हिमपात नहुँदा जनजीवन प्रभावित

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौंतिर लागिने । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उनी हिउँ छल्न काठमाडौं गएकी हुन् । शेर्पा यस वर्षमात्र हिउँ छल्न काठमाडौं पुगेकी होइनन्, हिउँ पर्ने समयमा गाउँ छोडेर कहिले सदरमुकाम फुङ्लिङ बजार त कहिले काठमाडौं पुग्ने गर्छिन् । हिमपात हुँदा धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौं पुगेका छन् । पेमा र उटुकजस्तै गाउँका अधिकांश हिउँ छल्न अन्यत्र गएपछि यहाँ बस्ती सुनसान जस्तै बनेको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला बस्ती अहिले रित्तो भएको छ । गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा हिमपात छल्न सहर बजारतिर झरेपछि अहिले बस्ती खाली भएको हो । विगत वर्षहरुमा मङ्सिरको तेस्रो सातादेखि नै यस तोक्पेगोलामा बस्तीमा हिमपात सुरु हुन्थ्यो । वडाध्यक्ष ग्यान्जे लामा शेर्पाका अनुसार हिमपात हुँदा अत्यधिक चिसो हुने हुँदा हिउँ छल्नका लागि हिउँदभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ । यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न सदरमुकामदेखि काठमाडौं पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताउँछन् । शेर्पाका अनुसार घुन्सा गाउँका ३३ घरपरिवारमध्ये मङ्सिर सुरु भएसँगै २० घरपरिवार अन्यत्र गइसकेका छन् । अहिले १३ परिवार मात्र गाउँमा छन् । यहाँको प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालन हो । चिसोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर अवलोकन गर्न आउने पर्यटको आगमन पनि यतिबेला ठप्प छ । चौँरी याक गोठ हुनेहरु मात्र गाउँमा बसेका छन् । गर्मीयाम सुरु भएपछि उनीहरु गाउँ फर्किने गर्दछन् । विगतका वर्षहरुमा हिमाली क्षेत्रमा मङ्सिरको तेस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमालहरु सेताम्य हुन्थो । तर अहिले माघ सकिन लाग्दासमेत हिमाली क्षेत्रहरुमा हिमपात भएको छैन । कञ्चनजङ्घा हिमशिखर कालो चट्टान जस्तै देखिएको छ । ताम्लिङ शेर्पा बिहानको घाम ताप्दै कञ्चनजङ्घा हिमालतिर हेरेर टोलाउँदै थिए । उनी समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा हो शेर्पाको घर । याङमा जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आएका हुन् । उनको पुख्र्यौली पेसा पशुपालन हो । उच्च हिमाली क्षेत्र भएकाले याङमा गाउँमा चौँरी याकपालनका लागि अनुकूल क्षेत्र हो । यस क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत भने चौँरी याक गोठ हो । समयमै हिमपात र वर्षा नहुँदा पानी मुहान सुक्ने तथा हिउँ पग्लेपछि हिमताल सुक्न गई पानीको हाहाकार हुने हो कि भन्ने चिन्ताले सताउन थालेको स्थानीय फिन्सो शेर्पाको भनाइ छ । सुक्खा मौसम भएपछि घाँसपात नउम्रने भएकाले चौँरी याक चरनमा समस्या आउने चिन्ता लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘हिउँ पग्लेर हिमाल सुक्खा हुन थाल्यो । हिमाल सुक्खा भयो भने पानीको मुहानहरु सुक्छ । चौँरी याकहरुले पानी खान पाउँदैन । जमिन सुक्खा हुँदै गएपछि घाँस उम्रिँदैन । घाँस नभएपछि चौँरी याकहरु तिर्खा र भोकले मर्नेछन् ।’ उच्च हिमाली स्थान भएकाले अन्न नहुने भएकाले यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत पशुपालन हो । ‘हिमालमा हिउँ पग्लँदै गएको छ । खेतबारीहरु सुक्खा हुँदैछ”, फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले भने, ‘बारीमा जौ, गहुँमा बाला लाग्न नपाई सुक्दै गएको छ ।’ पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खडेरीबाट अलैँची बगान जोगाउन बिहान–बेलुका पाइपबाट सिँचाइ गर्नु परेको उनले सुनाए । हिमपात र वर्षा नहुँदा हिउँदे बाली नाली सुक्दै गएको सिरिजङ्घा गाउँपालिका–५ मामाङ्खे टीका माबोले बताए । उनले भने, ‘खरेडीबाट हिउँदे बाली र अलैँची जोगाउन मुस्किल भएको छ ।’ विगतका वर्षहरुमा मङ्सिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो । समयमा हिपात र वर्षा नहुँदा वैशाख र जेठ महिनामा असिना पर्छ भन्ने चिन्ता लागेको फुक्ताङलुङ गाउँपालिका–६ मादिबुङका सन्तकुमार फेम्बूले बताए । समयमा हिमपता नहुँदा तथा कम हिमपात हुँदा असिना ज्यादा पर्छ भन्ने जनविश्वास रहेको फेम्बूले बताए । सदरमुकाम फुङ्लिङमा भने बिहानदेखि बेलुकासम्म हुस्सु लाग्ने गरेको छ । हिमालमा स्नो लाइन (हिम रेखा) भन्दा माथिसम्म हिउँ पग्लँदै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक सूर्यमान राईले बताए । राईले भने, ‘जलवायु परिर्वनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ ।’ कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा विश्वकै दुर्लभ जनवार हिउँचितुवाको विशेष बासस्थान मानिन्छ । हिउँ पग्लँदै गएपछि हिउँचितुवासमेत सङ्कटमा पर्न सक्ने राईले चिन्ता व्यक्त गरे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विश्व संरक्षण कोष (डब्लुडब्लुएफ), नेपालले सन् २०१५ मा हिउँचितुवालाई रेडियो कलर गरेको थियो । त्यस समयमा कञ्चनजङ्घा क्षेत्रमा २४ हिउँचितुवा पाइएको विभागले जनाएको छ । समयमै हिमपात नहुँदा पर्यावरणमा आउनसक्ने फेरबदलले हिमाली वन्यजन्तु अन्यत्र स्थानान्तरण हुन सक्ने सम्भावना बढेर गएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । हिमतालहरु सुक्ने, पानीको मुहानहरु सुक्दै जाने, वन जङ्गल सुक्खा हुने भएकाले ढडेलो लाग्ने ठूलो सम्भावना रहेको उनको भनाइ छ । कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्न समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए । सेताम्य हिमालको अवलोकन गर्न तथा हिमालको आनन्द लिन पर्यटक हिमालमा आउने गर्दछन् । समउमा हिउँ नपर्दा हिमाल कालो चट्टान जस्तै बन्दै गयो भने विदेशी पर्यटकहरु आउँदैन कि भन्ने चिन्ताले पर्यटन व्यवसायी सेराप शेर्पालाई सताएको छ । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोङ्ग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । विगतका वर्षमा कञ्चनजङ्घा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटक खचाखच हुने कञ्चनजङ्घा पदमार्ग अहिले सुनसान भएको छ । गत भदौदेखि मङ्सिरसम्म जम्मा चार सय ३९ जना बाह्य पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गर्न पुगेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिनुुभयो । लिम्बूका अनुसार मङ्सिरयता भने पर्यटकको आगमन शून्य रहेको छ । गत २०७६/७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । विसं २०५७ देखि २०७७ सम्म ११ हजार एक सय ९७ विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्याङ्कले देखाएको छ । रासस

मेरियटले सञ्चालन गर्यो जापानी खाना रेसिपीको कुकिंग क्लास (फोटोसहित)

काठमाडौं । मेरियट होटल एण्ड फेयरफिल्ड मेरियट काठमाडौंले जापानी खाना रेसिपीको कुकिंग क्लास सञ्चालन गरेको छ । होटलले माघ १३ गतेदेखि दुईदिने उक्त क्लास सञ्चालन गरिरहेको छ । माघ १४ गतेसम्म हुने उक्त क्लास जापानका सेफ् क्योहेई सानले दिनेछन् । यस्ता क्लासले जापानी खाना प्रेमीहरूको लागि उत्कृष्ट नेटवर्किङ र सिक्ने समय ल्याउने बताइएको छ । विश्व-प्रसिद्ध जापानी व्यञ्जनहरूमा मिसो काकडी, यासई करी, सुशी लगायतका परिकारहरु छन् । जसको स्वाद फरक फरक हुने सेफ् सान बताउँछन् । सेफ् सानका अनुसार मीठो, खट्टा, नुन, तितो, उमामी र कोकुमी जापानी खानामा स्वादका ६ वटा आधारभूत सेन्स हुन् । यीमध्ये उनले उमामीको स्वादको बारेमा विस्तारमा वर्णन गरेका गरे जुन ब्रोथ र पकाएको मासुको विशेषता हो । यो ग्लुटामेटको स्वादसँग मेल खान्छ । विशेष गरी मोनोसोडियम ग्लुटामेट प्रत्येक डिशलाई सही स्वादको सन्तुलनको साथ तयार गर्न आवश्यक रहेको उनी बताउँछन् । माघ १३ गतेको क्लासमा उनले जापानी संस्कृति र घरमा खाना पकाउने आधारभूत विषयको बारेमा सिकाइएको छ । शुक्रबार भएको उक्त क्लासमा ४/५ जनाको विभिन्न ५ वटा समूह थियो । नेपालमा जापानी भान्सामा पकाइने खानाको अनुभव सिर्जना गराउन र सिकाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।

रामेश्वर खनालले गरे दोस्रो विवाह, को हुन् सरिता शर्मा ?

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् । चार वर्षअघि श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए । खनालको एक्ली छोरी छिन् । सरिता शर्मा पोखरेलको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । उनको पनि एक्ली छोरी छिन् । ‘उनी धेरै वर्षदेखि एक्लो जीवन विताईरहेकी रहिछन् । साथीहरुले अलि अगाडि नै कुरा ल्याएका थिए, शुरुमा मैले मानिन, पछिल्लो समय मैले पनि एक्लो महसुश गरे, समझदारीमा लिभिङ टुगेदर रोजेका हौ,’ खनालले विकासन्युजसँग भने । खनालको एक्ली छोरी पनि भारतको नयाँ दिल्लीमा बसेर अध्ययन अनुसन्धान गरिरहेकी छिन् । खनाल घरमा एक्लै बस्दथे । ‘दिनभरी त यता उता गइन्छ, काम गरिन्छ, व्यस्त हुँदा एक्लो अनुभव हुँदैन रहेछ, तर बेलुका घर फर्केपछि एक्लो अनुभूति हुने, डिप्रेसन होला, अरु अरु रोगले सताउला भन्ने मनमा आउन थाल्यो’ उनले भने,‘सरिताको पनि त्यस्तै समस्या, उनकी छोरी पनि एमबिबिएस सकेर एमडी गर्न जापान जानै लागिन् ।’ श्रीपञ्जमीको दिन पारिवारिक सदस्यहरुबीच केक काटेर लिभिङ टुगेदरको आरम्भ गरेको खनालले बताए । ‘यसलाई विवाह नभनाै । लिभिङ टुगेदर हो,’ उनले भने । खनालकी नयाँ पत्नि सरिता ४७ वर्षकी भइन् । ‘उनी भन्दा म १७ वर्ष जेठो छु,’ खनालले भने ।सरिताको गृह जिल्ला दाङ हो । उनी पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता बलदेव मजगैयाकी भतिजी हुन् । छोरीलाई पढाउने क्रममा सरिता पछिल्लो समय काठमाडौंमा बस्दै आएकी थिइन ।