दुःख र तनावमा रहने मानिसहरु बुढो देखिन्छन्
एजेन्सी । कतिपय मानिस आफ्नो वास्तविक उमेरभन्दा बुढो जस्ता देखिन्छन् । सामान्यतया अरुको तुलनामा तनाव वा दुःखमा भएका मानिसहरु बुढो जस्ता देखिने गरेको पाइएको छ । अनुसन्धानमा भनिएको छ कि एक्लै बस्दा वा मौन बस्दा चाँडै बूढो बन्न सक्छ । समाजसँग मेलमिलापमा बाँच्न र सधैं खुसी रहने प्रयास गरेर बुढ्यौलीको गतिलाई रोक्न सकिन्छ। यसका लागि ३५ हजार वयस्क र वृद्धवृद्धामाथि अध्ययन गरिएको थियो । सो अध्ययनले अकालमै ज्यान गुमाउनेमा सामाजिक एक्लोपन पनि एउटा कारण रहेको खुलासा गरेको छ । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका शोधकर्ताहरूले गरेको यो अनुसन्धान ‘एजिङ’ जर्नलमा प्रकाशित भएको छ ।
तिहारअघि नै झिलिमिली काठमाडौं फोटोफिचर
काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीहरु लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन् । बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ । तिहारका लागि आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ ।
मेघगर्जनसहित वर्षाको सम्भावना, सबैलाई सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौमस विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्र्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । उक्त प्रदेशका भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव आठ डिग्री र अधिकतम तापक्रम २७ दशमलव आठ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियस छ । रासस