नेपालीले नौ महिनामा सेवन गरे १८ लाख किलो सुर्ती

काठमाडौं । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ । यो डरलाग्दो तथ्याङ्क तपाईं हाम्रासामु उपलब्ध छ । भन्सार विभागको विवरणानुसार गत चैत मसान्तसम्म नेपालीले १८ लाख सात हजार ८७१ केजी बराबराको सुर्ती तथा सुर्तीजन्य पदार्थ खपत गरेको पाइएको छ । त्यो पनि देशभित्र उत्पादित सुर्ती तथा सुर्तीजन्य सामग्री होइन । विदेशबाट आयात गरेर गरिएको सेवनका कारण दुईवटा नोक्सानी एकैपटक भइरहेको छ । असाध्यै दुःख गरेर जम्मा गरिएको विदेशी मुद्रा सुर्ती खरिदका लागि विदेशिएको छ भने हरेक दिन नेपाली अस्वस्थ भएका छन् । क्यान्सरजन्य रोगको शिकार भएका छन् । सरकारकै एक निकायले उपलब्ध गराएको एक विवरणानुसार चालु आवको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा जनचेतना बढेको, सरकारले नागरिकलाई सचेत गराएको भन्नेजस्ता विवरण सार्वजनिक भएको भए पनि सुर्ती तथा सुर्तीजन्य पदार्थको आयातमा कमी आउन सकेको छैन । विभागको विवरणानुसार आयात मूल्यका आधारमा रु ५५ करोड ३४ लाख ७४ हजार बराबरको सुर्ती, सुर्तीजन्य सामग्रीको आयात गरेको देखिन्छ । सरकारको राजस्वमा योगदान हुने देखिए पनि मानव स्वास्थ्यमा असाध्यै ठूलो प्रतिकूल प्रभाव पार्ने सुर्तीजन्य सामग्रीमा झण्डै आधा अर्ब बराबरको आयात हुनुले अवस्था गम्भीर बन्दै गएको देखाउँछ । भन्सार विभागका अनुसार दुई हजार १६० किलो जर्दा, चपाउने सुर्ती तथा सुर्ती मिसिएका सामग्री आयात भएको छ । त्यस्तै प्याकिङ गरिएको सुर्ती ८५३ किलो, चुरोट तथा बिडी २३ हजार ३२ किलो, वाटर पाइप टोबाको रु १८४ किलो, काटिएको सुर्ती १६ लाख ६५ हजार ४९५ केजी, हुक्का फ्लेवर ९१ हजार ६६२ किलो र अन्य सुर्ती २७ हजार ५२८ किलो आयात भएको छ । यस्तै, चुरोट (फिल्टर नभएको) १० लाख (एसटिके), चुरोट फिल्टर (७५ एमएम) ८२ लाख, चुरोट फिल्टर (८५ एमएम) १६ लाख ८० हजार (एसटिके) बराबर आयात भएको छ । सरकारले सुर्ती तथा सुर्तीजन्य पदार्थबाट एक अर्ब २६ करोड ४७ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । इलेक्ट्रिक सिगरेटमात्रै दुई लाख ९५ हजार ५५२ वटा आयात भएको छ । त्यसको लागत शुल्क एक करोड ३३ लाख २९ हजार बराबर छ । सरकारले राजस्वबाट ८३ लाख सङ्कलन गरेको छ । देशभित्रै खेती गर्न सकिने सुर्ती पनि विदेशबाट आयात गरेर ठूलो धनराशी विदेश पठाइएको भन्दै आलोचना हुने गरेको भए पनि रोकिएको छैन । देशभित्र उत्पादन हुने सुर्तीको त अझै प्रणालीमा देखिएको छैन । के कति मात्रामा खपत हुन्छ भन्ने कुनै विवरण भेटिदैन । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने क्यान्सर, मुटु, मधुमेह र दीर्घ श्वासप्रश्वासजस्ता रोग लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ । सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा रु १०० जरिवाना वा हाताबाट निष्काशन वा दुवै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा रु एक लाखसम्म जरिवाना तिर्नुपर्ने प्रावधान पनि छ । त्यस्तै १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने, त्यस्तो गरेको पाइएमा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइनेलगायत आठवटा प्रावधान पनि कानुनमा उल्लेख छ । तीन लाख ३८ हजार स्मार्ट वाच आयात विभागका अनुसार चालु आवको चैत मसान्तसम्म तीन लाख ४० हजार स्मार्ट वाच आयात भएको देखिएको छ । विभागले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार अमेरिकी डलर तिरेर तीन लाख ३८ हजार ९१८ स्मार्ट वाच आयात भएको देखिन्छ । ती स्मार्ट वाच आयात गर्दा आयात मूल्यमात्रै रु ४८ करोड ५८ लाख १५ हजार बराबर छ । त्यसबाट सरकारले राजस्व रु १५ करोड ३९ लाख ४७ हजार बराबर सङ्कलन गरेको छ । ६० हजार इन्डक्शन आयात सरकारले विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्यका साथ विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरेपछि चैत मसान्तसम्म कूल ५९ हजार ७०६ वटा विद्युतीय चुल्हो आयात भएका छन् । ती इन्डक्शनको लागत मूल्य रु १२ करोड ३७ लाख २६ हजार बराबर छ । ती चुल्हो आयात गर्दा सरकारले रु एक करोड ७५ लाख १३ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै जुनसुकै भाडा प्रयोग गर्न सकिने इन्फ्यारेड चुल्हो २१ हजार ६७६ वटा आयात भएको छ । ती चुल्होको आयात मूल्य रु चार करोड ६८ लाख १४ हजार छ । त्यस्तै सरकारले रु ६६ लाख १५ हजार बराबर भन्सार शुल्क सङ्कलन गरेको छ । रासस

तस्विरमा कैद भएका १२ नेवारी बस्ती र तिनका रहन-सहन

ललितपुरको बाँडेगाँउ ।काठमाडौं । बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन् । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन् । नेपालको इतिहाँसमा नेवारहरुको योगदान अतुलनीय छ । ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर-ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्विरमा कैद गर्ने कोशिस गरेका छौं । यसैलाई केन्द्रमा राखेर उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका विभिन्न स्थानमा गएर खिचिएको तस्विरहरु । यी तस्विरहरुमा नेवार समुदायको रहन-सहन, दिनचर्या, कला-संस्कृतिलाई देखाउन खोजिएको छ । ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ । च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीयहरु लुभुको परम्परागत नेवारी बस्ती । यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ । किर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुटदै । यहाँ नेवारी संस्कृती झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन्छ । किर्तिपुरको परम्परागत झयालबाट हेर्दै महिला । खोकनामा भुकम्पपछि पुरानै ढाचामा पुर्ननिर्माण गरिएको बस्ती । खोकनाका थकाली । टोलका सबैभन्दा बृद्धलाई थकालीको रुपमा मान्ने चलन छ । हरिसिद्धिको फल्चामा बसेका दौतरी बृद्धा । ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउदै महिलाहरु । भक्तपुरको दरवार परिसर रहेको एक मन्दिरमा चित्र बनाउदै कलाकार । भक्तपुरको एक घरको झयालमा बसेकी महिला

नेपालीको रोजाइमा पनि पर्न थाल्यो साहसिक पर्यटन, महामारीकै अवस्थामा थपियो २ अर्ब लगानी

काठमाडौं । माउन्टेन साइक्लिङ, र्‍याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ तथा बन्जीमा मात्र सीमित बनेको नेपालको साहसिक पर्यटन पछिल्लो समय जिपलाइन, बन्जी तथा स्विङमा विस्तार हुँदै गएको छ । साहसिक पर्यटनको नयाँ क्षेत्रप्रति आकर्षण बढ्दा विगत ७ वर्षमा नेपालको साहसिक पर्यटन क्षेत्रमा मात्रै २ अर्ब रुपैयाँ लगानी थपिएको छ । कोरोना महामारीका कारण होटल तथा पर्यटन व्यवसाय करिब ठप्पजस्तै बन्दा साहसिक पर्यटनमा भने ठूलो मात्रामा लगानी थपिएको हो । साइक्लिङ तथा बन्जी सञ्चालन गर्दै आएको उद्योगले पछिल्लो समय क्षमता विस्तार गर्दै रिसोर्टदेखि स्विङ तथा साइकिलिङ थपेका छन् । पछिल्लो समय युवादेखि अन्य वर्गको रोजाइमा साहसिक पर्यटन पर्न थालेपछि यस क्षेत्रका लगानी थपिएको पर्यटन विभागले जनाएको छ । विदेशी पर्यटक आगमन कम भए पनि नेपालीले पनि साहसिक पर्यटनमा आकर्षण देखाएपछि लगानी थप हुने वातावरण सिर्जना भएको हो । विभागको तथ्यांक अनुसार पछिल्लो समय नयाँ दर्तासँगै पुराना व्यवसायले लगानी विस्तार गर्न थालेका छन् । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसी साहसिक व्यवसायमा २ अर्ब बढी लगानी रहेको बताउँछन् । एउटा जिपलाइन तथा बन्जी व्यवसाय सञ्चालन गर्दा न्यूनतम १ करोडदेखि डेढ करोडसम्म लगानी लाग्ने गरेको उनको भनाइ छ । नेपालमा कोरोना महामारीपछि साहसिक पर्यटन क्षेत्रमा उल्लेख्य मात्रामा लगानी थपिएको छ । पर्यटन विभागले २०७१ सालदेखि हालसम्म साहसिक गतिविधिका व्यवसाय सञ्चालन गर्नका लागि विभिन्न ३४ वटा कम्पनीलाई अनुमति दिएको छ । विभागले २०७१ सालदेखि साहसिक तथा मनारेञ्जनात्मक व्यवसायलाई अनुमति दिएको दिन थालेको हो । सात वर्षको अवधिमा विभागले विभिन्न ३४ वटा कम्पनीलाई अनुमति दिएको छ । विभागले साहसिक व्यवसायको रुपमा पहिलो पटक हाईग्राउण्ड एडभेन्चर प्रालि पोखरालाई बन्जी जम्पिङका लागि अनुमति दिएको थियो । त्यसपछि तेन्जिङ हिलारी एभरेष्ट म्याराथन नाम्चेलाई म्याराथन, अल्टिटयुड इनोभेसन प्रालि चोभारलाई मनारेञ्जन, हिमालयन क्वाईम्विङ एण्ड माउनटेनेरिङ स्कुल प्रालिलाई रक क्वाईमिङ एण्ड माउन्टेनेरिङका लागि अनुमति दिएको छ । यस्तै, अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनलाई एभरेष्ट ट्रेल रेस, बतासे ट्रेल्स प्रालिलाई अल्ट्रा ट्रेल रेस, ड्रिमल्यान्ड ल्वाङ क्यानोनिङ एण्ड मल्ट्रि ईन्भेष्टमेन्ट प्रालि कास्कीलाई क्यानोनिङ, हिडन ट्रेडर्स एड्भेन्चर प्रालिलाई ट्रेल रेस, दरबार एड्भेन्चर जीप लाईन नुवाकोटलाई जीप फ्लाईङ, ड्रिमस् डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन, शेर्पा फोटिन पिक एण्सपिडिसन प्रालि र काइट एक्सपिडिसन प्रालिले ट्रेल रेसको अनुमति पाएका हुन् । वर्ल्ड वाइड एड्भेन्चर प्रालि धुलिखेलले जीन फ्लाइङ, नेपाल याक प्रालिले ट्रेल रेस, कोशी एड्भेन्चर्स प्रालि सुनसरीले स्पिडबोट सञ्चालन, रंगमहल रिकरल्यान्ड प्रालि उदयपुरले जेटस्की र प्यारासाईडिङ, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रालि सुनसरीले जलयात्रा, होटलगढी भ्यू एण्ड एडभेन्चर्स प्रालि मकवानपुर र द लास्ट रिसोट एड्भेन्चर्स प्रालि सिन्धुपाल्चोकले साहसिक/मनोरञ्जनात्मक व्यवसाय सञ्चालनको अनुमति पाएका छन् । द किल्फ प्रालि पर्वतले बन्जी जम्प, स्विङ, स्काई साइकिलिङ र स्काई क्याफे, आयुष्मा मोटरबोट प्रालि भक्तपुरलाई मोटरबोट/जेट स्की, योयो जीपलाईन भक्तपुरले स्काई, साइकिलिङ र जीपलाईन, बेट एण्ड डाईनो एमुज्मेन्ट एण्ड वाटरपार्क प्रालि सुनसरीले वाटरपार्क, जीपलाईन, बन्जी नेपाल एडभेन्चर्स प्रालि कास्कीले बन्जी र साहसिक खेल, बोटेबोरा प्रालि, इक्वेटर एक्सपिडिसन नेपाल टोखा, जेट स्की, नेपाल सिप एण्ड बोट बिल्डिङ नवलपरासी, अल्टिमेट वाटर एड्भेन्चर्स चितवन, एमटिएस मोटरबोट प्रालि भरतपुर र श्री निता जलयात्रा भरतपुरले मोटरबोट÷जेट स्की खेलको अनुमति पाएका छन् । यस्तै, हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले पोखरामा बन्जी जम्प तथा स्विङ खेलको अनुमति पाएको छ । कम्पनीमा दर्ता भएको उद्योग अनुसार विभागले फर्मका लागि न्यूनतम २० लाख र कम्पनीका लागि ५० लाख रुपैयाँ चुक्ता पुँजी भएपछि स्थलगत अनुगमन गरेर इजाजत दिने गरेको छ । ‘कुन कम्पनीमा कति लगानी छ भन्ने कुरा कम्पनीमा जानकारी होला, हामीलाई तोकिएका न्यूनतम शुल्क र चुक्ता पुँजी भए हुन्छ’, विभागको प्रशासन तथा सहसिक पर्यटन शाखाका अधिकृत दिपेन्द्र रेग्मीले भने । छैन अनुगमन विभागको प्रशासन तथा सहसिक पर्यटन शाखाका अधिकृत दिपेन्द्र रेग्मी इजाजत अनुमति (लाइसेन्स) दिए पश्चात अनुगमन नहुने बताउँछन् । उनका अनुसार विभागले अनुमतिका लागि आएका माग अनुसार कम्पनीलाई अनुमति दिए पनि सञ्चालन पश्चात अनुगमन हुँदैन । ‘हामीले इजाजतपत्र दिनुअघि विभिन्न तीन चरणमा स्थलगत अनुगमन गरेर अनुमति दिने गछौँ, सञ्चालन पश्चात खासै अनुगमन हुँदैन’, उनले भने । उनका अनुसार कम्पनीले पहिलो चरणमा मनोरञ्जन व्यवसाय सञ्चालन गर्ने स्थानको प्राविधिकसहित अनुगमन गर्ने गरेको छ । विभागका होटल शाखाको निर्देशकको संयोजकत्वमा प्राविधिक सहित वन तथा वातावरण मन्त्रालयका उपसचिवको टोलीले अनुगमन गर्ने गरेको छ । पहिलो चरणमा निर्माण हुने स्थलको अनुगमन गर्ने विभागले दोस्रो चरणमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका अनुसार अनुगमन गर्ने गरेको छ । यस्तै, विभागले अन्तिम अनुगमन स्वरुप इजाजत दिनुभन्दा अगाडि निर्माणस्थलको स्थलगत रुपमा अनुगमन गरेर मात्र इजाजत दिने गरेको छ ।