नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले रासससँग कुरा गर्दै सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिए । उनले निषेधाज्ञामा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्याउन थालिएको जानकारी दिए । प्रहरी चौकी जमुनाहाका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार पाँच सय नेपालीलाई गन्तव्यमा पुर्याइएको जानकारी दिए । उनले भारतको सिम्ला, कालापहाड, दिल्ली लगायतका ठाउँबाट दशैं मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्याइएको र त्यहाँबाट नागरिकहरु गन्तव्यमा पुगिरहेका पनि बताए । रासस

पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ । गत साउन पहिलो सातादेखि महानगरपालिकाले खानेपानीको नियमित रुपमा गरेको अनुगमनका क्रममा यस्ता किसिमका त्रुटि फेला परेको जनाएको हो । महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाका अनुसार अहिले पिउने पानीमा नै ठूलो समस्या रहेको छ, जहाँ  मिसावट र अखाद्य कम भेटिए पनि प्रक्रिया नै पूरा नगरी बिक्री वितरण हुनु समस्या हो । पानी वितरण प्रक्रिया अव्यावहारिक र कानुन विपरीत रहेको जनाउँदै डा झाले नियमित अनुगमन गरेर कारबाहीको दायरामा ल्याउने बताए । उनले भने, ‘यसमा उपभोक्ताले पनि ध्यान दिन आवश्यक छ, कस्तो जारको पानी खाँदैछौँ त्यस विषयमा ध्यान दिनुपर्छ, बाहिरीरुपमा कुच्चिएको, पुरानो र बिल बिनाका जारको पानी किन्नु हुँदैन ।’ त्यसैगरी जारको बिर्कोमा भएको संस्थाको नाम र लेबलमा भएको संस्थाको नाम एकै हुनुपर्छ, लेबल नराखिएको जारको पानी प्रयोग नै नगर्न उनले उपभोक्तालाई आग्रह गरेका छन् । माथि उल्लिखितभन्दा फरक जार बिक्री वितरण गरेको पाइए महानगरको कृषि विभागमा जानकारी दिन पनि प्रमुख झाले आग्रह गरेका छन् । हाल काठमाडौं महानगरपालिकाभित्र पानी वितरण गर्ने एक सय ८० संस्था रहेका छन् । विभागले अहिले महानगरका ३२ वटै वडामा पानीको अनुगमन गरिरहेको छ । महानगरले चालु आर्थिक वर्षमा पानीसँगै दूध र तेलको पनि गहिरिएर अनुगमन गर्ने जनाएको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवं घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन नियमित रुपमा भइरहेको महानगरले जनाएको छ । महानगरले पिउने पानीका लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घर लगायतका बारेमा अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कामपाले नियम विपरीत सञ्चालन भएको माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीका जार नष्ट गरेको छ । माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीले महानगरको कार्यालयसहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो । महानगरले पानीको गुणस्तरसँगै पानी राख्ने जारको बाहिरी अवस्थाको बारेमा जानकारी लिएर नियम विपरीतलाई कारबाही र जार नष्टसमेत गर्दै आएको छ ।

म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सोमबार बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ । महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।