कृषि क्षेत्रको विकास लागि किसानलाई अनुदानमा कृषि उपकरण
बाँके । बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो । ‘किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका हौँ’, उनले भने । आर्थिक विकास समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर शाहीका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर वितरण गरिएको छ । पालिकाले किसानलाई अनुदान दिने निर्णय गरेअनुरुप उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरको थियो । निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो । खेती योग्य जमिनका आधारमा मल वितरण प्रत्येक वर्ष झैं यस वर्ष पनि बाँकेका किसानले मलको भाव झेल्दै आएका छन् । धानखेती हुने जमिनको आधारमा गाउँपालिकालाई रासायनिक मल वितरण गर्न थालिएको छ । ‘धान खेती धेरै र कम हुने जमिन पत्ता लगाएर त्यही अनुसार पालिकालाई दामासाही तरिकाले रासायनिक मल वितरण गरिरहेका छौँ’, कृषि बीउबिजन कम्पनी नेपालगन्जका प्रमुख रमेश पौडेलले बताए । बाँकेमा धान खेतीका लागि छ हजार मेट्रिक टन मल माग भएको थियो । अहिलेसम्म दुई हजार पाँच सय ८१ मेट्रिक टन युरिया मल आएको पौडेलले बताए । मागबमोजिम मल नआएपछि यही असार ८ गतेदेखि मात्र मल बिक्री वितरण सुरु गरिएको हो । एउटा गाउँपालिकालाई एक हजार बोरा डिएपी र एक हजार दुई सय बोरा युरिया वितरण गरिएको छ । बाँकेमा तीन हजार मेट्रिक टन डिएपी माग भएको थियो तर अहिलेसम्म एक हजार तीन सय ४१ मेट्रिक टन मात्र वितरणका लागि आएको छ । पौडेलका अनुसार आइतबारसम्म बाँकेको राप्तीसोनारी, वैजनाथ, डुडुवा गाउँपालिकासहित कोहलपुर नगरपालिकामा मल वितरण गरिएको छ । कम्पनीले सहकारीमार्फत रासायनिक मल कृषकलाई दिँदै आएको छ । सरकारी अनुदानको मल नपाएपछि बाँकेका किसान भारतबाट खरिद गर्न बाध्य थिए । रासस
एकल पुरुषलाई विदुर भत्ता दिने
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिइन् । आगामी आवमा कार्यान्वयन हुने गरी एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सो कार्यक्रमले हिमाका एकल पुरुषलाई राहत मिल्ने स्थानीयवासी बताउँछन् । कृषि क्षेत्रमा थप आकर्षण बढाउन गाउँपालिकाभित्रका विभिन्न वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने नीति तथा कार्यक्रम ल्याइएको उपाध्यक्ष सुपर्ना शाहीले बताइन्। वडा नं १ लाई धान पकेट क्षेत्र, आाचार्यलिहीलाई तरकारी पकेट क्षेत्र, वडा नं २ को ओदीलाई आलु र लसुन पकेट क्षेत्र, वडा नं ३ लाई स्याउ, ओखर र फलफूल पकेट क्षेत्र, वडा नं ४ र ७ लाई गहुँ पकेट क्षेत्र, वडा नं ६ को पाथरखोलालाई मौरी पकेट क्षेत्र तथा वडा नं ५ को बुअ र वाजागाडालाई भेडा, सिमी तथा स्याउ पकेट क्षेत्र विकास गरी गरिबीको रेखामुनि रहेका बेरोजगार युवालाई उत्पादनशील कार्यक्रममा आबद्ध गर्न आवश्यक बजेटसहितको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले निःशुल्क स्वास्थ्य बीमा, गाउँपालिकाबाट लोक सेवा आयोगमार्फत अधिकृत वा सोभन्दा माथिका पदधारण गर्ने विशिष्ट व्यक्तिलाई सम्मान कार्यक्रम, पालिकाभित्र सार्वजनिक बस सेवा, विद्यार्थीसँग अध्यक्ष कार्यक्रममार्फत विभिन्न शैक्षिक सुधारका रणनीति गाउँपालिकाको १४औँ गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।
छोरी जन्माउने आमालाई ५ हजार रुपैयाँ दिने
सर्लाही । बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई पाँच हजार सुत्केरी भत्ता दिने भएको छ । मधेसमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रुण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप पाँच हजार रुपैयाँ दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै दलित समूदायको उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने समेत घोषणा गरेकोे छ । नगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम र बजेटठमा नेपालका प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, बागमती नदी किनारमा आधुनिक आर्यघाट निर्माण, सुविधायुक्त बजार केन्द्र निर्माण, सांस्कृतिक नमुना बस्ती, बागमती माछापोखरी (भरत ताल) पर्यटन पूर्वाधार निर्माण आयोजना, बागमती फनपार्क आयोजना, बागमती रिसोर्ट, कृषि आधुनिकीकरण कार्यक्रम, नगर बगैँचा आयोजना, बौद्ध तपोवन पर्यटकीयस्थल निर्माण लगायत समेटेको छ । नगरपालिकाको आगामी आवका लािग ९० करोड १० लाखको बजेट सार्वजनिक गर्दै करिब एक दर्जन योजनालाई नगर गौरबका योजनाको रुपमा समेटेको छ । जङ्गबहादुर राणा विसं १८७४ असार ४ गते अर्घाखाँचीमा जन्मिएका र तराईमा सिकार खेल्न आएको समयमा १९३३ सालमा रौतहटको पत्थरघट्टामा निधन भएको थियो । उनको अन्त्येष्टि भने सर्लाहीको बागमती नगरपालिका(७ राजघाटस्थित मानेचौरमा गरिएको थियो । अहिले नगरपालिकाले सोही स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागेको हो । रासस