चिल आँखामा राजधानी सुरक्षा, सीसीटिभीमार्फत दसैंलाई राजधानीको सुरक्षा संयन्त्रमा कडाई
काठमाडौं १७, असोज । दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ । दसैंका बेला गाउँ सहरमा चोरी डकैती बढ्छ। विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन् । उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको छ । यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ । इगल आइ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुने छैन । चिलले आकाशमा कावाँ खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुनसक्ने लुटपाट, चोरी, झै झगडालाई ‘ईगल आई’ नाम दिइएका ३ सय ३५ वटा सिसिटिभी क्यामेरेलाई नियाल्नेछन् । र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।
नेता तथा सांसदहरु दशैं मान्न विदेशतिर, आफन्त भेटघाटको नाममा नेपाली पैसा विदेशमा
काठमाडौं १७, असोज । सर्वसाधारण दशैं मान्न गाउँ गइरहँदा मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन् । केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश फर्कने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका छन् । यसैगरी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार नयाँ दिल्ली जाँदै छन् । यही क्रममा उनले स्वास्थ्य परीक्षण पनि गर्ने बताइएको छ । दशैपछि मात्र उनी काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उनकी छोरी भारतको पुनामा अध्ययन गर्दै छिन् । यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली जाने तयारीमा छन् । त्यसो त केही मन्त्री पनि यतिखेर विदेशमा छन् । पर्यटनमन्त्री रमी गौचन, भूमिसुधारमन्त्री विक्रम पाण्डे अहिले विदेशमा रहेका छन् ।
दसैँको उपहार लिएमा लिनेदिने दुबैलाई कारबाही, चाडवाडका नाममा उपहार लिनेदिने बन्द
काठमाडौं १६, असोज । दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, खोरमा थुनिनु पर्ला। विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन दिइएको समाचार आइतबारको गोरखापत्रमा छापिएको छ। यसरी आएको कुनै चिज–बस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस विषयमा पत्राचार नै गरेको छ । महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले चाडबाडका नाममा नगद तथा मासु र मदिरालगायतका बस्तु उपहार लिनुरदिनु लज्जाजनक कार्य र कानुनी रूपमा अपराध भएको बताए। प्रहरीले यस्तो कुरा लिनै मिल्दैन । उनले भने, “यदि कसैले लिएको पाइएमा तत्काल कारबाही हुनेछ र दिनेलाई समेत कारबाही हुन्छ । ” उनले उपहार लिने र दिने नाममा चाडबाडमा प्रहरी बदनामी हुने गरेकाले कोही दिन आएमा फिर्ता गर्न निर्देशन दिएका छन्। महाशाखा अन्तर्गत उपत्यकामा रहेका प्रत्येक प्रभाग र वृत्तलाई दसैँको उपहार नलिन निर्देशन दिएको छ । महाशाखाले दसैँ र तिहारमा मापसे चेकिङलाई कडा र प्रभावकारी बनाउने तयारी गरेको छ । चाडबाडको रमाइलोका नाममा मदिरा सेवन अधिक हुने भएकाले सवारी दुर्घटना नियन्त्रण गर्न मापसे चेकजाँच कडा पारिएको हो । यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि मातहतका प्रहरी कार्यालय वृत्त, प्रभाग र बिट प्रमुखलाई क्षमताले भ्याए खसी नभ्याए फर्सी खाएर दसैँ र तिहार मनाउन निर्देशन दिएको छ । परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले दसैँका नाममा खसी, बोका, मदिरा र नगद मागे कारबाही हुने सबैलाई मौखिक रूपमा निर्देशन भइसकेको जानकारी दिए। यसैबीच, गोङ्गबु नयाँबसपार्कबाट सुदूरपश्चिम क्षेत्रमा चल्ने बसको टिकट सकिएको हल्ला फैलिएपछि त्यसको समाधान गर्न प्रहरी निरीक्षक पूर्णिमा चन्द आफै खटिएका छन्। महानगरीय प्रहरी प्रभाग बसपार्क प्रमुख चन्दले टिकट सकिएको हल्ला निराधार भएको बताए। अन्य क्षेत्रको भन्दा सुदूरपश्चिम जानेको चाप बाक्लो छ, उनले भने, ‘सीमित यातायातका साधन, यात्रुको बाक्लो चापका कारण टिकटमा सामान्य समस्या देखिए पनि बस थप्नेबित्तिकै सबै समस्या समाधान हुन्छ, बसपार्क क्षेत्र आजसम्म अपराधमुक्त क्षेत्र भएको छ ।’