महानगर प्रहरी प्रमुखमा पाण्डेको वढुवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो । विसं २०५० मा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गरेका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि काठमाडौं महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो । हाल महानगर प्रहरीमा तीन सय हाराहारीमा जनशक्ति रहेको छ ।
दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि…
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्चिङले बताए । दसैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन् । बिना जानकारी कार्यालय छाडेर हिँडेका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘कर्मचारीले दसैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन् । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भक्तानी दसैँ अगाडि नै भुक्तानी गर्नुपर्ने छ । यति धेरै काम अलपत्र छाडेर बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँड्नुभएछ’, उनले भने, ‘उनलाई सम्पर्क गरी २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु । यो कुरा मन्त्रालयमा पनि जानकारी गराएको छु । हाजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।’ प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताएका छ । ‘आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु’, उनले भने, ‘दसैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पुर्याउन नसकिने गाउँपालिकाले जनाएको छ । भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत रेग्मीबिना जानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको ‘स्टाटस’ लेखेका छन् । सामाजिक सञ्जालमा गाउँपालिका बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गरी बिना प्रमाण भ्रमको खेती नगर्नरनगराउन अनुरोध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उनको ज्यान सुरक्षाकोसमेत सम्यमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ । ‘सामाजिक सञ्जालमा बिना प्रमाण सिङ्गो गाउँपालिकाको मानमर्दन हुनेगरी दुष्प्रचार भइरहेको छ । केही व्यक्तिद्वारा गलत तथा कपोकल्पित, मनोमानी, स्वच्छाचारी र भ्रमपूर्ण ढङ्गबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकार्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुँदाहुँदै भ्रमपूर्ण सूचना प्रवाह नगर्न नगराउन अनुरोध छ ।’ रासस
१५ करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण
काठमाडौं । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार रुपैयाँ लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गरे । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवा प्रवाह गर्न आग्रह गर्दछु”, उनले भने । टोखा नगर प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको जनाउँदै सबैले साथ र सहयोग गर्न आग्रह गरे । उनले छरिएर रहेको सेवालाई नयाँ भवन निर्माणसँगै एकै ठाउँबाट प्रवाह गरिने बताए । विसं २०७६ माघ १२ गते सम्झौता भएर विसं २०७६ फागुन २८ गते शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण सम्पन्न भएको हो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जग्गा, स्रोत साधनका अभावका कारण समयमै निर्माण सम्पन्न गर्न कठिन भएको जानकारी दिए । विसं २०७८ मा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको उक्त भवन दुई वर्ष ढिला गरी विस २०८० असार २५ गते सम्पन्न भएको थियो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् ।