जैैविक मार्गमा गाडी रोक्दै हुनुहुन्छ ? होसियार !

रत्ननगर, १६ साउन । वन्यजन्तु आवतजावत गर्ने चितवनका जैविक मार्ग (कोरिडोर) क्षेत्रमा तपाईं गाडी रोक्दै हुनुहुन्छ ?  पहिले पहिले रोक्नुभएको पनि होला । दिसापिसाब पनि गर्नुभयो होला । अञ्जानमा वन्यजन्तुलाई गाडीले ठक्कर दिएर भाग्नु पनि भयो होला । तर अब तपाईंले यसरी गाडी रोक्नुभयो भने या कुनै अवाञ्छित गतिविधि गर्नुभयो भने निकुञ्ज ऐन वा वन ऐन आकर्षित हुने भएको छ । यसबाट तपार्इं उम्कन सक्नुहुन्न । पहिले फुत्कनु भएको भए पनि अब भाग्न सम्भव छैन । किनकि अहिले चितवनको जैविक मार्गमा सिसी क्यामेराले समेत निगरानी गरिरहेको हुन्छ । चितवनको भरतपुर र रत्ननगर जोड्ने जैविक मार्ग टिकौली जङ्गलमा वन र वन्यजन्तुको संरक्षणका लागि यसरी कडाइ थालिएको हो । पहिलो चरणमा चालकलाई जानकारी दिने कामको थालनी भएको छ । जानकारी दिएपछि पनि अटेर गरे कारबाही गरिने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । गएको बुधबार चितवनको टिकौली जङ्गलमा एक हुल मानिस जम्मा भए । सेना प्रहरी र वनरक्षक आफ्नै पोसाकमा थिए । झट्ट हेर्दा गाडी चालकलाई प्रहरी जाँच हुँदै छ भन्ने लाग्यो । कति मोटरसाइकल बीचैबाट फर्किएर भागे पनि । तर यो जाँच नभएर ‘संरक्षणका लागि एक मिनेट’ नारासहितको प्रचारप्रसारको कार्यक्रम थियो । एक मिनेट गाडी रोकेर चालक/सहचालकलाई संरक्षणबारे चेतना दिने, सिसी क्यामेराको निगरानीबारे जानकारी दिने र पछि यस्ता क्रियाकलाप भएको पाइए कारबाही गर्ने विषयमा सुसूचित गर्ने अभियानको उद्देश्य थियो । अभियान चल्दै गर्दा अलि पर टिकौलीको जङ्गलमा ढुङ्गा बोकेर टाँडीबाट नारायणगढ जाँदै गरेको बा२अ ६४५० नम्बरको ट्रक रोकियो । गाडीबाट चालक र सहचालक ओर्लिए । अनि ढुक्कसँग सडक छेउबाटै पिसाब फेरे । अलि वर आएपछि चितवन निकुञ्जका रेन्जर सुशील झाले रोकेर चालक मङ्गल लामालाई सोध्नु भो, “गुरु जी रु जङ्गलमा रोक्न पाइँदैन, पिसाब गर्न पाइँदैन भन्ने थाहा छैन ।” चालकले जवाफ दिए – “छैन सर ।” “पहिलो चोटिलाई भै’गो, अब आइन्दा रोक्नुभयो भने कारबाही हुन्छ,” झाले यसोभन्दा चालक लामाले मुन्टो हल्लाएर सहमति जनाउनु भयो । “अनि सुन्नुस्, जङ्गलमा ४० को भन्दा माथि स्पिड नगर्नुस्, जङ्गली जनावर हिँड्छन्, विचार गर्नुस्, फोहर नफाल्नुस्, सिसी क्यामेरा पनि जोड्या छ, सबै कुरा रेकर्ड हुन्छ, बुझ्नु भो नि रु” झाले थप्नुभयो । लामाले हुन्छ भन्दै गाडी हाँके । रेञ्जर झाले यसो भनिरहँदा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत शशांक पौडेल अन्य कार तथा मोटरसाइकल चाकललाई पर्चा दिँदै सम्झाउँदै हुनुहुन्थ्यो । राप्ती नगरपालिकाबाट नारायणगढ जाँदै गर्दा ना १३ प २८९७ नम्बरको मोटरसाइकलका चालक राजकुमार उप्रेतीलाई उहाँले संरक्षणबारे सचेत गराउनुभयो । वन्जयन्तु आउजाउ गर्ने स्थान भएकाले टिकौली जङ्गलमा गति सीमित गर्न उहाँले अनुरोध गर्नुभयो । उप्रेतीले सही थाप्नुभयोे, “संरक्षणको विषयमा म ध्यान दिने छु ।” लगत्तै बा १४ च १९०० नम्बरको कारलाई रोकेर उहाँले चालकको हातमा पर्चा थमाउँदै भन्नुभयो, “अब तपाईं जङ्गलमा सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ । वन्यजन्तु हिँड्दा गति सीमित गर्नुस् । बीचमा गाडी रोक्नुभएन ।” चालक रामेश्वर चौधरी हुन्छ भन्दै गन्तव्यतर्फ लाग्नुभयो । यो अभियान विगत एक सातादेखि जारी छ । यसरी अभियान थालिएको जिल्लामा यो पहिलो हो । मुख्यगरी ४÷५ कुरालाई ध्यानमा राखेर जैविक मार्गमा निकुञ्ज र सरोकारवाला निकायले कडाइ थालेको हो । “निरन्तर सिसी क्यामेराको निगरानीमा छौँ भन्ने जानकारी चालकलाई हुनुप¥यो, बीचमा रोक्न पाइँदैन भन्ने जानकारी दिनुप¥यो, गति सीमित गर्नुप¥यो र फोहर फाल्नुभएन भने सूचना दिनुप¥यो, यही चार कुरालाई ध्यानमा राखेर चालकलाई संरक्षण शिक्षा दिन थालेका हौँ,” संरक्षण अधिकृत पौडेलले भन्नुभयो । पहिलो चरणमा गाडी रोकेरै गत आइतबारदेखि अभियान थालिएको छ । साउनदेखि टिकौली जङ्गलको झन्डै सात किलोमिटर क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन निकुञ्ज, मध्यवर्ती क्षेत्र, प्रहरी, सेना, स्थानीय प्रशासन र जिल्ला वनको समन्वयमा यो काम भएको हो । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल जैविक मार्ग क्षेत्र र संवेदनशील क्षेत्रमा आफूहरुले यो कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको बताउनुहुन्छ । सौराहाको संवेदनशील क्षेत्रमा पनि सिसी क्यामेरा जोडेर निगरानी थाल्ने र यस्ता गतिविधि गर्ने सवारी चालकलाई कारबाही गर्ने तयारी गरिएको उहाँको भनाइ छ । क्यामेरा जोडिएपछि अभिलेखमा गतिलो कुरा भेटिएको कँडेलको भनाइ छ । अघिल्लो साता राति करिब १ बजेको समयमा टिकौली जङ्गलको बाटो काट्न लाग्दा एउटा दुर्लभ पाटेबाघ आयो, अघिपछिको गाडीका बत्तीका कारण बाघले बाटो काट्न सकेन । ऊ ‘यु’ टर्न गरेर फक्र्यो । एक मिनेट कै अन्तरालमा एउटा रात्रि गाडी त्यहीँ आएर रोकियो, जहाँ बाघले भर्खरै बाटो मोडेको थियो । अनि यात्रु धमाधम ओर्लिए र दिसापिसाब गर्न थाले । सिसीको अभिलेखबारे बताउँदै प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो, “एक मिनेटको मात्रै फरक नभएको भए त्यहाँ जे पनि हुन सक्थ्यो ।” यो एउटा दृष्टान्त हो । यति संवेदनशील क्षेत्रमा हेल्चेक्रयाइँले अनाहकमा वन्यजन्तुको ज्यान जाने गरेको छ भने मानिसको जोखिम पनि उत्तिकै बढ्दो छ । अझ फोहर फाल्ने गर्नाले जैविक विविधता र दुर्लभ वन्यजन्तु मै नराम्रो असर पार्ने गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । गएको वर्ष चितवनमा १५ दुर्लभ वन्यजन्तुलाई यही सडकमा गाडीले हानेर मारेको तथ्याङ्क छ । तर वन र निकुञ्जको तथ्याङ्कमा पाँच वटा गाडी मात्रै कारबाहीमा परेका छन् । “सिसी क्यामेरा भएको भए सबै गाडी पर्ने थिए,” प्रमुख संरक्षण अधिकृत कँडेलले थप्नुहुन्छ – “अब त्यस्ता गाडी उम्कँदैनन् ।” पहिलो चरणमा प्रचारप्रसार गरेर गाडी चालकलाई जानकारी दिने र दोस्रो चरणमा अटेर गर्नेमाथि कारबाही चलाइने छ । यसरी गाडीले वन्यजन्तु किचेमा रु २० हजार जरिवाना र दुई वर्षसम्म कैद हुने सजाय ऐनमा छ । अझ गैँडा, बाघ, र हात्तीलाई ठक्कर दियो भने सजाय थपिने निकुञ्जले जनाएको छ । संरक्षणकर्मी रामप्रित यादव यति महत्वपूर्ण वन्जयन्तु र जैविक विविधताका विषयमा मानिस अझै संवेदनशील नभएकामा चिन्ता प्रकट गर्नुहुन्छ । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्जले बाघको विषयमा अन्तर्राष्ट्रिय क्याट्स अवार्ड समेत पाएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ र एकसिङ्गे गैँडाको सबैभन्दा ठूलो वासस्थान चितवन निकुञ्ज हो । यस्तो संवेदनशील क्षेत्रबाट महाभारत पर्वत जोड्ने जैविक मार्ग चितवनको टिकौली जङ्गल हो । त्यसैले यो क्षेत्रलाई सुरक्षित राख्न पहिलो चरणमा यहाँबाट ‘संरक्षणका लागि एक मिनेट’ कार्यक्रम समेत चलाइएको छ । टिकौलीको यो जङ्गलमा फोहरको डङ्गुर भने यथावत् नै छ । रासस

योगासन गरी गिनिज बुकमा नाम लेखाउने मोक्तान सम्मानित, कसरी गर्छन उनले योग ?

बनेपा, १४ साउन । योग साधनामार्फत गिनिज बुकमा नाम लेखाउन सफल भएका काभ्रेपलाञ्चोकको फोक्सिङटारका उत्तम मोक्तानलाई आज बनेपामा सम्मान गरिएको छ । योगासनमा उत्तम मोक्तान नेपाल स्कुल परियोजनाले नवौँ वार्षिक साधारणसभाको अवसरमा मोक्तानलाई सम्मान गरेको हो । उनले ५० घन्टा १५ मिनेट योगासन गरी भारतका योगराज सिपीले बनाएको योग म्याराथनको रिकर्ड तोडेका थिए । सो अवसरमा बोल्दै मोक्तानले योग समग्र जीवनको दर्शन भएको उल्लेख गर्दै युवा पिँढीलाई कुलतमा नफस्न आग्रह गरेका छन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका अध्यक्ष भूमिनन्द देवकोटाले योगले मानव जीवनलाई गति प्रदान गर्ने उल्लेख गर्दै मानवीय जीवनलाई स्फूर्त बनाउन योगले सहयोग गर्ने बताए ।   परियोजनाका अध्यक्ष रकमसिंह घलानको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रीय सदस्य गुबेन तौजलेलगायतले योगले नयाँ जीवन दिने बताए ।

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबर्ट

काठमाडौं, १४ साउन । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगैँचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् । विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले ती वैज्ञानिक उपकरण बनाएका हुन् । उनले फालिएका सामग्री सिरिन्ज, पाइप, काठ, पेट, कागज प्रयोग गरेर विज्ञान सामग्री बनाएका हुन् । अमनले विभिन्न ठाउँमा ती उपकरण बनाएर प्रदर्शनी समेत गरिसकेका छन् । प्रदर्शनकै क्रममा काठमाडौं आएका अमनले शिक्षा विभाग, नाष्टमा ती उपकरणको प्रदर्शन गरेका छन् । त्यसअघि तनहुँको दमौलीमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएको थियो । अमनले पानीबाट चल्ने एक्जाभेजर र पङ्खा तथा ब्याट्रिबाट चल्ने रोबोट, पानी जहाज, ट्रेन, चख्रेपिङ, भूकम्प सङ्केत मेसिन, भ्याकुर क्लिनियर, पहाडमा हिँड्ने कार जस्ता आधादर्जन उपकरण बनाएका छन् । अमनले आफ्नै प्रयासबाट विज्ञानका नियम र इन्टरनेटको सहयोगबाट ती उपकरण बनाएका हुन् । ‘‘कक्षामा पढेका विज्ञानका सिद्धान्तलाई प्रयोगात्मक अभ्यास गर्नका लागि सुरुमा अभ्यास गरेको थिएँ’’ उनले भने–‘‘अभ्यास गर्दागदै सामग्री बनाउन सकियो ।’’ सुरुमा घर अगाडि एक्जाभेटरले खनेको देखेर उनलाई एक्जाभेटर बनाउने योजना फु¥यो । घरमै फालिएको काठ, ट्युव, सिरिञ्ज, प्लाष्टिक र पाइपले पहिलोपटक अमनले एक्जाभेटर बनाए । ‘‘डिजेल जस्तो तरल पदार्थबाट एक्जाभेटर चलेको देखेर मलाई तरल पदार्थ पानी पनि हो पानीबाट पनि चल्न सक्छ जस्तो लागेर एक्जाभेटर बनाउन थालेँ’’ उनले भने–‘‘करिब एक हप्ताको अभ्यासपछि पानीबाट एक्जाभेटर बनाउन सफल भएँ ।’’ अमनले बनाएको एक्जाभेटरमा चार किसिमका पानी भरिएका सिरिञ्जबाट चलाउन सकिन्छ । ‘रिमोट कन्ट्रोल’बाट नै अमनले बनाएको एक्जाभेटर चलाउन सकिन्छ । सानैदेखि खेलौना गाडी चलाउने मन पराउने अमन कक्षा– ४ मा गइसकेपछि बुबाले किनिदिएको खेलौना गाडीले नै अहिलेका उपकरण बनाउने प्रेरणा बनेको बताउँछन् । उपकरण बनाएको देखेर कक्षामा सधैँ प्रथम हुने छोरोको पढाइ बिग्रिएला भनेर बुबा आनन्दराज पौडेलले गाली पनि गरे । ‘‘पछि छोराले आफ्नो स्कुलमा एक्जाभेटर बनाएको देखेपछि मैले पनि उसको कामलाई सहयोग गर्दै आएँ’’ बुबा आनन्दले भने। अहिले जमिन र पानीमा हिँड्ने ब्याट्रीबाट चल्ने रोबोट भित्ता र आकासमा उड्ने समेत बनाउन सकिन्छ । ‘‘अहिले जमिन र पानीमा हिँड्ने रोबोट चुम्बक प्रयोग गर्ने हो भने भित्ता र पङ्खा रोबोटमा राख्ने हो भने आकासमा पनि उड्छ’’ उनले भने । अमनले ‘लिक’ बिनाको साधारण बाटोमा हिँड्ने ब्याट्रीबाट चल्ने रेल बनाएका छन् । ‘‘नेपालजस्तो रेलको लिक नभएको सडकमा पनि चल्नेसक्ने रेल भए सजिलो हुन्छ भनेर मैले त्यस्तो साधारण बाटोमा पनि चल्नसक्ने रेल बनाएको हुँ’’ उनले रेल प्रदर्शन गदै भने–‘‘यो रेल सामान ढुवानीमा बढी उपपयोग हुनसक्छ ।’’ अमनले थप पानी तान्ने पम्प, टिपर, विद्युत् डाइनामो, केवलकार, हेलिकप्टर, ग्यास लाइट, एसी, हाइड्रोलिक ब्रेक, चुम्बकीय क्रेनजस्ता नयाँ उपकरण बनाउने तयारीमा रहेको बताए । उनले सरकारले आफूले बनाएको उपकरणमा सहयोग गरे आफ्नो सामग्रीलाई विश्वमा पनि प्रदर्शन गराउने सोच सुनाए । बुबा आनन्दले छोराले बनाएको वैज्ञानिक उपकरणलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै अमनलाई सरकारले सहयोग गर्नुपर्ने बताए । रासस