दरबारमार्गमा ५० लाखको लगानीमा जुकोट दरवार रेस्टुराँ, अहिले मार्सीको खाना, अब स्याउको अचार पनि

काठमाडौं । दरबारमार्गमा ५० लाख रुपैयाँको लगानीमा जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज सुरु भएको छ । लकडाउन सुरू हुनु अगाडी गत चैतमा यो रेस्टुराँ सञ्चालन गर्ने तयारी भएको थियो । तर, विश्वरभर फैलिएको कोरोना महामारीले योजना चौपट बनाइदियो । तैपनि आत्तिएका छैन युवा व्यवसायी अमृत शाही ठकुरी । त्रिचन्द्र कलेज, घण्टाघरबाट दरबारमार्ग जाने क्रममा महेन्द्रको शालिक नपुग्दै दायाँतिर भेटिन्छ, जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज । सञ्चालनमा आएको भर्खर एक महिना मात्र भयो । यो छोटो अवधिमा पाएको रेस्पोन्सले सञ्चालक ठकुरी उत्साहित छन् । कोरोना महामारीपछि धमाधम व्यवसाय बन्द भए । कतिले नयाँ व्यवसाय गर्ने आँट गरेनन् । तर, उनले जोखिम उठाए । ‘चैतको पहिलो सातातिर भवन भाडामा लिएर चलाउन तयारी भइरहेको थियो ।’ ठकुरीले भने ‘बिचैमा लकडाउनले गर्दा धेरै समय काम अगाडी बढेन । ७ महिना भाडा मात्र तिर्न पर्‍यो ।’ चिटिक्क परेका सल्लाका कुर्सी र टेबल । सेतो रंगले पोतिएका भित्ताहरु आकर्षक देखिन्छन् । जुकोट दरबार छिर्ने बित्तिकै यहाँको माहोलले लोभ्याउँछ । इन्टेरियर डिजाइन गर्न २० लाख रुपैयाँ खर्चिएको ठकुरीले बताए । विहान ८ बजे नै खुल्ने यो रेस्टुराँमा राती ३ बजेसम्म चहलपहल भईरहन्छ । अन्य रेस्टुराँमा राती प्राय: १० बजे नै किचेन बन्द हुन्छ । तर, यहाँ भने तीन बजेसम्म आफ्नो रोजाइका परिकार निर्धक्क अर्डर गर्न सकिन्छ । लोकेसन र पार्किङ सुविधा भएकाले धेरैले आफ्नो रेस्टुराँ रोजाईमा परेको सञ्चालक ठकुरी बताउँछन् । यस रेस्टुराँमा एकै पटकमा ६० जना मानिस बस्न सक्ने क्षमता छ । बाहिर आफ्नै पार्किङको सुविधा छ । सुरुवातमा यो रेस्टुराँमा ९ जना स्टाफ कार्यरत छन् । सिफ्ट अनुसार काम भईरहेको छ । अझै स्टाफको संख्या बढाउने तयारी भईरहेको सञ्चालक शाहीले बताए । बिभिन्न बैंक, ट्राभल एण्ड टुर र विभिन्न कम्पनीका स्टाफहरू यहाँका नियमित ग्राहक हुन् । कलाकार चक्र बम, टंक तिमिल्सिना र सुनिल गिरी पनि यहाँका नियमित ग्राहकमध्ये पर्छन् । जुकोट दरबारले सपिङ सेन्टर, कलेजहरुमा खानेकुरा नियमित डेलिभरी गर्दै आएको छ । तपाई पठाओ एप चलाउनुहुन्छ भने त्यसबाटै पनि सिधै क्लीक गरेर खानेकुरा अर्डर गर्न सकिने व्यवस्था मिलाइएको छ । जुकोट दरबारका विशेषताहरू यस रेस्टुराँमा सबैभन्दा अर्डर हुने आइटम हो, मार्सी खाना । बाजुराको कालो सिमीको दालसँग यो आइटम दैनिक २ दर्जन भन्दा बढी अर्डर हुन्छ । यस बाहेक झानेको मम, बँदेलको तास, बँदेलको टिमुर, बँदेल तारेको आइटम यहाँका स्पेशल परिकार हुन् । इटालियन र मेक्सिकन परिकार पनि उपलब्ध छन् । एक पटक आएका ग्राहकहरू फर्केर आउने गरेको सञ्चालक अमृत शाही बताउँछन् । मार्सी भातको आइटम दैनिक २५ भन्दा बढी अर्डर हुने गरेको उनी बताउँछन् । यसको मूल्य ७ सय रुपैयाँ राखिएको छ । दुबई र चेक रिपब्लिकमा काम गरेका अनुभवी सेफ भुपेन्द्र खड्काको मातहतमा २ जना कुक छन् । हरेक हप्ता सेफ खड्काले स्टाफलाई फुड् र हस्पिटालिटीका बारेमा प्रशिक्षण दिने गरेका छन् । विशेष कार्यक्रम र पार्टीहरु भएका बेला दैनिक कारोबार अहिले १ लाख रुपैयाँभन्दा माथि हुने गरेको उनी बताउछन् । अन्य बेला पनि ८० हजार रुपैयाँभन्दा माथि नै छ । राम्रो सर्भिस र परिकारमा फरक स्वाद भयो भने ग्राहक तान्न गार्‍हो नहुने सञ्चालक ठकुरी बताउँछन् । खानाका परिकार स्थानीय स्वाद पस्किने र स्थानीय उत्पादनहरुलाई बढि नै प्राथमिकता दिने उनको लक्ष्य छ । यस्तो बन्दैछ जुकोट दरबारको मेनु बाजुराको जुकोटमा ३० रोपनीमा जग्गामा स्याउ बगान छ । उत्पादन भए जति स्याउले बजार पाईरहेको छैन । आउने सिजनदेखि नै स्याउका विविध परिकारहरु यहाँ राखिने सञ्चालक अमृतले बताए । अब स्याउको अचार, स्याउको सुकुटी र फ्रेश प्याकिङ स्याउ उपलब्ध गराउने तयारीमा छन् उनी । यस्तो छ भावी योजना आगामी दिनमा खानेकुरा सम्बन्धि प्रतियोगिता गर्ने लक्ष्य रहेको सञ्चालक ठकुरी बताउँछन् । होली, शिवरात्री जस्ता विशेष अवसरमा ब्यान्ड बोलाएर कार्यक्रम गर्ने तयारी भईरहेको सञ्चालक ठकुरी बताउँछन् । उनका अनुसार कुमारी बैंकसँग क्रेडिट कार्ड, क्यूआर कोड, स्वीप मेशिन र सबै कारोबारका लागि पनि सहकार्य भईरहेको छ । रेस्टुराँ सञ्चालनमा कृषि विकास कार्यालयमा कार्यरत पहल बहादुर, दाइ सरोज बहादुर शाही र जापान बस्ने कान्छा भाइ सविन शाहीको प्रत्यक्ष सहयोग रहेको छ । हालसम्म कसैबाट ऋण नलिएको उनले बताए । पछिल्लो समय धेरै रेस्टुराँ खुलेकाले केही चुनौति बढेको छ । तैपनि यो भीडमा फरक स्वाद पस्किएर ग्राहकको मन जित्ने ठकुरीले बताए ।

दुर्गमका कर्मचारी भन्छन्- बाटैमा मरिन्छ कि भन्दै सेवा गर्नुपर्छ

जाजरकोट । फागुन महिना शुरु हुँदै गर्दा सबैलाई तातो मौसमको शुरुआत भएको अनुभूति हुने गर्छ । निम्न तथा गरिब परिवारका स्थानीयवासीको घरमा एकखालको खुशी नै आउने गर्दछ । चिसो मौसम सबैका लागि उस्तै खालको भए पनि हुनेखाने र आर्थिकरूपमा पछि परेकाहरूको जीवनशैलीमा भने फरक पर्दै आएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम दुवै खास थाहा नहुने गरेको छ । छ महिनाभन्दा बढी समय हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जानसमेत प्राकृतिक नाकाबन्दी हुने ठाउँमा चिसो र तातो मौसम कस्तो हुन्छ भन्ने अनुभूति गर्न खासै नपाउने गरेको शे-फोक्सुण्डो गाउँपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए । चिसो मौसममा ज्यान जोगाउन सदरमुकाम दुनैलगायतका ठाउँमा आफ्नो थातथलो छाडेर अधिकांश मानिस आउने गर्छन् । जब तातो मौसम शुरु हुन्छ (हिउँ पग्लिन्छ), अनि सर्वसाधारण आफ्नो थातथलोमा फर्किने गरेको अधिकृत न्यौपानेको भनाइ छ । केही स्थानीयवासी सोही हिमपात र प्राकृतिक नाकाबन्दीको बीचमै थातथलो नछाड्ने भएकाले सरकारी सेवा पुर्याउनका लागि भए पनि दुई दिन पैदल र दुई दिन हिँडेर कार्यक्षेत्रमा जानुपर्ने बाध्यता रहेको न्यौपानेले पीडा सुनाए । “जनताको काम हो, जान्न भन्न कहाँ पाइयो र ?”, उनले भने । उपल्लो डोल्पाका अधिकांश सरकारीले कार्यालयका कर्मचारी उपल्लो डोल्पामा विकास निर्माणका काम गर्न निकै मुस्किल भएको बताउँदै आएका छन् । जानु मात्र ठूलो कुरा नभएको बताउँदै उनीहरू खाना, आवासको व्यवस्थापन अर्को चुनौती भएको पीडा सुनाउँछन् । कर्णालीका हुम्ला र मुगुमा समेत यही समस्या हुँदै आएको छ । बिरामी हुँदा उपचार गर्ने स्वास्थ्य संस्थासमेत नहुँदा ज्यान अचानोमा राखेर सेवा प्रवाह गरिरहेको जस्तो अनुभूति हुने कर्मचारी बताउँछन् । अक्सिजन अभावका साथै आवश्यक बन्दोबस्तीका सामग्री लैजानसमेत मुस्किल हुँदा सेवा प्रवाह निकै खर्चिलो हुँदै आएको छ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको र भाषासमेत नबुझ्दा काम गर्न मुस्किल हुने कर्मचारी बताउँछन् । सदरमुकाम दुनैमा एक हजार ९०० रुपैयाँमा पाइने एक बोरा (२५ केजी) चामल उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका प्रशासकीय केन्द्र सालदाङमा रु पाँच हजार मूल्य पर्दछ । गाउँपालिकाको केन्द्रमा बत्ती नहुँदा काम गर्न मुस्किल हुँदै आएको कर्मचारी बताउँछन् । फोन, इन्टरनेट त धेरै ठूलो कुरा भएको अधिकृत न्यौपानेले बताए । मौसम छिनछिनमै परिवर्तन हुँदा कतिखेर के हुन्छ थाहा नहुने उनले जानकारी दिए । एक वडाबाट अर्को वडामा जानका लागि मात्र दुई दिन बढी लाग्ने भएकाले सेवा दिनसमेत मुस्किल मात्र होइन, कहाँ के भइरहेको छ भन्ने सूचनासमेत सजिलै दिन र लिन सक्ने अवस्था नरहेको उनको भनाइ छ । सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जाँदा घरका आफन्तसँग फोनमा ‘म प्रशासकीय केन्द्रतर्फ जाँदैछु’ भनेर खबर गर्दैगर्दा मनमनै अबको चार दिनसम्म के हुने हो भन्ने चिन्ताले मुटु ढुकढुक हुने गरेको पीडा न्यौपाने सुनाउछन् । बाटोमा फोनले काम नगर्ने भएकाले बीचबाटोमै बिरामी भएमा उपचार नै नपाएर धेरैको अकालमै ज्यान गएको तीतो यथार्थ सम्झँदै उनले पीडा सुनाए । बाटोमा बस्ने बासदेखि उपचार गर्ने स्वास्थ्य संस्था नहुँदा भगवान् भरोसामा यात्रा गर्नुपर्ने पर्ने पीडा यहाँका कर्मचारीदेखि सर्वसाधारणसम्मलाई हुँदै आएको छ । शे-फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र पुगेपछि मात्र टेलिफोनको पहुँचमा पुग्ने अवस्था रहन्छ । न्यौपानेले भने- “त्यो पनि एकपटक १५ जनाभन्दा बढीले फोन गर्न नमिल्ने अवस्था छ । एक दिनमा खाना खाएको मात्र ९०० रुपैयाँ खर्च हुन्छ, नास्ता खाँदा त झन् धेरै हिसाब आउने गरेको छ ।” कात्तिकदेखि हिमपात शुरु हुन्छ भने फागुनको अन्तिममा हिमपात बन्द हुन्छ । विकास निर्माणको काम गर्दा सिमेन्ट, बालुवा ढुङ्गासमेत चौँरीमा बोकाएर लिँदा भारी खर्च हुने गरेको छ । सामानको मूल्यभन्दा ढुवानी भाडा बढी खर्च हुँदा हैरान हुने गरेको छ । भौतिक पूर्वाधारको काम गर्नका लागि आवश्यक पर्ने काठ निकुञ्जको अनुमति भएपछि मात्र पाइन्छ । त्यस्तै कम पीडा छैन डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्ज्ञानीलाई पनि । सुविधासम्पन्न ठाउँमा बसेको आफूलाई दुर्गमको पनि अनुभव र सेवा लिनका लागि आफैँ रोजेर डोल्पा आएको बताउने पङ्ज्ञानी विकासमा राज्यको स्रोतसाधन समानुपातिकरूपमा वितरण नहुँदा पिछडिएका जिल्ला विकासको मूल प्रवाहमा आउन समय लागेको बताउँछन् । फोन गर्नसमेत निश्चित ठाउँ तथा अग्ला डाँडामा जानुपर्ने त्यो पनि पालो पर्खनुपर्ने पीडाको बीचबाट उपल्लो डोल्पाका सर्वसाधारणले हैरानी खेपेको यथार्थ उनले बताए । सर्वसाधारण बिरामी हुँदा हेलिकोप्टरमा उद्धारबाहेक अन्य उपाय नभएको गौतमको भनाइ छ । हुनेखाने मानिस हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गर्छन् तर गरिबहरू भने मृत्यु कुरेर बस्नुपर्ने बाध्यता छ । डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयवासी शुद्ध पानी पिउनसमेत समय हेरेर पानी जम्मा गर्नुपर्ने पीडामा छन् । “ताक्सी, धोलगायतका ठाउँमा धमिलो पानी सफा हुन समय लाग्ने भएकाले समय हेरेर पानी जम्मा गर्नुपर्ने हुन्छ”, पङ्ज्ञानीले स्थानीयवासीको खास समस्या बताए । उनले भने, “विकास गर्न मुस्किल छ, राज्यको स्रोत परिचालन समानुपातिक मात्र होइन, भूगोलअनुसार हुनुपर्छ, कर्मचारीलाई दिने भत्तासमेत सदरमुकाम दुनै र उपल्लो डोल्पामा एउटै भएर कहाँ हुन्छ ? विकासका लागि बजेट पुग्दैन, जनता बजेट थप माग्न आउँछन्, स्थानीय तहमा स्रोत छैन, कसरी दिनु ?” उनले भने । साना-साना गाउँ, छरिएर रहेका बस्तीका कारण विकास गर्न मुस्किल भएको जनप्रतिनिधि बताउँछन् । रासस

‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्छन्, ‘नेपाली खाना विश्वभर पस्किँदैछु’

काठमाडौं । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पुर्याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए । पाककलाका बादसाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो, उनको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा । हो, आज उनी विश्वको नजरमा पर्न सफल भए, उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेले । “नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहनत चाहिन्छ । विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छ”, बेलायतको चर्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक आज नेपाल आएका सेफ साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भने । खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाए । बेलायतमा छिट्टै रेष्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेष्टुरेन्ट खोल्ने योजना बनाएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताए । “मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म ‘प्लाष्टिकको झोला बेच्दथेँ र पाउरोटी बेच्थेँ त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।”, उनले भने । अहिले जतिपनि सेफहरू छन्, उनीहरूले नेपाली खाना जन्मेदेखि बनाएको र आफूले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरूबाट धेरै सिक्नका लागि नेपाल आएको सुनाए । “नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हुँदैन । खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ”, उनले अगाडि भने, “हाम्रो ‘फुड इन हाइजिन’ छैन”, चिसो खाना नखानू र बोतलबिनाको पानी नपिउनू भन्ने हाम्रो सन्देश हो । चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ । मेरा जति साथी छन् तीनलाई तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ । विदेशीका लागि यो गुणस्तर कायम गर्नेपर्छ ।” एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन । देशभित्र भान्से र खानाका लागि मान्यतै छैन । यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागी सङ्घर्षको यात्रा शुरु गरिएको साहले बताए । उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानको लागि केही गरौं भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए । “अब नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ ।” अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने साहको भनाइ छ । साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै छन् । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए । भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ । खाना सबैले बनाउँछन् गुणस्तरीय खानामा ध्यान दिनुपर्छ । सरसफाइ र स्वच्छतालाई अभियानकै रुपमा नेपाल अघि बढे सफलतामा पुग्न भन्ने उनको वाणी छ । नेपालमा के गर्दै छन् साह ? प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आएका साह करिब एक महिना नेपालमा रहनेछन् । उन पाटाको ४४औँ वार्षिक साधारणसभाको प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । उनी नेपाल पर्यटन बोर्डलगायत संस्थाले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् । साह पाँच दिन होटल क्वारेन्टिन बसाइपछि पर्यटकीय गतिविधिमा सक्रिय हुनेछन् । काठमाडौं पार्क भिलेज र टर्किज एयरवेजको सहकार्यमा पाटा नेपालको अग्रसरतामा साह नेपाल आएका हुन् । नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधामध्ये पाकवान महत्वपूर्ण पाटो बन्न सक्ने भन्ने सन्देश दिनु पनि उनको नेपाल आगमनको उपलब्धी भएको पाटाका कोषाध्यक्ष खेम लकाईँले बताए । नेपालका चर्चित सेफ गोविन्दनरसिंह केसीले नेपालको ४० वर्षे सेफ इतिहासमा नेपाल र नेपालको परिकारलाई विश्वभर चिनाउन सफल भएकामा खुशी व्यक्त गरे । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले सेफ साहको नेपाल आगमनले कोभिडबाट थलिएको मुलुकको पर्यटनलाई प्रवद्र्धनका साथै नेपाल गन्तव्यलाई खानाको माध्यमबाट विश्वभर पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसरी कहलिए विश्वभर बेलायतको चर्चित प्रसारण सेवा बिबिसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स २०२०’ मा साह उपविजेता बनेका थिए । संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफले भाग लिएको उक्त प्रतिस्पर्धाको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा साह पनि थिए । ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका साह दोस्रो बने । उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशांसा बटुलेका थिए । साहको यो सफलतालाई संसारभरका सञ्चारमाध्यमले स्थान दिए । नेपालको पहिचानलाई विश्वभर फैलाउन र पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सहयोग पुगेको छ । अन्तिम प्रतिस्पर्धामा सेफ साहले हड्डीवाला भैँसीको मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएका थिए । खानासँगै उहाँले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए । बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उहाँलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशवदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन् । नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवद्र्धनमा निरन्तर जुटिरहने जानकारी दिए । विमानस्थलमा भव्य स्वागत ‘मास्टर सेफ युके’मा उपविजेता ‘फस्ट रनरअप’ भएका साह आज नेपाल आएका छन् । मध्याह्न काठमाडौं ओर्लिएका साहलाई विमानस्थलमा भव्य स्वागत गरियो । नेपालका सेफ तथा पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । नेपालमा लामो समयदेखि काम गरेका ‘लेजेन्ड’ सेफ तथा युवा सेफको उपस्थितिले माहोल निकै भावुक बनेको थियो । को हुन् उनी ? नेपालको सिरहाको करजन्हामा जन्मिनु भएका साह हाल बेलायतमा बस्छन् । सात दाजुभाइ दिदीबहिनीमध्ये उनी सबैभन्दा कान्छो सदस्य हुन् । सानै उमेरमा बुबाको साथ गुमाउनु भएका साहले १० वर्षका उमेरदेखि काम गर्न थाले । स्थानीय बजारमा प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ । नेपालमा कक्षा १० सम्म पढेका साहले एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात पुगे । उनले अहमदावादको एक रेस्टुरेन्टमा भाडा माँझ्ने काम शुरु गरे । एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव उनले सम्हाले । कामकै सिलसिलामा पकाउन सिक्नुभयो अनि अङ्ग्रेजी भाषाको ज्ञान पनि लिए । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उनी एक पाँचतारे होटलको सेफ बने । सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गरे । महोत्सवले साहबारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीको सहयोगले सन्तोषलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । उहाँ सन् २०१० मा बेलायत जाने र एक रेस्टुरेन्टमा काम गरे । बेलायतकै ललित होटल र बनारसमा समेत काम गरे । रासस