शेखर गोल्छालाई एक करोड धरौटी माग गर्न आदेश

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटी माग गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटी माग गर्न आदेश दिएको हो ।  न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई एक करोड धरौटी माग गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए । सोही मुद्दामा यसअघि दीपक भट्ट र शुलभ अग्रवालसँग पनि धरौटी माग गरेको थियो ।  बीमा कसुरमा अग्रवालसँग २ करोड र भट्टसँग डेढ करोड धरौटी माग गरेको थियो । धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग २ करोड ३० लाख र भट्ट एक करोड धरौटी माग गर्ने आदेश दिएको थियो । 

नारायणगढ-मुग्लिन सडक मंगलबार राति ८ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण बन्द

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड मंगलबार (आज) मंगलबार राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द रहने भएको छ ।  सुख्खा पहिरो खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले सवारी आवागमनमा रोक लगाएको हो । पहिरोका कारण हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गरी यो निर्णय गरिएको हो । मंगलबार साँझ ६ बजे मुग्लिन बजार नजिकै तेस्रोपटक सुख्खा पहिरो खसेको थियो । पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सडक विभागका इन्जिनियरको नेतृत्वमा मेसिन प्रयोग गरी पहिरो पन्छाइएको छ ।  अहिले सडक सञ्चालनमा आए पनि पहिरो खस्ने क्रम रोकिएको छैन । सडक डिभिजन भरतपुरले जोखिम कायमै रहेकाले सतर्कता अपनाउन भनेको छ । प्रशासनले मंगलबार १२ साउन राति ८ बजेदेखि भोलि १३ साउन बिहान ५ बजेसम्म सबै प्रकारका गाडी चलाउन रोक लगाएको छ । रातको समयमा यात्रा गर्दा ठूलो दुर्घटना हुन सक्ने भएकाले यात्रा नगर्न सबैलाई अनुरोध गरिएको छ ।  सडक विभाग र प्रशासनले पहिरोको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेका छन् । सडक बन्द रहेको समयमा थप जानकारी वा सहयोगका लागि विभिन्न नम्बरहरु सार्वजनिक गरिएको छ । नागरिकले नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा फोन गर्न सक्ने छन् ।  त्यस्तै, जिल्ला आपतकालीन केन्द्र (डिइओसीमा) को १२३४ नम्बरमा सम्पर्क गर्न मिल्नेछ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीलाई ९८५५०१३९९९ नम्बरमा सिधै फोन गर्न सकिनेछ । 

प्रधानमन्त्रीसँग मेरो निरन्तर संवाद हुन्छ, ‘बाइपास’ गरिएको चर्चा अफवाहमात्रः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरूलाई आग्रह गरेका छन् । केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित छन् ।  निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा. वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरू प्रकाशित भएपछि उनले मंगलवार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो प्रष्टीकरण दिएका हुन् । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ । हाम्रो निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेटपछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुठहरू फैलाइन्छ ।’ उनले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको बताए ।  उनले सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिने कुरामा प्रतिवद्ध रहेको दोहाेर्‍याए । अर्थमन्त्री वाग्लेले मुलुकका आर्थिक मुद्दाहरूमा प्रधानमन्त्री शाहसँग निरन्तर गहिरो छलफल भइरहेको भन्दै बजारका हल्लाहरूको पछाडि नलाग्न आग्रहसमेत गरे ।