बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए । ‘वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ’, उनले भने, ‘बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई भने बिक्री गर्न नपाइने नियम लागू गरिएको छ ।’ वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाई गरेको बताए । वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । निर्णयविपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण गरेको पाइए पाँच सय जरिवाना गरिनेछ । पछिल्लो समयमा विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयको त्यसको नियन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो । त्यस्तै वडाभित्र दर्ता नभई सञ्चालनमा रहेको व्यवसायीलाई अनिवार्य पसल दर्ता गरेर मात्र सञ्चालन गर्न पनि वडा कार्यालयले निर्देशन दिएको छ । रासस

कर्मचारी हटाएपछि वीरगञ्ज महानगरको सरसफाइ अभियान प्रभावित

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरसफाइ कर्मचारी हटाएपछि महानगरको सरसफाइ प्रभावित भएको छ । महानगरपालिकाले सरसफाइका दुई सय ५० जनासहित करिब छ सय जना कर्मचारीलाई गत २०८० भदौ २६ गतेदेखि एकै पटक सेवाबाट हटाएको थियो । सरसफाइ कर्मचारी हटाइएपछि महानगरले सुरु गरेको सरसफाइ विशेष अभियान प्रभावित भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए । सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आइरहेको छ । तर नियमित सरसफाइमा संलग्न कर्मचारीलाई कामबाट हटाएपछि सरसफाइको काम प्रभावित भएको प्रमुख मियाँको भनाइ छ । “हामीले मुख्य तथा सहायक गल्लीमा दैनिक तीन पटकसम्म नियमित सरसफाइ गर्नुको साथै जथाभावी फोहर फ्याक्नेलाई जरिवानासमेत गर्दै आएका छौँ”, उनले भने, “यसका कारण सडक सफा भएर शहर सुन्दर बन्न थालेको छ, तर एकैपटक ठूलो सङ्ख्यामा सरसफाइका कर्मचारी नै कामबाट हटाइएपछि अहिले पछिल्लो समय सरसफाइको काम गर्नै सकिरहेका छैनौँ ।” महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ । तर सरसफाइका कर्मचारी हटाइएपछि अब कसरी अघि बढ्नेमा आफूहरु अन्यौलमा रहेको सरसफाइ प्रमुख मियाँको भनाइ छ । “जथाभावी फोहर फ्याक्नेसँग हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, तै पनि अझै फोहर फ्याल्ने क्रम रोकिएको छैन”, सरसफाइ उनले भने, “जरिवाना गर्दा फोहर फ्याल्ने केही कम त भएको छ, तर अपेक्षाकृत रुपमा घटेको छैन् ।” त्यसैले अब फोहर फ्याल्नेलाई जरिवाना मात्रै होइन सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने हामीले तयारी गरेका छौँ । ” उनका अनुसार गत २०७९ पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहर फ्याक्ने व्यक्ति र संस्था गरी पाँच सय ७५ जनाबाट महानगरले रु १९ लाख ७७ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । “घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याक्ने स्थानीयमा प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भने, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।  “मेयर साहवको मुख्य चाहना नै सफा, सुन्दर वीरगञ्ज नगरवासीलाई दिने हो”, प्रमुख मियाँले भने, “त्यही योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेका छौँ, तर सरसफाइ कर्मचारी हटाइएकाले समस्या भएको छ ।” विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो । तर सरफाइका कर्मचारी हटाएपछि फेरि पुरानै अवस्थामा त फर्किने होइन ? भन्ने आशङ्का लाग्न थालेको वीरगञ्ज–६ का राजेश साहको भनाइछ । ‘‘सरसफाइका कर्मचारी दैनिक सडक र नाला सफा गर्दा सडक चिटिक्क बनेको छ”, उनले भने, “तर केही दिनयता सरसफाइका कर्मचारी सफा गर्न नआउँदा फेरि सडकमा फोहर थुप्रिने र दुर्गन्ध बढ्न सक्नेछ ।” यसतर्फ महानगरपालिका समयमै गम्भीर हुनु आवश्यक छ, उनको भनाइ छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले विधिवत् नियुक्ति नभएको जनाउँदै व्यापक जनगुनासो आएपछि करार, ज्यालादारीका कर्मचारीलाई सेवाबाट हटाउनुपरेको जानकारी दिए । “कर्मचारी हटाइएपछि समस्या त भएको छ, तर तत्काल कर्मचारी भर्ना गर्नसक्ने अवस्था छैन”, उनले भने, “स्थानीय सरकारले कर्मचारी भर्ना गर्न प्रदेशसभाबाट कर्मचारी भर्नासम्बन्धी ऐन बनाएर आउनुपर्छ, तर प्रदेशसभाले ऐन बनाउन सकेको छैन, त्यसैले समस्या भएको हो ।” प्रदेशसभाबाट  ऐन नबन्दासम्म कर्मचारी नियुक्त गर्न सकिँदैन, ऐन बनेर आएपछि मात्र कर्मचारी नियुक्ति प्रक्रिया सुरु गरिने उनको कथन छ ।  रासस

मापदण्डविपरीत व्यवसाय गर्ने रसुवाका दुई व्यवसायीलाई जरिवाना

रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ । कारबाही पर्नेमा कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित आरएस एभ्रोभेट तथा तरकारी पसलका सञ्चालक रामशरण न्यौपाने र उत्तरगया गाउँपालिका–५ बेत्रावतीस्थित रिभर भ्यु गेष्ट हाउसका सञ्चालक केदारप्रसाद अधिकारी  छन् । घुम्ती बजारका न्यौपानेले खाद्य तथा अखाद्य दुवै प्रकारका  वस्तु अव्यवस्थित तवरले एकै स्थानमा राखी मापदण्ड विपरीत बिक्री गरेबापत रु १० हजार र सञ्चालक अधिकारीले गेष्ट हाउसमा मानव स्वास्थ्यलाई असर पर्ने खाद्यवस्तु प्रयोग गरेबापत रु पाँच हजार जरिवाना गरेको घरेलु उद्योग कार्यालयका प्रमुख बृहस्पति तामाङले बताए । पछिल्लो समय बजार अुगमन समितिले अनुगमनलाइ तीब्र बनाउँदै सचेतना र जरिवाना दुवै  एकै साथ अगाडि बढाएको छ । बडादसैँ नजिकिँदै गएको र उपभोक्ता माझ गुणस्तरीय  खाद्य सामग्री पुगोस् भन्ने पवित्र उद्देश्यले सरकारी मापदण्डको अधिनमा रही जिल्लका व्यापारिक क्षेत्रको अनुगमन  तीव्ररूपमा अगाडि बढाइएको बजार  अनुगमन  समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीले जानकारी दिए । खाद्य गुण नियन्त्रको मापदण्डका अधिनमा रही व्यवसाय दर्ता गरेर मात्र व्यापार व्यवसाय अगाडि बढाउन सबै व्यापारीलाई अनुगमन समितिले अनुरोधसमेत गरेको छ । पहिलो चरणअन्तर्गत बुधबार बेत्रावती बजारका १७ पसलको अनुगमन सम्पन्न गरिएको र अनुगमनको क्रममा खाद्यान्नको प्रकार र त्यसको उपभोग गर्ने समयावधि, बिलविजक जारी, सरसफाइ, राजस्वको स्थायी लेखा नम्बर, उद्योग वाणिज्य दर्ता प्रमाणपत्रसमेतका कागजात हेरिएको संयोजक ज्ञवालीले जानकारी दिए । उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुप्साङ तामाङ, कोष तथा लेखा नियन्त्रण कार्यालयका नियन्त्रक रवीन्द्र भुजेल, प्रहरी निरीक्षक राजीव बस्नेत एवं प्रहरी सहायक निरीक्षक काशीराम बुढा एवं सञ्चारकर्मीसमेतको रोहवरमा जरिवाना गरिएको बताइएको छ । जिल्लाका व्यापारिक केन्द्रमा  अखाद्य वस्तु बिक्री गरेको जानकारी पाएमा अनुगमन समितिलाई  सूचना दिई सहयोग गर्न बजार अनुगमन समितिले आग्रह समेत गरेको छ । रासस