एनएमबि बैंकको कन्ट्याक्टलेस कार्डबाटै बस भाडा तिर्न सकिने
काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको हो । घरमै बसी ओम्नी च्यानल मार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनलसंग सहकार्य गर्ने गरी समझदारी गरेको छ । यससँगै उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भईरहेको पाइन्छ । हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भईरहेको र अरु विभिन्न बस ब्यवसायीहरुसंग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ । हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई प्रदान गर्न लागीएको यस सेवा डिजिटल भुक्तानीको क्षेत्रमा एक कोषेढुङ्गा हो । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
सबै निकायलाई तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आ-आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण दर कम गर्न स्वास्थ्यका आवश्यक मापदण्डको पालना गर्न जरुरी रहेको बताए । भारतका विभिन्न स्थानबाट स्वदेश फर्किरहेका नेपालीमा कोरोना भाइरस सङ्क्रमण बढेको पाइए पनि पर्याप्त मात्रामा परीक्षण हुन नसक्दा जोखिम बढ्ने खतरा देखिएको उनको भनाइ छ । बढ्दै गएको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै उनले ती स्वास्थ्य केन्द्रका अवस्था बुझ्न आज स्थलगत निरीक्षण गरेका जनाइएको छ । रासस
‘कोरोना कहरले सबै क्षेत्र अस्तव्यस्त’
महेन्द्रनगर । स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो । लामो समयदेखि भारतको विभिन्न क्षेत्रमा छरिएर रोजगारीका लागि परिश्रम गरिरहेका सुदूरपश्चिमवासी भारतका केही प्रान्तमा कोरोना सङ्क्रमण पुनः फैलिन थालेपछि स्वदेश फर्किन थालेका थिए । नयाँ वर्षलाई विशु पर्वका रुपमा सुदूरपश्चिम प्रदेशमा मनाउन भारतबाट यहाँका नाकाबाट स्वदेश फर्किनेको लर्को भएसँगै नमूना परीक्षण थालेको स्वास्थ्यको टोलीले आउने सबैको कोरोना परीक्षण गर्न सीमामा सम्भव भएनन् । “दैनिक एक हजारदेखि एक हजार ५०० जति गौरीफन्टा नाकाबाट नेपाली घर आउँदा हामीले ३०० को हाराहारीमा कोरोना परीक्षण गर्दा दश प्रतिशतमा पोजेटिभ देखिन्थ्यो ।” गौरीफन्टा नाकाको डोकेबजारमा खटिएका अहेब गणेश साउँदले भने, “अहिले सङ्क्रमण देखिने दर दोब्बरले बढे पनि सीमामा स्वास्थ्य परीक्षण प्रभावकारी हुन सकेन ।” पहिलोपटक गत वर्ष चैतमा मुलुकमै सबैभन्दा पहिले लकडाउन गरेको कञ्चनपुर स्थानीय प्रशासनले केही सातायता कोरोना सङ्क्रमणको दर ह्वात्तै बढ्दा त्यसको व्यवस्थापनका लागि गतिलो प्रयास गर्न सकिरहेको छैन । विगतमा यहाँका नौवटै स्थानीय तहले पालिकास्तरमै आइसोलेसन कक्ष बनाउनुका साथै स्वास्थ्य सावधानीका लागि सक्रियता देखाए पनि दोस्रो पटकको सङ्क्रमण महामारीका रुपमा फैलिँदा पहलकदमी भने देखिएको छैन । भीमदत्त नगरपालिकाले नेपाली सेनाको सहयोगमा अघिल्लो वर्ष स्थापना गरेको १०० श्ययाको आइसोलेसन कक्षमा सङ्क्रमतिको व्यवस्थापन गर्न थालिएको छ । दोस्रो पटक सङ्क्रमण दर समुदायस्तरमा फैलिएसँगै यहाँको महाकाली अस्पतालमा दिनहुँ कोरोना परीक्षण गराउनेको भीड बढ्न थालेको छ । महाकाली अस्पतालका डा गोविन्द रोकायाले स्थानीयस्तरमा समेत कोरोना सङ्क्रमण भयावह रहेको बताए । “हामी दैनिक यहाँ पिसिआर विधिबाट ५० जनाको कोरोना परीक्षण गरिरहेका छौं ।” उनले भने, “तीमध्ये ७० देखि ८० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।” उनले कोरोना सङ्क्रमितको चाप बढ्न थालेपछि अस्पतालमा रहेको जनरल आइसियु वडामा कोरोना सङ्क्रमित राखेरसमेत उपचार थालिएको छ । “भारतबाट आउनेमध्ये धेरैलाई बिना लक्षण कोरोना देखिने गरेको छ ।” उनले भए, “स्थानीयमा भने लक्षणसहितको कोरोना देखिने क्रम बढेको छ ।” महाकाली अस्पतालमा हाल २६ जना सङ्क्रमितको उपचार भइरहेको छ । जसमध्ये छ जना बिरामीको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सीमा क्षेत्रमा कोरोना परीक्षणका लागि गरिएको व्यवस्थापनदेखि कोरोना अस्पताल, आइसोलेसन कक्षसम्म प्रहरी खटिएको बताए । “आइसिएचमा रहेको आइसोलेसनमा अहिले ५० देखि ६० जना सङ्क्रमित रहेका छन् ।” उनले भने, “लक्षण देखिए अस्पताल पठाउने गरिएको छ ।” दुई दिन अघिदेखि स्थानीय प्रशासनले यहाँ आंशिक निषेधाज्ञा जारी गरेको छ । प्रशासनले यस्तै सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको छ । यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतका सङ्घ संस्था विद्युतीय माध्यमबाट सञ्चालन गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । यता भीमदत्त नगरपालिकाले आजसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोरोनाका कारण लयमा फर्किन थालेको यहाँको निजी क्षेत्र र शैक्षिक क्षेत्र पुनः प्रभावित हुन थालेको छ । यहाँका विद्यालय कोरोना कहरका कारण बन्द गरिएका छन् भने व्यापारी पनि कोरोनाका कारण व्यापार घटेको बताउँछन् । केही समयअघि कोरोना सामान्य बन्दै गएका बेला पश्चिमी नाका पुनः सुचारु गर्न माग गरिरहेका यहाँको निजी क्षेत्र अहिले फेरि प्रभावित बन्ने पुगेको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले कोरोना सङ्क्रमणबाट बच्न उद्योग, व्यापारीले पनि सुरक्षा सतर्कता अपनाउनुपर्ने बताए । “भारतसित नजिकको सिमाना जोडिएकाले पनि यहाँ सङ्क्रमणको दर उच्च हुँदैछ ।” उनले भए, “सरकारले दिएको स्वास्थ्य निर्देशनको पालना गर्न सबैमा अनुरोध गर्दछु ।” उनले सीमानाकामा कोरोना परीक्षणको दायरा बढाउनुका साथै स्वास्थ्य सुरक्षामा सरकारले विशेष जोड दिनुपर्ने बताए । रासस