दसैं जहाजमै मनाउछु-क्याप्टेन विजय लामा

विजया लामा, क्याप्टेननेपाल वायुसेवा निगम नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले निगमकै जहाज २९ वर्ष उडाइसकेका छन् । स्पष्ट वक्ता, मिलनसार र सार्वजनिक व्यक्तित्व लामा दसैंको समयमा अरूको खुशीमा रमाउने गरेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज उडाएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्ने गरेको उनै लामासँगको विकासन्युजले गरेको यो वर्षको दसैं वार्ता : दसैं कसरी मनाउनुहुन्छ ? मेरो दसैं भनेकै आम नेपालीको दसैं हो । जहाजमा उड्ने र जहाजमा नेपाली यात्रुलाई सेवा दिँदैमा दसैं बितेको पत्तै हुँदैन । विगत २९ वर्षदेखिको मेरो दसैं कहिले जहाज त कहिले देश बाहिर (जहाज उडाउने क्रममै) हुनेगर्छ । अहिलेसम्म कुनै पनि दसैं आनन्दले बसेर मनाउँन पाएको छैन, दसैं मनाउन नपाएको र परिवारलाई समय दिन नपाएको कुनै गुनासो पनि छैन । अधिकांश नेपाली दसैंमा परिवसारसँग बसेर रमाइलो गर्छन्, तपाईको मनमा पनि कहीँ न कतै परिवारसँग दसैं मनाउन नपाएकोमा खल्लो महसुस होला नि ? पेशाले पाइलट भएपछि म जहाज उडाउँदिन, घरमा दसैं मनाएर बस्छु भन्न मिलेन । म एक जनाको सेवाले सयौ नेपाली दाजुभाई दिदीबहिनीले दसैं मनाउन पाएका छन् । आम नेपालीको खुशी नै मेरो खुशी हो । मेरो दसैं तिहार भनेकै सधै जहाजकै उडान सफल रूपमा सम्पन्न गर्नुमा हुन्छ । उसो भए, यसपाली दसैंको टीकाको साइत जहाजमै हुन्छ ? यो वर्ष र हरेक वर्ष जहामा नै हुन्छ । जहाज उडानकै क्रममा दसैंको टीकाको साइत परेको हुन्छ । यो वर्ष भने म अघिल्लो दिन काठमाडौंबाट जहाज उडाएर दुबई पुगेको हुन्छु । दसैंको टिकाको दिन दुबईबाट आउनुपर्ने भएकोले साईतको बेला म उतै हुन्छु । टीका त लगाउनुहुन्छ नि ? लगाउँछु । हरेक दिन शुभ यात्राको कामना गर्दै र हरेक वर्ष दसैंमा टीका लगाउँछु । मलाई टीका मन पर्छ । दसैंको टीका पनि लगाउँछु । नेपाली दाजुभाइसँग भेटघाट गर्ने र रमाइलो मान्दै उहाँहरूबाट नै टीका लगाउने गर्छु । मलाई नेपाली दाजुभाइले निकै माया गरेर टीका लगाउँन आग्रह गर्नुहुन्छ । मलाई जसले लगाइदिए पनि खुशीसाथ लाउने गरेको छु । नेपाल बाहिर हुँदा गैर आवासीय नेपाली संघ तथा नेपालीको समूह भएको ठाउँमा पुगेर लगाउने गरेको छु । मेलै एक जनाले दशमीको टीका घरमा नलगाएर उडान गर्दा धेरै नेपालीको निधारमा टीका लाग्छ । धेरै जना नेपालीको खुशी मेरो पनि खुशी हो । तपाईको घर काठमाडौं मै छ । समय मिलाएर घर त जानुहुन्छ होला नि दसैमा ? म दसैं मूख्य दिन फूलपाती, अष्टम, नवमी र दशमी सबै दिने फ्लाइटमा नै हुन्छु । बैंकक, हकङकङ, क्वालालम्पुर, दुवाई उडान गरेर बसिरहेको हुन्छ । आफ्नो परिवारसँग अष्टमीको दिन विहान खान भ्यान्छ कि भन्ने आशा छ । त्यसमा पनि क्याप्टेन स्याण्डवाई बसिरहुपर्ने भएकोले नभ्याइन पनि सक्छ । मलाई राष्ट्रिय ध्वजाबाहक उडाउनुमै मज्जा छ । कुनै दुखेसो र गुनो छैन । परिवारका सदस्यहरु कहाँ हुनुहुन्छ ? बुबा, दिदी र श्रीमती काठमाडौं नै हुनुहुन्छ । दाई र भाई अमेरिकामा हुनुहुन्छ । दुई छोरीहरू एकजना न्यूयोर्क र अर्की इटाली छन् । क्याप्टेन विजय लामालाई भेट्ने अनि कुरा गर्न चाहनेलाई भेट्दा कस्तो लाग्छ ? मलाई भेट्न चाहने धेरै नेपाली हुन्छन् । म पनि सबैसँग घुलमिल हुन चाहन्छु । हात मिलाउँछु, मलाई धेरै नेपालीले माया गर्नुहुन्छ । जहाजमा नेपालीले भेट्ने कुरा गर्ने, फोटो खिच्ने गर्छन्, मलाई रमाइलो लाग्छ । धेरै नेपालीले तपाईलाई माया गर्छन, तर नेपाल वायु सेवा निगमले पटक पटक तपाईलाई कारकाही गर्छ भन्ने सुनिन्छ नि ? म आफूले जानको र देखेको कुरालाई कहिल्यै लुकाउँदिन । मलाई झुटो बोल्न पनि आउँदैन । म मिडियाका साथीहरूसँग पनि नजिक छु । उहाँहरूले सोधेको कुरा भनिदिने र सत्य बोलेकै कारण बेलाबेलामा कार्यालयले स्पष्टीकरण सोध्छ । कारवाही गर्न खोज्ने पनि गर्छ । मैले कारवाही गर भन्छु । आफ्नो हतियार नै शुभचिन्तक हुन । नचाहिँदो कुरा बोलेको छैन, भएकै कुरा बोल्दा र साँचो बेल्दा कारवाही वा कसैले गाली गर्छ भने मलाई स्वीकार्य छ । तर अहिलेसम्म कारवाही गरेको भने छैन । तपाई जस्तै सबै पाइलटहरुको दसैंमा जहाजमा नै मित्ने हो ? कतिपयले मेरो घरमा पार्टी छ, म जहाजमा उड्दिन पनि भन्ने गरेका छन् । दसैमा परिवारसँग बस्न नपाएकोमा गुनासो गर्ने पनि छन् । घर जान पाए हुन्थ्यो भनेर आफ्नो ड्यूटी मिलाएर जाने त सामान्य हो । तर, कसैलाई चाहिँ यो उडान गर्छु, यो उडान गर्दिन भन्ने भावना पनि आउँदो रहेछ । त्यस्तो अवस्थामा ड्यूटीको समय सकेसम्म मिलाउने गरिएको छ । तपाईको कमाई चाँही कति हुन्छ ? विश्वमै कम आम्दानीमा जहाज उडाउने संस्था नेपाल वायुसेवा निगम हो । आम्दानी कम हुन्छ । विदेशमा बढी हुन्छ । तर नेपाल वायुसेवा निगमका पाईलट, कर्मचारीले सन्तुष्टिका साथ गरेका हुन्छन । आफ्नो देशप्रतिको माया र नेपालमै केही गरौं भन्ने चाहनाले मात्रै यहाँ बस्ने गरेका छन् । आम्दानी, सेवा सुविधा हेर्ने हो भने त नेपालभन्दा बाहिर पाइटलाई मात्रै हैन अरुलाई पनि राम्रो छ ।

अक्षता मुछ्ने चामल खोज्दै बाढीपीडित, मिठो मसिनो खाने सुर्खेतका बाढीपीडितको चाहना दसैंमा पनि अधुरै

काठाडौं २२, असोज । निधारमा रातो टीका, पहेंलो जमरा अनि परिवार र आफन्तसँग बसेर मिठो मसिनो खाना । हरेक वर्ष दसैंमा घरभरि पाहुना हुन्थे । आफन्त र छिमेकीलाई टीका र जमरा लगाउँदैमा उनलाई भ्याईनभ्याई हुन्थ्यो । घरको सबै चाँजोपाँजो मिलाएर नयाँ लुगामा सजिँदै उनी कोसेली बोकेर माइत जान्थिन् । तर, तीन वर्ष पुग्न थाल्यो, सुर्खेत हरिहरपुरकी उर्मिला कार्कीको निधारमा दसैंको रातो टीका नपरेको । पहेंलो जमरा लगाउने उनको रहर अधुरै छ । परिवारसँग बसेर दसैंमा मिठो मसिनो खान पाएकी छैनन्। नयाँ लुगा त परै जाओस् शरीर ढाक्नसमेत हम्मेहम्मे छ । दुई वर्ष पहिले भेरीमा आएको बाढीले गाउँ नै बगाएपछि हाल गिरीघाटस्थित जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य उनलाई दसैंको टीकाको दिन नजिकिँदै गर्दा बेचैनी बढेको छ । कर्णालीलाई चामल वितरणको फाइल तस्विर   ‘घरबार हुनेले जमरा उमारेका छन्, नयाँ लुगा र मासुको पनि जोहो गरिसके’, उर्मिलाले भक्कानिँदै भनिन्, ‘यसपालिसम्म तीनपटक हुन्छ, दसैंमा टीका र जमरा लाउन नपाएको । त्रिपालमा के जमरा राख्नु रु हाम्रोमा त जमरा नै उम्रिन छोड्यो ।’ टीकाको दिन नजिकिँदै गर्दा अधिकांश नेपालीको घरमा जमरा उम्रिन थालेको छ । बजारमा दसैंका लागि नयाँनौलो किन्नेहरूको भीड लागेको छ तर सुर्खेतका अस्थायी शिवरमा बस्दै आएका बाढीपीडितलाई भने दसैंको रौनकले छोएको छैन । छाक टार्न मुश्किल भएपछि कालापहाड पसेका शिविरका अधिकांश पुरुष फर्केका छैनन् । केटाकेटीको रहर पूरा गर्न केहीले त्रिपालमुनि जमरा राखे पनि अधिकांश विस्थापित परिवारले जमरा राखेका छैनन् । गिरीघाट शिविरमा बस्दै आएका ६८ वर्षीय सहबहादुर खड्काले भने, ‘बिहान बेलुकीको छाक टार्नै मुश्किल छ, केटाकेटीले हैरान गर्न थाले । खानलाई एक दाना चामल छैन, दसैं कसरी मनाउने रु ’ बस्ने घर र खेती गर्ने जग्गा नहुँदा त्रिपालमुनि बस्नु परेको पीडा सुनाउँदै उनले दसैं मनाउन नपाएको दुखेसो पोखे । लामो समयदेखि सरकारी राहत नपाएको र संघसंस्थाले पनि सहयोग गर्न छोडेपछि दसैंका लागि टीका लगाउने चामलसमेत नभएको उनको भनाइ छ । ‘बूढेसकालमा काम गर्न सकिँदैन, गिट्टी नकुटे चुलो बल्दैन’, ६५ वर्षीया खगिसरा घर्तीले भनिन्, ‘कमाउने कोही छैनन्, साना नातिनातिनाको मन बुझाउनै मुश्किल भयो ।   दसैंमा नयाँ कपडा र मासु भनेका छन्, कसरी दिलाउने रु ’ विगतका दसैं सम्झिँदै उनले गहभरि आँसु बगाइन् । उनले भनिन्, ‘तीन वर्ष हुन लाग्यो, सरकारले हामीलाई बेवास्ता ग¥यो । एकमुष्ठ राहत रकम दिएको भए सानोतिनो कटेरो बनाएर आफ्नै घरमा बस्ने थियौं ।’ आफ्नै घर नहुँदा दसैं र तिहारजस्ता चाड आए पनि आफूहरूलाई खल्लो हुने उनको भनाइ छ । यस्तै पर्सबहादुर घर्तीले भने, ‘अहिले त खानलाई एक दाना चामल छैन, गिट्टी बिक्री भयो भने टीका लगाउने चामलसम्म किन्नु पर्ला । मासु र नयाँ कपडा त सम्भावना नै छैन । हामीले त पाहुनालाई पनि दसैंमा नआउनू भनेका छौं ।’ आजको अन्नपूर्ण पोस्ट्रबाट ।