जना हराइरहेको मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । अहिलेसम्म १५० घर बगाएको दुई करोडको प्रारम्भिक क्षति भएको उनले उल्लेख गरे । प्राकृतिक विपत्तिका घटनाको उद्धार र राहतका लागि सुरक्षा निकायलाई तैनाथ र आवश्यक संयन्त्र परिचालन गरिएको मन्त्रालयले जनाएको छ । ललितपुर, धादिङ, सिन्धुपाल्चोक, प्यूठान, दार्चुलालगायतका स्थानमा बाढी र पहिरोले जनधनको क्षति पु¥याएको छ । घटनाका पीडित ९घर भत्केकालाई० राहतका लागि तत्काल पाँचदेखि २५ हजार उपलब्ध गराइने प्रवक्ता कोइराराले बताए । सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी र पहिरोले धेरै क्षति पुगेको भए पनि यकिन विवरण आइनसकेको गृहले जनाएको छ ।
बिहीबार इदुल्ल फित्रको अवसरमा सार्वजनिक बिदा, कार्यालय तथा शिक्षण संस्थाहरु बन्द हुने
काठमाडौं, २२ असार । भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । सो अबसरमा सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द हुनेछन् । गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ ।
एक साता भित्र १५ लाख उपभोक्ताको सिलिण्डर साटिने
काठमाडौं, २२ असार । भारतीय नाका बन्दीका समयमा बिभिन्न कम्पनीका सिलिण्डरसहितको ग्यास खरिद गरेका उपभोक्ताहरुको त्यस्ता सिलिण्डर साटिने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले एक साता भित्र उपभोक्ताले चाहेको कम्पनीको सिलिण्डर साट्ने व्यवस्था गर्न लागेको हो । ‘एक साता भित्र सार्वजनिक सूचना प्रकाशित गरेर सिलिण्डर साट्ने व्यवस्था गर्दैछौं, सबै उपभोक्ताले आफुसँग भएको सिलिण्डर बुझाएर आफुले चाहेको सिलिण्डर लिन सक्नेछन्’ एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने । नाका बन्दीका समयमा १५ लाख उपभोक्ताले सिलिण्डरसहितको ग्यास खरिद गरेका थिए । यसैबिच व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिकाले एचपी र सुगम ग्यासलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले दुबै कम्पनीको सिलिण्डर बिस्फोटनको छानबिन गरि कारवाही गर्न निर्देशन दिएको हो । त्यसै गरि समितिले सिलिण्डरको मापदण्ड तोक्दै अन्तराष्ट्रिय स्तरको गुणस्तर कायम गराउन समेत निर्देशन दिएको छ ।