गाउँपालिका जमानी बसेर किसानलाई १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँछ – अध्यक्ष घले

‘नौकुण्ड गाउँपालिका’ बागमती प्रदेश अन्तर्गतको रसुवा जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । पूर्वमा गोसाईंकुण्ड गाउँपालिका अनि नुवाकोट जिल्ला, पश्चिममा कालिका गाउँपालिका, उत्तरमा गोसाईंकुण्ड गाउँपालिका र दक्षिणमा भने नुवाकोट जिल्लाको सिमानासँग जोडिएको यो गाउँपालिका १ सय २६ दसमलव ९९ वर्ग किलोमिटरमा फैलिएको छ । यसका साथै कालिकार गोसाईंकुण्ड गाउँपालिकासँग यस गाउँपालिकाको सिमाना जोडिनुले पनि यस गाउँपालिकाको विकासमा अथाह सम्भावना थपिदिएको छ । ६ ओटा वडा रहेको यो गाउँपालिकाको कुल जनसंख्या ११ हजार ८ सय २४ रहेको छ भने उक्त जनसंख्याले नौकुण्ड गाउँपालिकालाई रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको गाउँपालिकाको रुपमा परिचित गराएको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, युवालाई रोजगारीको अवसर सृजना गर्नमा गाँउपालिकाले कस्तो भुमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङ्वो घलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर बारे छोटकरीमा बताइदिनुस् न विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्याएको छ । कोरोनाको समयमा नागरिकहरु त्रसित भएका थिए । गाउँपालिका भित्र प्रवेश गर्नेहरुलाई हामीले अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । हामीले ५० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने व्यवस्थित आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । यत्तिको तयारी गरेको भएपनि कसैलाई पनि आइसोलेसनमा राख्नुपर्र्ने अवस्था चाहिँ आएन । कोरोनाकालमा गाउँपालिका भित्रका सबै विद्यालयहरु बन्द गरिए । त्यसैगरी विकासनिर्माणका कामहरु पनि ठप्प नै भएका थिए । तर अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । चुरे ढुङगाले धेरैलाई आकर्षित गर्ने गरेको छ । लकडाउन शुरु भएदेखि गाउँपालिकामा पर्यटकहरुको भिड खासै भएको छैन । हाम्रो पालिकाले पर्यटन तर्फ प्रचूर सम्भावना बोकेको हुनाले गर्दा भोलिका दिनमा फेरि पनि पर्यटकहरु आउनेछन् भन्ने विश्वास छ । हामीले मठमन्दिरको डीपीआर गरेर निर्माण गर्ने काम सुरु गरिसकेका छौं । यसका साथै हामीले पर्यटन पुर्वाधारको विकास पनि गरिरहेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । गाउँपालिका बैंकमा जमानी बसेर भेडा गोठ बनाउने तथा बाख्रा पालन गर्ने कृषकहरुका लागि ३ देखि १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । हावापानी अनुसारको कृषि उत्पादनमा जोड दिएका छौं । यहाँको मुख्य पेशा नै खेतीकिसानी नै हो । कतिपयले पशुपालन गरिरहनुभएको छ । पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम पनि हामीले राखेका छौं । हाम्रो गाउँपालिकामा आलु, धान, मकै, कोदो, कफि लगायतका कुराहरु धेरै उत्पादन हुने गरेको छ । हामी बजार व्यावस्थापनमा पनि लागि परेका छौं । गाउँपालिकाको तर्फबाट किसानहरुलाई तरकारी र फलफुलको विउ पनि वितरण गर्दै आइरहेका छौं । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको छ । म निर्वाचित हुनु भन्दा अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । अहिले त सडक पुग्नेमात्र होइन यातायातकै सञ्चालन पनि हुन थालिसकेको छ । खानेपानीको राम्रो व्यवस्था गर्न सकिएको छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । गाउँपालिकाको भवन निर्माण भएको छ । विकास निर्माणको कामहरु पनि धेरै गरेका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षातर्फ पनि ध्यान दिन सकेका छौं । पुलको निर्माण गरेका छौं । मठ मन्दिरको पनि निर्माण गरेका छौं । गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के होलान् नि ? खासै ठुलो योजनाहरु त छैनन् । एउटा ठुलो योजनाको रुपमा नौकुण्ड खानेपानी योजना रहेको छ । यो योजनाको डीपीआरको काम अगाडि बढाएका छौं । स्याउवारी–गोसाईकुण्ड सडकखण्डको डीपीआर भइसकेको छ । प्रदेश बाट घोरल्लो चोकसम्म जाने सडक पिच हुन लागेको छ । ५० लाख रुपैयाँ बराबरको बजेटमा यो सडक पिच हुन लागेको हो । पुल निर्माणको काम पनि सुरु भएको छ । यसका साथै अस्पताल भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छन् भने कतै चाहिँ निर्माण भइसकेको पनि छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् ? स्थानीय तहमा काम गर्दा सामान्य किसिमका समस्याहरु आइपर्ने गर्छ । मुख्य समस्या भनेको विकास निर्माणका काममा आउँछ । जनताको अपेक्षा धेरै छ भने बजेटको आकार चाहिँ सानो छ । सिंह दरबार गाउँगाउँमा आयो भन्ने सरकारको नारा अहिलेसम्म पनि नाराकै रुपमा रहेको छ । हामीले पिउनलाई नियुक्त गर्ने अधिकार पनि पाएका छैनौं । कमै मात्र अधिकार स्थानीय तहमा छ भने बढि अधिकार केन्द्र सकारसँग नै रहेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकार बाट पनि सामान्य सहयोग मिल्ने गरेको छ । केन्द्र सरकार बाट ४० लाख रुपैयाँ बराबरको बजेट आउने गरेको छ । केन्द्र सरकारले विकास निर्माणको काममा पनि सहयोग पुर्याएको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? विदेशबाट फर्केका युवाहरुलाई सामुहिक खेती गर्न लगाएका छौं । हामीले युवा लक्षित कार्यक्रम राखेका छौं भने २० लाख रुपैयाँ बजेट त्यतापट्टि छुट्याएका छौं । बैंकसँग साझेदारी गरेर दक्ष युवाहरुलाई ऋणको व्यवस्था मिलाएका छौं । त्यसैगरी, केही रोजगारी चाहिँ विकास निर्माणको क्षेत्रतर्फ सृजना गरेका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? त्यस्तो ठुलो उद्योग अथवा व्यापारीक कम्पनी त हाम्रो पालिकामा छैनन् । बरु स्थानीय नागरिकहरुले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु चाहिँ धेरै छन् । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? शिक्षा क्षेत्रमा गुणस्तर आइसकेको छैन जसले मलाई सन्तुष्टी मिलेको छैन । यो बाहेक विकास निर्माणको काममा भने म सन्तुष्ट छु । गाउँपालिकामा मानिसहरु प्रायः कस्ता समस्या लिएर आउँछन् ? मानिसहरु गाँउपालिकामा सामान्य किसिमका समस्याहरु लिएर आउने गरेका छन् । कोही खानेपानी अनि सडकको समस्या लिएर आउँछन् । धेरै टाडा भएको एउटा मात्र घरमा सडक पुर्याउनु पर्यो भन्दै आउने पनि छन् । गाउँपालिकामा हाल कस्ता योजनालाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ? हामीले भौतिक पूर्वाधारको कामलाई प्राथमिकता दिएका छौं । विद्युत विस्तार कार्य सबै वडामा पुर्याउन कम्मर कसेका छौं । सडक निर्माणतर्फ पनि जोड दिएका छौं । यसका साथै कृषि, सिँचाई तथा विद्यालयहरु तर्फ पनि ध्यान दिइरहेका छौं । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? गाउँपालिकाका नागरीकहरुलाई समृद्ध बनाउने योजना छ । जे होस्, आफुले जिताएको जनप्रतिनिधि गाउँपालिकाको अध्यक्ष भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्ने कुरामा विश्वस्त छु । आफुले गरेका विकास निर्माणको काम प्रभावकारी होस् र जनता पनि सन्तुष्ट रहुन् भन्ने इच्छा मुताविक विभिन्न किसिमका योजनाहरु बनाएको छु । मेरोे कार्यकाल सकिए पछि पनि जनताले राम्रो काम गर्ने मान्छेका रुपमा मलाई सम्झिउन् भन्ने उद्देश्यका साथ काम गरिरहेको छु ।

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत, कुन शाखामा कति खर्च ?

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइएको छ । शुक्रबार आयोजना गरिएको आठौं नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२ रूपैयाँ स्वीकृत गरेकामा चालुतर्फ विनियोजन भएको पाँच करोड ४२ लाख ५३ हजार ६६० रूपैयाँ मध्ये दुई करोड ९० लाख ६६ हजार ८२२ रूपैयाँ तथा पुँजीगततर्फ १७ करोड ८१ लाख ६० हजार ९९० रूपैयाँ विनियोजन भएकामा पाँच करोड ६३ लाख ४३ हजार ७४८ रूपैयाँ खर्च भएको हो । गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पुँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख विमला राईले जानकारी दिएका छन् । शिक्षा शाखाका लागि १९ करोड ९५ लाख रूपैयाँ विनियोजन भएकामा सात करोड ९६ लाख ७६ हजार ८६२ रूपैयाँ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि ५२ लाख रूपैयाँ विनियोजन भएकामा एक लाख ४० हजार ५२० रूपैयाँ खर्च भएको, स्वास्थ्य शाखाका लागि पाँच करोड ७१ लाख रूपैयाँ विनियोजन भएकामा दुई करोड ७४ लाख ६५ हजार ५४० रूपैयाँ खर्च भएको, योजना शाखाका लागि १७ करोड ८१ लाख ६० हजार ९९० रूपैयाँ विनियोजन गरिएकामा पाँच करोड ६३ लाख ४३ हजार ७४८ रूपैयाँ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको २० लाख रूपैयाँ विनियोजन गरिएकामा पाँच लाख ९४ हजार ६९० रूपैयाँ खर्च भएको छ । नगरसभाले चालु आर्थिक वर्षको स्वीकृत आठ वटा योजनालाई औचित्यता, कारण र पुष्ट्याइसहित संशोधन गरेको छ । तीन लाख ५० हजार रूपैयाँ विनियोजन गरिएको कालिका-देवीथान-धोद्रेखोला ग्रामिण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको छ । रु एक लाख विनियोजन गरिएको ताराखसे-गैरीगाउँ-आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशीलताका लागि ड्राइभिङ तालीम कायम गरिएको नगरसभामा जानकारी दिइएको छ । नगर उपप्रमुख राईले प्रस्तुत गरेका नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिवेदन तथा नगरप्रमुख इवन राईले प्रस्तुत गरेका जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई पारित गरेको छ । एघार वडा रहेको उक्त नगरपालिकाले गत आर्थिक वर्ष राजस्व बाँडफाँटतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालु आवको साढे पाँच करोड रूपैयाँ बढी रकम खर्च गरेको छ । नगरपालिकाको आठौँ हिउँदे नगरसभामा उपप्रमुख राईले चालु आवको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गर्नेक्रममा सङ्घ र प्रदेशले सिलिङअनुसार राजस्व बाँडफाँटतर्फको पैसा नपठाउँदा अधुरो रहेका योजना पूरा गर्न पाँच करोड ५९ लाख ८९ हजार रूपैयाँ आर्थिक दायित्व पूरा गर्नुपरेको जानकारी दिए । कोभिड-१९ को कारण देखाउँदै सङ्घ र प्रदेशबाट सिलिङअनुसारको बजेट नआउँदा आव २०७६/०७७ को अधुरा योजना सम्पन्न गर्ने गरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगरसभामा जानकारी दिइएको छ । गत वर्ष प्रदेश र सङ्घबाट सिलिङअनुसारको बजेट नआएपछि नगरपालिकाको नगरसभाले अधुरा योजना पूरा गर्नका लागि पाँच करोड ५९ लाख ८९ हजार रूपैयाँ विनियोजन गरेको थियो । विनियोजन भएका बजेटमध्ये हालसम्म तीन करोड ७६ लाख १७ हजार रूपैयाँ भुक्तानी भइसकेको र एक करोड ८३ लाख ७२ हजार रूपैयाँमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपूरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ । यस्तै, नगरस्तरीय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालु आवको नगरसभाबाट बजेट विनियोजन गरेर अघि बढाइएको छ । गत आव सिलिङअनुसारको बजेट नआउँदा अधुरो रहेका वडा नं १ बाहुनीडाँडाका आठ वटा, वडा नं २ डिकुवाका १२ वटा, वडा नं ३ च्यास्मिटारका सात वटा, वडा नं ४ बडहरेका ५ वटा, वडा नं ५ दुर्छिमका चार वटा र वडा नं ६ मङ्गलटारका १० वटा योजनालाई चालु आवको बजेटबाट पूरा गरिएको बताए । यस्तै, वडा नं ७ महादेवस्थानका सात वटा, वडा नं ८ धितुङका नौ वटा, वडा नं ९ सल्लेका चार वटा, वडा नं १० अर्खौैलेका छ वटा र वडा नं ११ राजापानीका चार वटा योजनालाई चालु आव बजेट विनियोजन गरेर पूरा गर्नुपरेको जानकारी दिइएको छ । बजेट अभावमा अलपत्र र अधुरो रहेका योजनालाई पूरा गर्न यस वर्ष प्राथमिकतामा राखिएको नगरप्रमुख राईले बताए । “हामीलाई प्राप्त भएको सिलिङअनुसार बजेट निर्माण गर्याैं, योजना बनायौं र सम्झौता गरेर काम अघि बढायौं”, उनले भने, “तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पूरा गर्न हामीले चालु आवको बजेटबाट रकम व्यवस्था गरेर अधुरो रहेका कामलाई अघि बढाएका हौं ।” रासस

निर्वाचनका बेला प्रतिवद्धता गरेका कामहरु पुरा गर्न सफल भएको छु- अध्यक्ष शाक्यसँगको कुराकानी

नेपालको बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो ‘नेत्रावती डबजोङ गाउँपालिका’ । ५ ओटा वडाहरु रहेको यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल मानिन्छ । वाइवा राजाको नामबाट चिनिएको डबजोङ दरबारको नाम र मार्पाकको बेसी हुँदै बगेको नेत्रावती खोलाको नामलाई जोडेर यस गाउँपालिकाको नाम नेत्रावती डबजोङ जुराइएको हो । यस गाउँपालिकाको सिमाना पूर्वमा नुवाकोटको मेघाङ गाउँपालिका, पच्चिममा त्रिपुरासुन्दरी र गंगा जमुना गाउँपालिका, उत्तरमा खनियाबास गाउँपालिका र दक्षिणमा निलामण्ड नगरपालिका सम्म फैलिएको छ । यस गाउँपालिका भित्र धार्मिक महत्वका क्षेत्रहरु जस्तै विन्दुकेशर महादेवस्थान कुण्डला देवी मन्दिर, बाराही मन्दिर र दोश्रो नवबुद्ध क्षेत्र वकाराहा रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कसरी भूमिका खेलेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हाल त्यहाँको अवस्थाका वारेमा पनि छोटकरीमा बताइदिनुस् न विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । सो कालमा हामीले गाउँपालिकाका सबै वडाको विद्यालयमा क्वारेन्टिन स्थापना गरेका थियौं । एउटै विद्यालयमा ६० जनासम्म बस्न सक्ने क्वारेन्टिन निर्माण गरेका थियौं । शिक्षाका साथै विकास निर्माणका कामहरु पनि त्यो वेला प्रभावित भएका थिए । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरु पनि त्रासरहित भएर आफ्नो काम गरिरहनु भएको छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि विकासका क्षेत्रमा धेरै नै काम गर्दै आइरहेका छौं । कृषि विकासकै लागि भनेर हामीले ‘एक घर एक टनेल’ को पनि व्यवस्था मिलाएका छौं । हामीले गाउँपालिकामा कृषि कार्यक्रम पनि राख्दै आएका छौं । समय समयमा कृषकहरुलाई कृषि तालिम पनि दिने गरेका छौं । कतिपय कृषकहरु पशुपालन पनि गरिरहनुभएको छ । पशुपालन सम्बन्धी पनि हामीले केही कार्यक्रमहरु राखेका छौं । पकेट क्षेत्र छुट्याइएको छ भने त्यसमा फरकफरक तरकारीहरुको उत्पादन हुने गरेको छ । उन्नत जातको बाख्रा पनि हामीे वितरण गर्दै आईरहेका छौं । कृषि विकासका लागि भनेर वार्षिक ९० लाख रुपैयाँ बराबरको बजेट छुट्याउँदै आएका छौं । गाउँपालिकाको तर्फबाट फलफुल र तरकारीको विउ निःशुल्क रुपमा वितरण पनि गर्ने गरेका छौं । गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् होला ? हाम्रो गाउँपालिकामा १५ सय बेडको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । ५ करोड रुपैयाँ बराबरको बजेटमा सो अस्पतालको निर्माण भइरहेको छ । त्यसैगरी गाउँपालिकाको भवन बनिरहेको छ भने ३ करोड ३५ लाख रुपैयाँको बजेटमा वडा भवनको निर्माण हुन लागेको छ । यसका साथै स्वास्थ्य भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छने भने कतै निर्माण भइसकेका छन् । त्यसैगरी, सडक निर्माणका कामलाई पनि तिव्रता दिएका छौं । २ करोड रुपैयाँ बराबरका सडक निर्माणका कामहरु यहाँ धेरै छन् । पालिका भित्र २ करोड रुपैयाँसम्मको खानेपानी योजनाहरु चलिरहेको छ । ठाउँठाउँमा विद्यालय भवनहरु निर्माण गर्ने काम पनि भइरहेको छ । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? प्रभावकारी नै भएको छ भन्नुपर्छ । हामीले ‘एक घर एक धारा’ अभियान पनि चलाएका छौं । यो वर्ष गाउँपालिका भित्रका ३ हजार घरधुरीमा खानेपानी पुग्ने छ । विकासका कामहरु सोचेझैं भएकोले होला जनताहरु पनि मसँग खुसी नै छन् जस्तो लाग्छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? पहिलाको तुलनामा अहिले धेरै परिर्वतन आएको छ । म निर्वाचित हुनु अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । अहिले गाउँपालिकामा बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । पहिला खोलामा झोलुङ्गे पुल पनि नरहेको अवस्था थियो भने हाल झेलुङ्गो पूलको स्थापना भएको छ । खानेपानीको राम्रो व्यावस्था भएको छ । टनेल खेतीको व्यवस्था मिलाएका छौं । सिँचाईको काम पनि हामीले गरेका छौं । बाख्रा पकेट क्षेत्र पनि छुट्याएका छौं । अपाङ्ग नागरीकहरुलाई विभिन्न किसिमका तालिम दिई रहेका छौं । विकास निर्माणको काम पनि धेरै गरेका छौं । विद्यालय भवन निर्माण भएको छ । गुणस्तरीय शिक्षातर्फ ध्यान दिएका छौं । मठ, मन्दिर अनि गुम्बाको निर्माण गरेका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले युवालाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु राखेका छौं । हातमा सिप भएका युवालाई सहकारीसँग समन्वय गरेर ऋणको व्यवस्था मिलाएका छौं । यदी कुनै युवा केही गर्न चाहन्छ भने गाउँपालिकाको तर्फबाट १ लाख रुपैयाँ र सहकारीबाट १ लाख रुपैयाँ गरी जम्मा २ लाख रुपैयाँ ऋण पाउन सक्छ । अदक्ष कामदारको लागि श्रम बैंकको पनि व्यवस्था मिलाएका छौं । हामीले श्रमदानमार्फत युवाहरुलाई रोजगारी पनि दिने गरेका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा रहेको छ । सो कार्यक्रममा छनोट भएका युवालाई हामीले रोजगारी पनि दिने गरेका छौं । केही समय अगाडि ग्रामीण कृषि कार्यकर्ता भनेर पनि हामीले कार्यक्रम चलाएका थियौं । त्यसैगरी, विकास निर्माणको काममा लगाएर भएपनि रोजगारको सृजना गरेका छौं । बागमती प्रदेशले सवलोनको व्यवस्था गरेको छ । उत्पादनमा काम गर्ने समुहलाई ऋण चाहिएमा ३ प्रतिशत व्याजदरमा विना धितो ५ लाख रुपैयाँ ऋण दिने र यदी व्यक्तिगत रुपमा ऋण चाहिएको छ भने चाहिँ धितो राखेर १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाएका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रका पर्यटन क्षेत्रहरुको प्रचारप्रसारमा राम्रो ध्यान दिएका छौं । एसै त हाम्रो गाउँपालिकाले पर्यटन तर्फ प्रचूर सम्भावना बोकेको छ । पर्यटन क्षेत्रका रुपमा यहाँ डबजोङ दरबार रहेको छ । यसको संरक्षण गर्नका लागि १० लाख रुपैयाँ केन्द्र सरकारबाट आएको छ । विन्दुकेशर महादेव भएको स्थानमा चैत महिना भरी मेला पनि लाग्ने गरेको छ । पिक्निक स्पटहरु पनि टन्नै छन् । सेमजोङ भन्ने ठाउँ पूर्वको ईलामजस्तै सुन्दर र रमणीय छ । नव बुद्ध क्षेत्र पनि आकर्षणको केन्द्रका रुपमा रहेको छ । हामीले पर्यटन पुर्वाधारको विकास पनि गरिरहेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ ? गाउँपालिकाले शैक्षिक विकासका लागि धेरै काम गर्दै आएको छ । यहाँका सम्पूर्ण विद्यालयहरुमा पक्की भवन निर्माण भएको छ । विद्यालयमा खानेपानीको तथा लाइब्रेरीको व्यावस्था मिलाएका छौं भने यसका अलावा माध्यमिक विद्यालयमा कम्प्युटरको व्यवस्था गरेका छौं । विज्ञान प्रयोगसालाको व्यवस्थापन गरका छौं । गाउँपालिकाका विद्यालयहरुमा १–१ ओटा स्मार्ट टीभी वितरण गरेका छौं । विद्यालयलाई गाउँपालिकाको तर्फबाट स्मार्ट बोर्ड पनि दिने कुरा भइरहेको छ । शिक्षकहरुलाई बेला बेलामा तालिम दिने गरेका छौं । तपाईंको पालिकामा सवैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? ठुलो उद्योग त हाम्रो गाउँपालिकामा छैन भन्दा पनि हुन्छ । बरु कृषि उद्योग चाहीँ धेरै संख्यामा छन् । गाउँपालिका भित्र मझौला उद्योग पनि सञ्चालन भएको छ । कृषकहरुले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायत गर्दै आएका छन् । गाउँपालिकामा हाल कस्तो योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? हामीले भौतिक पूर्वाधारको कामलाई नै अगाडी सारेका छौं । युवाहरुको क्षमता अभिवृद्धिका कुराहरु पनि प्राथमिकतामा छ । विद्युत विस्तार कार्य सबै वडामा पुर्याउनुपर्छ भनेर जोड गरेका छौं । जनताको आधारभुत आवश्यकतालाई पनि अगाडी सारेका छौं । सडकको विकासका लागि पनि हामीले जोड दिएका छौं । यसका साथै कृषि, सिँचाई तथा विद्यालयको पूर्वाधार लगायतका कामलाई पनि प्रथामिकतामै राखेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकारबीच राम्रो समन्वय भएको छ । स्थानीय तहमा ठुलो बजेटमा विकास निर्माण गर्नुपरेको अवस्थामा डीपीआर गरेर प्रदेश सरकारलाई पठाउने गरेका छौं । विकास निर्माणको काममा पनि प्रदेश सरकारसँग समन्वय हुने गरेको छ । गाउँपालिकाले सोचे अनुसारको नै बजेट तथा योजनाहरु आईरहेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् नि ? स्थानीय तहमा काम गर्दा सामान्य किसिमका समस्याहरु देखा पर्ने गर्दछन् । केही समय अगाडी कर्मचारीहरुको अभाव थियो । पहिला गाविस भएको कारणले गर्दा बजेट पनि थोरै आउने गरेको थियो । हाल यो समस्याको सामाधान भइसकेको छ । उपभोक्ता समितिमा पनि समस्या रहेको छ । कहिलेकाहीँ विकास निर्माणको काममा पनि समस्या देखापर्ने गरेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ त ? केन्द्र सरकारले हामीलाई सहयोग गरेकै छ । विशेष अनुदानको रुपमा हामी केन्द्र सरकारसँग पनि काम गरिरहेको छौं । केन्द्र सरकारबाट वार्षिक १० करोड रुपैयाँ बराबरको बजेट आउने गरेको छ । विभिन्न क्षेत्रमा बजेट छुट्याएर केन्द्र सरकारले पठाउने गरेको छ । तपाईंले गरेको विकास निर्माणका कार्यप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म त एकदम सन्तुष्ट छु । विगतमा कुनै पनि संरचना थिएन । विगतकोभन्दा अहिले धेरै नै विकास निर्माणका कामहरु भएका छन् । निर्वाचनमा बोलेका कुराहरु पूरा गर्न सफल पनि भएका छौं । जनताको गुनासोलाई सम्वोधन गर्न सकिएको छ । म मात्र होइन विकास निर्माणको काम प्रभावकारी भएकाले यहाँको नागरिक पनि सन्तुष्ट भएको नै पाएको छु । सायद उहाँहरुको सन्तुष्टीले नै मलाई पनि सन्तुष्टि मिलेको हुनुपर्छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मूख्य योजना भनेकै जनताको आधारभुत आवश्यकतालाई पुरा गर्ने हो । गाउँपालिकाको प्रत्येक घरमा विद्युत पुर्याउने लक्ष रहेको छ । खानेपानीको उचित व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभुत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, पुर्वाधारको विकासतर्फ कम्मर कसेर अघि बढ्ने मैले योजना बनाएको छु ।