१० लाखमा गोठजत्रो घर बनाउनेसँग स्पष्टिकरण
काठमाडौं १०, भदौ । गोरखाका बिभिन्न ठाउँमा १० लाख खर्च गरेर खोरजत्रो घर बनाएको क्याथोलिक रिलिफ सर्भिस (सिआरएस)सँग जिल्ला विकास समिति, गोरखाले तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेको छ ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले गैरसरकारी संस्थाले गरेको कामको बारेमा लिखित जवाफ माग गरिएको जानकारी दिए । ‘समाचारमा आएको बिषय मा के कसो भएको हो तीन दिनभित्र सबै बिबरण सहित लिखित जवाफ पेश गर्नू भनेर हामीले पत्र पठाएका छौं’, स्थानीय विकास अधिकारी आचार्यले भने ‘उनीहरुको जवाफ आएपछि त्यसको गहन अध्ययन गरी दोस्रो चरणमा के गर्नुपर्छ गर्छौं ।’ उनले सिआरएससँग यसअघि मौखिक रूपमा पनि सोधपुछ गरेको बताए । ‘मौखिक जवाफ माग्दा सो घर बस्ने प्रयोजनका लागि नभई डमीका लागि मात्र बनाएको हो भने’, स्थानीय विकास अधिकारीले उनीहरुको भनाइ उद्धृत गर्दै भने, ‘प्रशिक्षार्थीहरुलाई तालिम दिँदा सो घर बनाएको भनेका थिए ।’ लिखित जवाफको आधारमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।
प्राचीन ढिकी जाँतो संरक्षणमा जुट्दै आमाहरू
पोखरा, ९ भदौ । आधुनिकतासँगै लोप हुन लागेको प्राचीन कुटानी तथा पिसानीको महत्वपूर्ण साधनका रुपमा परिचित ढिकी र जाँतो संरक्षणमा आमाहरु जुटेका छन् । पोखरा उपमहानगरपालिका वडा नंं १७ स्थित शुभकामना आमा समूहले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रमुख प्रवेशद्वार रातोपैह्रास्थित सार्वजनिक जग्गामा ट्रष्ट भवन निर्माण गरेर लोपोन्मुख ढिकी र जाँतो स्थापना गरेको हो । ढिकीमा रातभरि धान कुट्ने र जाँतोमा मकै, कोदो पिस्ने गरे पनि पछिल्लो समय आधुनिक मेसिनका कारण लोप हुन लागेको ढिकी र जाँतोको बारेमा भावि पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ ढिकी जाँतो स्थापना गरिएको आमा समूुहकी अध्यक्ष माया गुरुङले बताए । उनका अनुसार सार्वजनिक जग्गामा निर्माण गरिएको ट्रष्ट घरभित्र काठको मुढो, ओखल, दुईवटा खम्बा, औलो, दाँते मुसल, लुडी भएको ढिकी एवम् ढुङ्गाको दुईवटा पलेटा, काठको मानी, फलामको मानी, हातोसहितको जाँतो निर्माण गरिएको छ । टोल छिमेकमा हुने शुभकार्यमा नाचगानजस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आम्दानी भएको रु दुई लाख खर्चेर सो भवन र ढिकी जाँतो स्थापना गरिएको अध्यक्ष गुरुङ बताउछन् । समूहद्वारा यसअघि पार्क एवम् डिलबार निर्माण समितिद्वारा गाडिएका फलामका पोलमा रेलिङबार निर्माण गरी सेतीनदीको भिरमा सुरक्षित बारको समेत व्यवस्था गरिएको छ । आधुनिक मेसिनको तुलनामा ढिकीमा कुटेको चामल र जाँतोमा पिसेको पिठो स्वादिलो र पोसिलो हुने आमा समूहका सल्लाहकार ८२ वर्षीय लीलावती बास्तोला बताउछन् । “ढिकी र जाँतो स्थापनासँगै चाडपर्व र विवाहका अवसरमा सेलरोटी पकाउन र कसार बटार्नका लागि चालमको पिठो कुट्नका यस क्षेत्रका बासिन्दालाई निकै सुविधा पुग्नेछ” – उनले भने । नवनिर्मित ढिकी जाँतोको बुधबार एक समारोहका बीच आमा समूहका पूर्व अध्यक्ष मञ्जु खड्काले शुभारम्भ गरे । नेपाली महिलाको महान् पर्व हरितालिका तिजको अवसरमा सामूहिक दरखाने र २०७२ सालको एसएलसी परीक्षामा उत्तीर्ण आमा समूहमा आबद्ध २२ जना छोराछोरीलाई सम्मान गरिएको थियो । विसं २०५३ मा स्थापित सो समूहद्वारा यसअघि आफ्नै निजी खर्चमा समाजमा आवश्यक विभिन्न विकास निर्माणका कार्य सम्पन्न गरिसकेको छ । सो समूहले उक्त स्थानमा लगभग रु १० लाखको लागतमा दुईतले बहुउद्देश्यीय पक्की भवन निर्माण गरी सञ्चालनमा आएको समूहका उपाध्यक्ष हीरा अधिकारीले जानकारी दिए । उनका अनुसार भवनको माथिल्लो तल्लामा सभाहल र एउटा समूहको बन्दोबस्तीका सामग्री राख्ने कोठा रहेको छ भने तल्लो तलामा रहेको एउटा सटर भाडामा दिएको सो आम्दानीबाट विद्युत् महसुल र सरसफाइमा खर्च गर्ने गरेको छ । छिमेकको कुनै पनि घरमा शुभकार्य होस् वा लाहुरे आउनेबित्तिकै आमाहरु मादल, मुजुरा, खैजडीलगायतका विभिन्न वाद्यवादनका सामग्री बोकेर निस्कने गरेको समूहकी सचिव मीना पौडेल बताउछन् । समूहले उपल्लो रोतोपैह्रामा रु दुई लाखको लागतमा शक्तिदेवी मन्दिर र सोही स्थानदेखि देवीघाटसम्मको बाटोमा पक्की सिढी एवम् एकतर्फी रेलिङबारसमेत निर्माण गरेको छ । सिढी एवम् रेलिङबारसँगै ओमकारेश्वर महादेव मन्दिरमा दर्शन तथा सेतीनदीमा स्नान गर्ने भक्तजन एवम् दाहसंस्कारका लागि जाने शवयात्रीलाई प्रत्यक्ष सुविधा पुगेको छ । रासस
कहिले अन्त्य होला बाढीपीडितको पालको बास ?
जाजरकोट, ८ भदौ । न औषधि खाने पैसा छ, न त राम्रोसँग बस्ने बास र गाँस नै छ । २०७१ भदौ २९ गतेदेखि सुर्खेतको गिरीखोला र भेरीमा आएको बाढीले सुर्खेतको हरिहरपुर–५ का १३९ घरधुरीको उठिवास नै लगाएपछि उनीहरु पालमा बसिरहेका छन् । बिरामी भएमा औषधि खानको लागि र बिहान बेलुका छाक टार्नका लागि समेत भगवान् नै पुकार्नु पर्ने अवस्था छ । जिन्दगी जीउन र परिवार पाल्नका लागि पालमा बस्दै आएका वृद्धदेखि युवासम्म गिट्टी कुट्ने तथा अन्य सामान्य काम गर्दै आएका छन् । त्यसबर्ष भदौ २९ गते राति आएको बाढी र त्यसैमा बगेको परिवार झलझली सम्झिरहन्छु अहिलेसम्म पनि, सुतिरहेका बेला घरबाट बगेर उर्लेको भेरीमा पौडी खेल्दै आफू पनि बाँचे परिवार पनि बचाएँ, यति दुःखद् जीवन बिताउन लेखेको रैछ, त्यसैले बाँचियो, नत्र उही कालो दिनमा मेरो जीवनको अन्त्य भइसकेको हुन्थ्यो, त्यही अस्थायी शिविरमा बस्दै आएकी सुमित्रा सुनारले विगत कोट्याउँदै भने । सुमित्राको सरकारसँग आश पनि मरेको छैन र सरकारसँग गुनासो भने छँदैछ । सरकारले दिने भनेको रु ५० हजार पनि दर्तावाला जग्गा खरिद पछि मात्र दिने भन्ने कुराले समस्या पारेको छ । रु ५० हजारले कहाँ दर्तावाला जग्गा किन्न आउँछ, सरकार आफैँले किनेर हामीलाई दिए भैगो सुमित्राको सरकारलाई प्रश्न छ ? शिविरमा बसेर पढ्ने बालबालिकालाई आवश्यक कापी, कलम र पोसाक किन्ने समस्याले गर्दा निकै सताउने गरेको कक्षा ५ मा पढ्दै गरेकी सविना नेपालीले पीडा सुनाउनुभयो । सविनाले भने – ”जेठो दाजु भारत जानुभएको छ, भाउजुले दाजुलाई र हामीलाई छोडेर अन्तै गइसक्नुभयो, आमाले गिट्टी कुटेर परिवारको खाना खर्च र हामी भाइबहिनीको पढाइ खर्च जेनतेन चलाउनुभएको छ ।” कोही चिटिक्क परेको मानिसको समूह र गाडी बस्ती वा स्कुलमा आए भने केही राहत ल्याएकाछन् र दिन्छन् की भन्ने आश लाग्छ, उनले थपे । उनले स्कुलमा भोग्नुपरेको समस्याका विषयमा पनि बताए । स्कुल पनि पालले ढाकिएको छ, घाम लाग्यो भने पसिनाले लुथ्रुक्क पार्छ, पानी प¥यो भने चुहिएर पानीले लुथ्रुक्क पार्छ, सबै विद्यार्थीको साझा समस्या हो, उनले भने, “शिविरको पालमा अँध्यारो छ, बत्ती छैन, खाना पकाउने बेलामा धुँवा हुन्छ, पढ्ने वातावरण केही गरी मिल्दैन ।” कक्षा ५ मै अध्ययनरत राधिका नेपालीले भने– “पाल पनि च्यात्तिएको छ, न सिलाउन मिल्छ, पानी चुहिन्छ । कहिले बाघले सताउँछ, कहिले सर्पले दुःख दिन्छ । यत्रो दुःख भोग्न थालेको दुई वर्ष पुगिसक्यो सरकारले हामीलाई नजिकबाट किन हेर्दैन ? ” राधिकाको पनि बाबाआमा दुवै भारत गएका छन् उनी अहिले शिविरमा हजुरआमासँग बस्दै आएकी छन् । पढ्ने लेख्ने उमेरमा शिविरमा बस्दै आएका सबै बालबालिका पढाइको चिन्ताभन्दा पनि दाउरा र गिट्टी कुट्ने काममा लाग्नु परेको छ । दुईवर्षसम्म कसैले केही हेरेनन् तर अझै पनि उनीहरुको आश भने मरेको छैन । रासस